दुर्गम कर्णाली  : दुर्दान्त स्वास्थ्य क्षेत्र

सुर्खेत,४ फागुन ।

कतै डाक्टर छैनन्, कतै उपकरण प्रयोगविहीन, कतै भवन अधुरै

जाजरकोट जिल्लास्थित प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोगविहीन भएको छ । पाँच वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन । स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

जुनीचाँदे–४ की मायादेवी शाहीले चिकित्सकले छातीमा समस्या देखिएकोले छातीको एक्स–रे गर्नपर्छ भनेपनि स्वास्थ्य केन्द्रमा भएको मेसिन सञ्चालनमा नहुँदा एक्स–रे गर्न सुर्खेत पुग्नुपरेको गुनासो गरिन् । शाहीले भनिन् ‘सञ्चालनमा नआउने भए मेसिन छ भनेर देखाउनका लागि मात्र किन ल्याएको होला ?’

जुनीचाँदे–५ का तीर्थ शाहीले पनि गाउँमै भएको स्वास्थ्य केन्द्रमा एक्स–रे नचलेपछि हातमा चोट लाग्दा भएको क्षति पत्ता लगाउन एक्स–रे गर्नुपर्ने अवस्थामा आफुपनि कोहलपुर धाउनुपरेको दुःखेसो सुनाए । घाँस,दाउरा गर्न गएको समयमा रुखबाट लडेर हातमा चोट लागेको हुँदा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा गएपनि एक्स–रे प्रयोगविहीन हुँदा आफुलगायत अरु थुप्रै यस्ता विरामी उपचारबाट वञ्चित हुन परेको उनको भनाई छ ।

उक्त प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच वर्ष पहिला राष्ट्रिय बिमा संस्थानले १६ लाख रुपैंयाको एक्स–रे मेसिन दिएको थियो । सोलार पावरबाट एक्स–रे मेसिन चलाउन नसकेपछि प्रयोगमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका प्रमुख बलबहादुर शाहीले बताए  विद्युत् अभावकै कारण एक्स–रे मेसिन प्रयोगमा ल्याउन सकिएको छैन,’ उनले भने ।

विद्युत् नआउँदासम्म जेनरेटरबाट मेसिन चलाउन सकिने भए पनि जेनेरेटर र भवनका लागि जुनीचाँदे गाउँपालिकासँग माग गर्दा सुनुवाइ नभएको उनले बताए । स्वास्थ्य केन्द्रमा भएको एक्स–रे सेवा सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका बिरामी सामान्य उपचारका लागि पनि कोहलपुर, नेपालगञ्ज र सुर्खेतसम्म जानुपर्ने बाध्यता रहेको छ ।

चिकित्सकविहीन प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्र करिब पाँच वर्षदेखि चिकित्सकविहीन बनेको छ । दरबन्दीमा रहेका डाक्टर बढुवा भएर गएको र नयाँ डाक्टर नआउँदा डाक्टर विहीन बनेको हो ।

पछिल्लो पटक कार्यरत डा. हेमराज शर्मा अध्ययन विदा सक्ने बित्तिकै बढुवा भएर गएपछि करिब पाँच वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी छ । तर दरबन्दी र करार गरेर अहिले सात जना मात्रै कार्यरत छन् । यहाँ एमबीबीएस डाक्टर एक जनाको दरबन्दी छ ।

यस्तै हेल्थ असिस्टेन्ट एक जना, स्टाफ नर्स एक जना, अहेव÷सीअहेव तीन जना, अनमी दुई जना, ल्याव असिस्टेन्ट एक जना र कार्यालय सहयोगी तीन जनाको दरबन्दी छ । तर अहिले अहेव दुई जना, करारमासहित अनमी तीन जना र दुई जना कार्यालय सहयोगी गरेर सात जना मात्रै कार्यरत रहेका छन् ।

यहाँ डाक्टर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्यावअसिस्टेन्ट लगाएको दरबन्दी रिक्त रहेको छ । दरबन्दी अनुसारको जनशक्ति नहुँदा स्थानीय नागरिक विशेषज्ञ सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्य केन्द्रमा एक्स–रे लगायतका मेसिन छन् । तर जनशक्ति नहुँदा भएका उपकरण पनि सञ्चालन गर्न नसकिएको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज वीरबहादुर वलीले जानकारी दिए ।

