दाहालको अडान :  एमाले बाहिरको राष्ट्रपति

काठमाडौँ,८ फागुन ।

भावी राष्ट्रपतिका लागि कोसँग समीकरण बनाउने भन्ने सुझाव र निर्णय लिन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । औपचारिकताका लागि पार्टी बैठक आव्हान गरे पनि दाहालले एमालेबाहिरबाट राष्ट्रपति बनाउने ‘बटमलाइन’ बनाइसकेको स्रोतको भनाइ छ ।

यसैका लागि उनले कांग्रेससँग आइतबारबाट निर्णायक संवाद पनि थालेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भावी राष्ट्रपति निर्वाचनमा सहकार्यको राजनीतिक मार्गचित्र कोरिएको छ । राष्ट्रपति निर्वाचनमा माओवादीको निर्णायक मत रहेकाले दाहालले एमाले र कांग्रेस दुवैलाई दबाबमा राखेर आफू अनुकूल ‘सफ्ट’ पात्रको खोजी गरिरहेका छन् ।

आइतबार राती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति देउवासहित कांग्रेस शीर्ष नेता र प्रधानमन्त्री दाहालबीच छलफल भएको थियो । भेटमा भावी राष्ट्रपतिको बिषय र आगामी सहकार्यबारे छलफल भएको थियो । त्यहाँ दाहालले कांग्रेस नेताहरुलाई समर्थन गर्न सकिने वचन दिएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै माधव नेपालको नाम अघि सारे चाहिँ आफू के गर्ने भन्ने अन्योलमा पर्ने जवाफ कांग्रेस नेताहरुलाई दिएका थिए । नाटकीय रुपमा कुनै घटनाक्रम बदलाव नआएको अवस्थामा दाहाल एमाले बाहिरको राष्ट्रपतिको अडानमा अब कायम रहने उनीनिकट नेताहरुले बताएका छन्।

गत पुस १० मा प्रधानमन्त्री हुँदा दाहालले एमालेलाई राष्ट्रपति दिने सहमति गरेका भए पनि उनी निकट एक नेताका अनुसार आफ्नो सरकारको सुरक्षा र भूराजनीतिक दबाबपछि एक कदम पछाडि हटेका हुन् । दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली पुरानै सहमति लागू हुनु पर्ने अडानमा छन् ।

दाहालले सोमबार प्रजातन्त्र दिवसको कार्यक्रममा सम्बोधन गर्दा पनि राष्ट्रिय सहमतिमै जोड दिएका छन् । ‘संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो,’ उनको सम्बोधनमा छ ।

सोमबार नै विराटनगर पुगेका एमाले अध्यक्ष ओलीले पनि राष्ट्रपतिको उम्मेदवार एमालेकै हुने र माओवादीले समर्थन गर्ने कुरा दोहो¥याएका थिए । तर दाहाल र ओलीबीचका पछिल्ला भेटवार्ताहरु परिणाममुखी बनेका छैनन् । बिहीबार र शुक्रबार ओलीसँग भेटेका दाहालले शनिबार कांग्रेस नेता विमलेन्द्र निधिसँग भेट गरेका थिए । सोमबार उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्ने तयारी गरेको बालुवाटार स्रोत बताउँछ ।

त्यसपछि दाहालले सोमबार अपराहन्न पार्टी पदाधिकारी वैठक बोलाएका छन् । उक्त बैठकमा राष्ट्रपतिको निर्वाचनमा पार्टीको ‘बटमलाइन’ बारे औपचारिक छलफल हुने भएको छ । ‘माओवादी ‘कोर्स करेक्सन’को बाटोमा छ । सोमबार पदाधिकारी बैठक बोलाईएको छ । उक्त बैठकमा राष्ट्रपतिको बिषयमा छलफल हुन्छ’ माओवादी उपमहासचिव मातृका यादवले भने ।

गत पुस २६ मा कांग्रेसको समेत विश्वासको मत पाएपछि दाहालले संवैधानिक पदहरुमा राष्ट्रिय सहमतिको प्रस्ताव ल्याएका थिए । त्यसैका आधारमा उनले एमालेमाथि दबाब बनाउँदै लगेका थिए भने कांग्रेससँग संवादको ढोका खोलेका थिए । निकट ती नेताका अनुसार विशेष रणनीतिक कारण देखाएर दाहालले एमालेबाहिर राष्ट्रपति खोज्ने मार्गचित्र ल्याएका हुन ।

