सिमकोट,४ फागुन ।
पसलमा बेच्न राखिएका सामान उधारोमा किनबेच भएको त सबैले देखे, सुनेकै कुरा हो तर हिमाली जिल्ला हुम्लाको यारी नाका भन्सार कार्यालयलाई भन्सार शुल्कपनि उधारो राख्नुुपर्ने बाध्यता आइलागेको छ । चीनबाट व्यापारिक प्रयोजनको सामान मगाएका व्यापारी, व्यवसायी नै हिल्सामा नभएपछि आएका सामानलाई कर्मचारीले भन्सार शुल्क पछि लिने गरी सामानको विवरण मात्र संकलन गर्दै आपूर्ति गर्न दिएका थिए ।
चिसोका कारण धेरैजसोले हिल्सा छाडेका बेला चीनले एकतर्फी नाका खुलाएर सामान नेपालतिर पठाई दिएपछि आएका सबै सामानको विवरण मात्र संकलन गरी भन्सार महसुल उधारोमा राख्नुुपरेको कर्मचारीले बताएका छन् ।
कार्यालय प्रमुख रामराज जैसी हिल्सामा पुुगेर आयात भएको सबै सामानको विवरण र लाग्ने भन्सार दस्तुुरको बिल काटे पनि रुपैयाँ असुुल गर्न नसकिएको प्रतिक्रिया दिए । हाल व्यापारी र निर्माण व्यवसायी सबै काठमाण्डौं रहेको कारण भन्सार शुल्क असुुल गर्न आपूmपनि काठमाण्डौंमै रहेको उनले बताए ।
चीनबाट आयात भएको सामानको भन्सार महसुल १० लाख रहेको र त्योमध्ये एक लाख ८० हजार मात्र असुल भएको बताउँदै उनले आठ लाख बीस हजार रुपैयाँ असुुल गर्न बाँकी रहेको जानकारी दिए । भन्सार दस्तुर असुल भएको सामानमा खाद्यान्न र लत्ताकपडाको मात्र रहेको र असुल गर्न बाँकी रकम विकास निर्माण सामग्रीको रहेको बताउँदै उनले भने,‘ सबै व्यापारीसँग सम्पर्कसमेत भइसकेको छ।’
पुस १३, १७, १८ र २१ गते गरी चार पटक एकतर्फी रूपमा चीनले नाका खुलाएर सामान नेपाल पठाएको थियो। जसमा ३४ गाडी सामान नेपाल भित्रिएको थियो। जसमा ११ हजार बोरा सिमेन्ट र तीन गाडी सरिया आयात भएको थियो। हिमपातले नारा लेकको सडक बन्द भएका कारण सो सामान पनि हिल्सामै थन्किएको छ।
युग संवाददाता । । ४ फाल्गुन २०७९, बिहीबार १७:२९