जुम्लादेखि जापानसम्मः जुम्ली सिमी

उत्तम काप्री

जुम्ला,११ फागुन ।

दालमा मिसाएर लतक्क हुने सिमी त जुम्लाकै मीठो दालै खाने जुम्ली सिमी त झन गजव स्वादिलो । स्वाद पाएका सबैका लागि प्रिय बनिरहेको जुम्ली सिमी शहरी भान्सासम्म ग्राहक तान्ने मेसो बनिरहेको छ।  स्याउदेखि मार्सी चामल, कोदोको पिठो, आलु, कागुनो, मह हुँदै ओखर र सिमीसम्म शहर शहरमा चर्चामा आइपुगेका जुम्ली उत्पादन खाद्यान्न पसलदेखि अनलाइन किनमेलमा समेत रोजाइँमा देखिन्छ ।

त्यसमा नाम जति प्रचलित हुँदैछ उति त्यसका ‘रैथाने ब्राण्डमा नक्कली बिक्री बढीरहेको छ। नामले चल्ने उत्पादनमा तोडमोड हावी भइदिँदा साच्चै जुम्लादेखि ल्याइएका सामानमा पनि अविश्वास बढ्न थालेको छ।

शहरी बिक्रीमा ‘अर्गानिकको पगरी गुथाएर जुम्लाको भनिने सबै सिमी जुम्लाकै हुन् त? सुर्खेतदेखि काठमाण्डौंसम्मका चोक चोकमा रहेका अधिकांश अर्गानिक भनिने पसलमा पाइने जत्ति सबै सिमी जुम्लामै उत्पादनमा भएको जुम्ली सिमी हो त ?

यसरी शहर बजारमा हिजो आज छ्याप्छ्याप्ति पाइने जुम्ली सिमी भनिएको सिमी जुुम्लामै उत्पादन भएको हो त ? शहर बजारमा खुलेका अधिकांश खाना खुवाउने रेष्टुराँदेखि ठूला होटलसम्म जुम्लाको सिमीको दाल भनेर बेचिन्छ। के ती सबै रैथाने सिमी नै हो त?

जुम्लामा अहिले उत्पादन भइरहेको सिमीको तथ्यांकलाई हेर्दा जुम्ली सिमी सुर्खेत, नेपालगञ्ज, पोखरा र काठमाडौंसम्म छ्यापछ्याप्ती हुन पुग्ने गरी उत्पादन भएको छैन् । कृषि विकास कार्यालय जुम्लाले जुम्लाकै सिमी यति ठूलो बजारमा खोजेजति पाउने गरी उत्पादन नभएको बताउँछन् । बजारमा जे जति ठाँउमा जुम्लाको सिमी बनेर बिक्री भइरहेको छ ती सबै मूलरुपमा जुम्लाकै उत्पादन नहुन सक्ने स्थानीवासी सुनाउँछन् ।

जुम्लामा करिव २२ सय हेक्टर क्षेत्रफलमा सिमी खेती हुने गरेको कृषि कार्यालयले बताएको छ । कार्यालयका अनुसार विगतका वर्षहरुमा भन्दा खेती हुने जमिन वर्षेनी घट्दैपनि गइरहेको छ । अहिले जुम्लामा वार्षिक ४ हजारदेखि ४५ सय मेट्रिक टन सिमी उत्पादन भइरहेको छ। यसरी उत्पादन भएको सिमीमध्ये ५० प्रतिशत जिल्लामै खपत हुने र बाँकी ५० प्रतिशत सिमी जुम्लाबाट बाहिर पठाइने कृषि कार्यालयले जनाएको छ ।

जुम्लामा उत्पादन हुने सिमीको बजार सुर्खेत, नेपालगञ्ज र त्यसपछिको ठूलो बजार काठमाडौं उपत्यका हो। त्यसमध्ये केही सिमी जापान र क्यानडासम्म पनि पुग्छ। ‘कर्णाली सुपरफुडको लोगोमा विदेश पुग्ने सिमीको माग बढिरहेकै छ ।