एमाले अध्यक्ष ओलीसँगका भेटवार्ता औपचारिकता मात्रै भएको ती नेताको भनाई छ । ‘पदाधिकारी बैठक अघि वा पछि भएपनि एमालेसँग निर्णायक कुरा हुन्छ । तर प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ, राष्ट्रपति एमालेको हुँदैन,’ उनले भने ।

एमालेलाई राष्ट्रपति दिँदा शक्ति एउटै पार्टीमा केन्द्रित हुने र त्यो संविधान र लोकतन्त्रका लागि प्रतिकूल हुन सक्ने आफ्नो बुझाई र पाँच दलीय गठबन्धनका साझेदार दलहरुको सुझाव थियो । एमालेले सभामुख लिइसकेको छ । साढे दुई बर्षपछि एमालेलाई सरकारको पनि नेतृत्व गर्ने सहमति छ ।

राष्ट्रपति पनि एमालेको हुँदा सबै शक्ति एउटै ठाँउमा केन्द्रित हुने भए पछि दाहालले संवैधानिक पदमा राष्ट्रिय सहमतिको एजेन्डामार्फत एमालेबाहिर राष्ट्रपति बनाउन खोजेका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ एवं प्रभावकारी कार्यान्वयन गरेर नै मुलुकको लोकतान्त्रिक प्रणाली र संविधानको प्रगतिशील कार्यान्वयन सम्भव हुने दाहालले सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

वैचारिक र राजनीतिकरुपमा धेरै अन्तर भएका दलहरुसँग मिलेर बनेको अहिलेको सत्ता गठबन्धन लामो समय टिक्न नसक्ने दाहालको बुझाई छ । दाहाल निकट ती नेताका अनुसार दीर्घकालीन सहकार्य हुन नसक्ने गठबन्धनमा भर परेर एमालेलाई राष्ट्रपति दिँदा भविष्यमा आफैंलाई गाह्रो हुने आकलन गरेर पनि उनले एमालेबाहिरबाट राष्ट्रपति खोज्ने रणनीति बनाएका हुन् ।

यसबाहेक दाहालले एमालेलाई राष्ट्रपति दिन आनकानी गर्नुका पछाडि सरकार संचालनसँग पनि जोडिएको छ । ती नेताका अनुसार दाहाललाई अहिलेकै गठबन्धनको सरकारको कार्यसम्पादन पनि प्रभावकारी हुनेमा शंका छ । भविष्यमा नयाँ गठबन्धन बनाउनुपर्ने अवस्था आउन सक्ने सम्भावना हेरेर दाहालले एमालेबाहिर राष्ट्रपति खोजेको उनले बताए । दाहाल आफ्नो नेतृत्वमा सके पाँचै बर्ष नभए तीन बर्ष भन्दा धेरै सरकार चलाउन चाहन्छन् ।

ती नेताका अनुसार दाहाललाई गैरकम्युनिष्ट राष्ट्रपति बनाउन खास गरेर भारत र अमेरिकाको सुझाव छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले काठमाडौंमा राजनीति भेट गरेपछि राष्ट्रपति निर्वाचनमा भूराजनीतिक चासोले प्रवेश पाएको नेताहरुको भनाई छ । दाहाल र क्वात्राबीच एक्लाएक्लै भेटवार्ता भए पनि एजेन्डाबारे केही बताइएको छैन ।

यसबाहेक भारत र अमेरिकाका जस्ता शक्ति राष्ट्रको चासोमा ध्यान नदिए सरकार चलाउन कठिन हुने दाहालको बुझाई रहेको उनी निकट एक नेता बताउँछन् । उनका अनुसार प्रधानमन्त्री दाहाल एमालेबाहिर राष्ट्रपतिको पक्षमा उभिनुको अर्को कारण हो–शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धि विषय। राष्ट्रपति एमालेको हुँदा संसदको ठूलो दल कांग्रेस सम्पूर्णरुपमा शक्ति बाहिर हुने र उसले सहयोग नगरे संक्रमणकालीन न्याय टुंगाउन नसकिने दाहालको बुझाई रहेको ती नेताले बताए ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया