राष्ट्रपति एमालेकै हुन्छ :  योगेश भट्टराई

सुर्खेत,६ फागुन ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अब चयन हुने राष्ट्रपति एमालेबाटै बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता साझेदार दलबीच पुस १० गते भएको सहमति अनुसार नै एमालेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने बताए ।

उनले भने ,’सत्ता साझेदार दलहरुबीच जुन जगमा टेकेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नु भएको हो । अब राष्ट्रपति एमाले बन्ने पक्का हो ।’ नेकपा एमालेले देशव्यापी सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तारका लागि ‘मिसन ग्रसरुट’ अभियान लिएर भट्टराई सुर्खेत पुगेका हुन् ।

यस क्रममा उनले अहिलेको सत्ता गठबन्धन नै ५ वर्षसम्म ढुक्कले चल्ने दाबी गरेका थिए । उनले देशलाई समृद्ध बनाउने अभियानमा एमालेले १० लाख ९२ हजारभन्दा बढी संगठित सदस्यलाई परिचालन गर्न लागेको पनि बताए । उनका अनुसार यो अभियानका लागि पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई ११ वटा कार्यादेश दिएर पालिकाहरुमा खटाइएको छ ।

तपाईको प्रतिक्रिया