यहि मागले होला हिजोआज जुम्लामा किसानको घरसम्मै पनि व्यापारीहरू सिमी किन्न पुग्न थालेका छन्। जुम्ली सिमीको माग बढिरहँदा रैथाने उत्पादनका नाममा बाहिरको उत्पादन मिसाउने प्रवृत्ति बढिरहेको किसानहरु बताउँछन् । अहिले जुम्लाको सिमी काठमाडौंमा प्रतिकेजी दुई सयदेखि तीन सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । जुम्लामै प्रतिकिलो १ सय ६० रुपैयाँदेखि २ सय रुपैयाँमा सिमी बिक्री हुन्छ।

जुम्लाको अधिकांश क्षेत्रमा सिमी खेती हुन्छ। बैशाखमा रोपेको सिमी असारमा उत्पादन हुन्छ। साउनमा रोपेको सिमी असोजमा उत्पादन हुन्छ। जुम्लामा एक दर्जन रैथाने जातका सिमी उत्पादन हुन्छ। ती सिमी कतिपय तरकारी र दाल दुवै रुपमा त कतिपय दालका रुपमा प्रयोग हुन्छन्।

स्थानीय बाली परियोजना र नेपाल बीउ परियोजनाको सहयोगमा ली बर्ड, जीन बैंक÷नार्क र बायोभर्सिटी इन्टरनेशनले जुम्लाको सिमीबारे अनुसन्धान नै गरेको छ। जसले कसरी जुम्ली सिमी बाहिरका उत्पादनभन्दा फरक छ भन्ने देखाएको छ। जुम्ली सिमीको नाममा बजारमा आइरहेका सबै सिमी जुम्ली स्वादअनुकुल छैनन्। कतिपय त जुम्ली सिमीको दालमा तराईमा हुने राजमा मिसाएर बिक्री भइरहेको जानकार बताउँछन्।

जुम्लामा रातो लामोसिमी, कालो लामो सिमी, राते किरबिरे÷माले सिमी, कलेजी सिमी, पहेँलो बेसारी सिमी, सेतो किरबिरे सिमी, कालो मसिनो÷सानो सिमी, खैरो सिमी, खैरो छिर्के सिमी, रातो सानो छिर्के सिमी र रातो सानो सिमी उत्पादन हुन्छ।

कस्तो हुन्छ त जुम्लाको सिमी?
रातो लामो सिमी
पाइने स्थान – हाँकु, पर्थेनी, गिडीखोला, गौतमबडा, नियाँपानी
पहिचान – रातो फूल फुल्ने र राता लाम्चिला दाना हुने।
सरदर उत्पादन – ५३ किलो प्रति रोपनी
विशेषता – हरिया कोसा तरकारीको रुपमा र सुकेका दाना दालको रुपमा प्रयोग हुने। दाल नरम र लतक्क भएर पाक्ने।
कालो लामो सिमी
पाइने स्थान – हाँकु, पर्थेनी, गिडीखोला, गौतमबडा, नियाँपानी
पहिचान – होचो झाडीजस्तो बोट हुने, बैजनी रङको फूल फुल्ने र काला लाम्चिला दाना हुने।
सरदर उत्पादन – ५० किलो प्रति रोपनी
विशेषता – लोपोन्मुख अवस्थामा पुगेको। भिरालो जमिनका लगाइने। हरियो कोशा तरकारीको रुपमा र सुकेपछि दालको रुपमा प्रयोग हुने। नरम लतक्क भएर दाल पाक्ने।

रातो किरबिरे÷माले

पाइने मुख्य स्थानहरू – हाँकु, पर्थेनी, गिडीखोला, गौतमबडा र नियाँपानी
पहिचान – रातोमा सेतो थोप्ला भएका लाम्चिला दाना
सरदर उत्पादन – एक सय किलो प्रति रोपनी
विशेषता – प्रोटिन बढी पाइने। दालको रुपमा प्रयोग हुने। नरम र स्वादिलो हुने। सुक्खा सहन सक्ने र बोटमा कोत्रे रोगले कम असर गर्ने।

