दैलेखको राकममा सय शय्याको अस्पताल बनाइँदै

दैलेख ,९ फागुन ।

दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ । चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो ।

सम्झौतामा राकम कर्णालीमा एक सय शय्याको शिक्षण अस्पताल निर्माण गरी नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ । कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माणको अघि बढ्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए । अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिनेछ ।

शिक्षण अस्पताल निर्माणका लागि आठबिस नगरपालिका–३ मा ४० रोपनी (२ हजार एक सय ३० वर्गमिटर) क्षेत्रफल जग्गा व्यवस्थापन भइसकेको नगरका प्रमुख तर्कबहादुर बडुवालले बताए । अस्पताल निर्माणको लागि डीपीआर बनिसकेको छ । अस्पताल निर्माण तथा सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा समिति समेत गठन भइसकेको छ ।

नगरपालिकाले राकम कर्णालीस्थित अस्पतालबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको छ । विशेषज्ञ सेवा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सक खटाएको छ । अस्पतालमा एक्सरे, भिडियो एक्सरे, इसिजी ल्याबसहित अस्पताल फार्मेसी चलाइरहेको छ । विशेषज्ञ सेवा सञ्चालनका लागि अपरेसन कक्ष र आवश्यक भौतिक सामग्री व्यवस्थापन भएको नगरप्रमुख बडुवालले बताए ।

प्रतिष्ठानले राकम कर्णालीको आधारभूत अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबिस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको हो । अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतीय प्रशारण ट्रास्फर्मर खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिल्सेनाले जानकारी दिए ।

हालै जडान भएको अक्सिजन प्लान्ट सोमबार उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, प्रतिनिधिसभा सदस्य सोविता गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललगायतको उपस्थितिमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो ।

अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए । राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार रहेको मन्त्री शाहले बताए ।

पहिलो पटक राकम पुगेकी प्रतिनिधिसभा सदस्य सोविता गौतमले अब दोस्रो पटक राकम कर्णालीमा आउँदा अस्पताल निर्माण भइसक्ने बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल जतिसक्दो छिटो निर्माण गर्ने बताए । डा. रावलले आगामी दुई वर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याइने दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया