भेरी पम्पिङ आयोजना बजेट परेको पर्यै, मिति सरेको सर्यै

सिर्जना बुढाथोकी

सुर्खेत,११ फागुन ।

सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरु हुन लागेको भेरी पम्पिङ आयोजनाको टेण्डर हुन अझै करिब सात महिना लाग्ने भएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएपनि आयोजनाको टेण्डर मिति भने करिब डेढ वर्षदेखि सरेको सर्यै छ ।

गत माघसम्म टेण्डर भइसक्ने भनिएपनि इन्टेकको डिजाईन रिभ्यू (पुनरावलोकन) गर्नुपर्ने भएपछि फेरि टेण्डर मिति सरेको हो । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका इञ्जिनियर बालाराम तिवारीले डिजाईन रिभ्यू गरेर विभिन्न निकायबाट स्वीकृत गराउन समय लाग्ने भएकाले आगामी भदौसम्म टेण्डर गरिने जानकारी दिए ।

उनका अनुसार फरक–फरक परामर्शदाताहरुसँग छलफल गर्दाखेरी इन्टेकको डिपीआर रिभ्यू गर्नुपर्ने निष्कर्ष निस्किएपछि टेण्डर मिति फेरि धकेलिएको हो । प्रदेश राजधानी वीरेन्द्रनगरको आगामी ३० वर्षसम्म बढ्नसक्ने जनसंख्यालाई मध्यनजर गरी निर्माण गर्ने भनिएको भेरी पम्पिङ खानेपानी आयोजनाको बारम्बार ‘डिजाइन रिभ्यु’ हुँदै आएको छ ।

यसअघि गत दशैंअघि नै टेण्डर गर्ने तयारी भएपनि जग्गा प्राप्ति, वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन बाँकी नै रहेको कारण देखाउँदै टेण्डरको मिति सारिएको थियो ।

करिब ४ वर्षअघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न निकायले अध्ययन र सर्भे गरेपनि पूर्वाधारको काम भने अघि बढ्न सकेको छैन ।

दुई चरणमा गरी ६ अर्ब लागतमा सम्पन्न हुने यो आयोजना ठूलै आयोजना भएका कारण कुनै डिजाइन बीचमै फेल भए ठूलो नोक्सानी बेहोर्नुपर्ने भएको बरु समय लिएर पर्याप्त रिभ्यु गर्न सकिए प्राविधिक त्रुटी नआउने संलग्न प्राविधिकहरु बताउँछन्।

बजेट पर्दै, फ्रिज हुँदै

भेरी पम्पिङ आयोजनाका लागि यसअघि संघीय सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा २ करोड र आव २०७६÷०७७ मा पनि ६ करोड बजेट छुट्यायो । तर काम हुन नसक्दा बजेट फ्रिज भयो ।

प्रदेश सरकारले पनि आ.व २०७६÷०७७ मा यहि आयोजनाका लागि ५० करोड रुपैयाँ छुट्याएको थियो । तर काम हुन नसक्दा उक्त बजेट पनि फ्रिज भयो । आ.व २०७७÷०७८ मा पनि कर्णाली सरकारले ५ करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट पनि काम हुन सकेन् ।

प्रदेश सरकारले गत आ.व २०७८÷०७९ मा पनि ५ करोड बजेट छुट्यायो । तर बजेट खर्च हुन सकेन । चालू आ.वमा पनि प्रदेश सरकारले पाँच करोड रुपैयाँ छुट्याएको छ भने वीरेन्द्रनगर नगरपालिकाले पहुँच मार्ग निर्माणलगायत आवश्यक पूर्वाधारका कार्यका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । आयोजना कार्यान्वयनका सम्बन्धमा गत वर्ष फागुनमै तीन वटै तहका सरकारका प्रतिनिधिबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको थियो ।

सुर्खेत उपत्यका खानेपानी संस्थाका ईन्जिनियर तिवारीका अनुसार वीरेन्द्रनगरको हालको जनसंख्याका लागि प्रतिसेकेण्ड ३ सय २० लिटर पानी आवश्यक पर्छ । तर हाल आपूर्ति भने १ सय ५३ लिटर प्रतिसेकेण्ड भइरहेको छ । ‘अब दिन प्रतिदिन पानी घट्दै जान्छ,’ उनले भने, ‘खानेपानीको अभाव हुन नदिन विभिन्न स्थानमा काम पनि भइरहेको छ ।’
यहि पानीको आपूर्ति पनि खडेरीको समयमा ५० प्रतिशत घट्ने गरेको छ । अहिले झुप्राखोला, खरी खोला, खोर्के खोला, इत्राम खोला र बुलबुलेबाट संस्थाले पानी वितरण गरिरहेको छ ।

खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आव २०७९÷०८० देखि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ सञ्चालन गर्दैछ ।

उक्त आयोजनाअन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याउन लागिएको हो । आयोजनाका लागि सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले २० प्रतिशत रकम जुटाउनुपर्नेछ ।

भेरी पम्पिङको प्रारम्भिक लागत अनुमान ५ अर्ब ६३ करोड रुपैयाँ रहेको सुर्खेत उपत्यका खानेपानी संस्थाले जनाएको छ । ‘यो एक डेढ वर्ष अगाडि तयार गरिएको हो,’ इन्जिनियर तिवारीले भने, ‘तर पछि केही फेरबदल पनि हुन सक्छ ।’

पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृत डाँडामा रिजर्भ ट्यांकी स्थापना गर्ने, अमृतडाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गरिने तथा फोर लेन सडकको दुबैतर्फ पनि प्रसारणलाइन विस्तार हुने उनको भनाइ छ । दोस्रो चरणमा वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ ।

दोस्रो चरणका लागि कम्तीमा पनि तीन अर्ब लाग्ने प्रारम्भिक अध्ययन छ । भेरीको पानी ३÷४ सय मिटर माथि प्रशोधन गर्ने ट्यांकी (ट्रिटमेन्ट प्लान) मा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म करिब ७ किलोमिटर लामो पाइप बिछ्याइनेछ । ५ सय ५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखिनेछ भने त्यसलाई मुख्य ट्यांकीसम्म जडान गरिनेछ । उक्त डाँडामा बनाइने ट्यांकी १२ हजार घनमिटरको हुनेछ ।

नगर गौरवको आयोजना

सङ्घीयता कार्यान्वयनमा आएपछि खानेपानीको क्षेत्रमा स्थानीय तहले पाएको यो ठूलो लगानीको आयोजनामा पर्दछ । यो आयोजना पहिलोपटक सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा सञ्चालन हुँदैछ । वीरेन्द्रनगरमा अत्यधिक बढ्दो जनघनत्वका कारण यहाँ खानेपानी मुख्य समस्याका रुपमा लामो समयदेखि रहँदै आएको छ ।

खानेपानी आपूर्ति व्यवस्थापन गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ । गर्मीयाममा ९६ घण्टामा एक दिन पानी वितरण हुने गर्दछ । संस्थाले हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ । अझैं यहाँ १८ हजार बढी खानेपानी धारा अपुग छन् ।

संस्थाले झुप्रा खोला, खरी खोला, खोर्के खोला, इत्राम खोलाबाट खानेपानी वितरण गरिरहेको छ । तीस वर्षपछि वृद्धि हुने जनसङ्ख्यालाई खानेपानीको हालको संरचना र क्षमताले धान्न नसक्ने हुँदा दीगो आयोजनाका लागि विभिन्न अध्ययन अघि बढाइएको थियो । तीमध्ये भेरीबाट पानी ल्याउने विकल्पलाई छनोट गरिएको हो ।

तपाईको प्रतिक्रिया