कालो किरबिरे÷माले

पाइने मुख्य स्थानहरू – हाँकु, पर्थेनी, गिडीखोला, गौतमबडा र नियाँपानी
पहिचान – कालोमा सेतो थोप्ला भएका लाम्चिला दाना हुने र झाँगिने खालको बोट
सरदर उत्पादन – ५० किलो प्रति रोपनी
विशेषता – कालो रङको दाना हुने पकाउँदा नरम। दालको रुपमा प्रयोग गरिने। सीमान्तकृत जमिनमा लगाइने।

कलेजी सिमीपाइने मुख्य स्थान – हाँकु

पहिचान – बैजनी रङको फूल फुल्ने र गाढा रातो दाना हुने
सरदर उत्पादन – ५५ किलो प्रति रोपनी
विशेषता – रातो रङको साना दाना हुने। दालको रुपमा प्रयोग गरिने। कोसा लाग्दा रोगले कम असर गर्ने।
कालो मसिनो÷सानो सिमी
पाइने मुख्य स्थान – गौतमबडा
पहिचान – बैजनी फूल फुल्ने, चम्किलो कालो सानो दाना हुने
सरदर उत्पादन – ४५ किलो प्रति रोपनि
विशेषता – कोत्रे रोगले असर नगर्ने। कालो दाना हुने। दालको रुपमा प्रयोग गरिने

खैरो सिमी

पाइने मुख्य स्थानहरू – गिडीखोला र नियाँपानी
पहिचान – कोसामा गाढा रातो थोप्ला हुने, बैजनी फूल फुल्ने र हल्का निलो खैरो दाना हुन
सरदर उत्पादन – ५० किलो प्रतिरोपनी
विशेषता – हरियो कोसा तरकारीको रुपमा र सुकेको दाना दालको रुपमा प्रयोग गरिने।

पहेंलो बेसारे सिमी
पाइने मुख्य स्थान – नियाँपानी
पहिचान – होचो झाँगजस्तो बोट हुने र पहेँला लाम्चिला दाना हुने
सरदर उत्पादन – ५० किलो प्रतिरोपनी
विशेषता – आकर्षक रङका दाना र स्वाद। हरियो कोसा तरकारीका रुपमा र सुकेका दाना दालको रुपमा प्रयोग गरिने।

सेतो किरबिरे÷माले सिमी
पाइने मुख्य स्थान – हाँकु पहिचान – कालो थोप्ला भएको कोसा लाग्ने र काला धर्सा भएका घिउ रङका दाना हुने
सरदर उत्पादन – ५५ किलो प्रतिरोपनी
विशेषता – दालको रुपमा प्रयोग गरिने। नरम भएर पाक्ने।
खैरो छिर्के सिमी
पाइने मुख्य स्थान – हाँकु
पहिचान – खैरोमा घिउरङ घर्सा भएको दाना
सरदर उत्पादन – ४५ किलो प्रतिरोपनी
विशेषता – तरकारी र दाल दुवैको रुपमा प्रयोग गरिने।

रातो सानो छिर्के सिमी

पाइने मुख्य स्थान – हाँकु

पहिचान – गुलाबी साना गोला दानामा हल्का सेतो धर्सा हुने।

सरदर उत्पादन – ४५ किलो प्रतिरोपनी

विशेषता – आकर्षक दाना हुने। तरकारी र दाल दुवैको रुपमा प्रयोग गर्न सकिने।

रातो सानो सिमी

पाइने मुख्य स्थान – हाँकु, पर्थेनी, गिडीखोला, गौतमबडा, नियाँपानी

पहिचान – होचो बोट, चम्किलो र गहतजस्तो रातो सानो दाना हुने

सरदर उत्पादन – ६० किलोसम्म प्रतिरोपनी

विशेषता – तरकारी तथा दालको रुपमा प्रयोग गर्न सकिने। नरम हुने। 

तपाईको प्रतिक्रिया