उनले डाक्टर लगायतका अन्य जनशक्ति नहुँदा इमरर्जेन्सी लगायतका सेवा प्रदान गर्न नसकिएको बताए । ‘हामीले सामान्य खालका रोगको उपचार गर्ने हो, तर जनशक्ति नहुँदा स्थानीयले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्, हामीले सक्ने उपचार सेवा दिँदै आएका छौँ’ उनले भने ‘यति लामो समयसम्म डाक्टर किन आउनु भएन, त्यो थाहा छैन ।’ उनले जनशक्ति अभावमा दुई वर्षदेखि खकार जाँच लगायतका सेवा पनि प्रभावित भएको बताए ।

‘सामान्य जाँचबाहेक एक्स–रे, खकार जाँच लगायतका लागि नागरिकलाई जिल्ला अस्पताल पठाउनुपर्ने बाध्यता छ, यसले नागरिकको स्वास्थ्य सेवालाई थप खर्चिलो बनाएको छ’ उनले भने ‘उपकरण छ, प्रयोग गर्ने जनशक्ति छैन ।’ सीमित जनशक्ति हुँदा पनि उपचार सेवा भने प्रभावित नभएको उनको भनाइ छ । प्राथमिक स्वास्थ्य केन्द्र विगत पाँच वर्षदेखि नै अहेव र अनमीकै भरमा चलेको छ ।

छत्रेश्वरी गाउँपालिका भित्रको एक मात्र तीन शैयाको स्वास्थ्य केन्द्रमा वर्षौँसम्म डाक्टर नआउँदा बिरामीलाई जिल्ला अस्पतालमा रिफर गर्ने गरिएको छ । पहिला अधिकांश समस्याहरू स्वास्थ्य केन्द्रमै उपचार हुने भए पनि अहिले डाक्टर नहुँदा स्थानीयले दुख पाइरहेका छन् ।

स्थानीय बुद्धिजीवी शिवप्रसाद केसीले भने ‘नागरिकले गाउँमै उपचार पाउँदा खर्च हुन्थेन्, तर सामान्य बिरामीलाई पनि जिल्ला अस्पताल पुर्याउनुपर्छ, गाउँको अस्पतालमा डाक्टर नहुँदा महँगो उपचार गराउन स्थानीय बाध्य भएका छन् ।’ चिकित्सक पठाई दिन पटक–पटक अनुरोध गर्दा पनि सम्बन्धित निकायले सुनुवाइ नगरेको उनको गुनासो छ । उनले दक्ष जनशक्ति नभएका कारण उपचार तथा स्वास्थ्य परीक्षणमा समस्या भइरहेको बताए ।

अलपत्र अस्पतालहरु

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल निर्माण गर्ने योजना अगाडि सारे । सोही अनुरूप कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पताल निर्माणका लागि शिलान्यास गरियो ।

उक्त योजना अन्तर्गत तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जुम्लाको तिला गाउँपालिका – ३ कुडारीमा २०७७ मङ्सिर २१ गते १० शैयाको अस्पताल निर्माणको शिलान्यास गरेका थिए । १० शैयाको अस्पताल निर्माणका लागि संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको गरेपनि २०७९ को फागुन लागिसक्दासमेत निर्माण कार्य सम्पन्न हुन नसक्दा उक्त आयोजना अहिले अलपत्र अवस्थामा रहेको छ ।

तिला गाउँपालिका जुम्लाका सव इञ्जिनियर धनप्रसाद चौलागाईका अनुसार अहिलेसम्म अस्पतालको निर्माण कार्य २० प्रतिशत मात्रै भएको छ । ‘संघीय सरकार स्वास्थ्य मन्त्रालयबाट बजेट आउनु पर्ने हो ।’ उनले भने,‘समयमा बजेट नआउँदा भने जस्तो काम हुन सकेको छैन् ।’

हाँडसिंजाको अस्पताल फाउण्डेसनमै यस्तै कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण गर्न तत्कालीन पालिका अध्यक्ष नरवीर रावतले गरेको शिलान्यास, त्यसैमा सीमित रहेको छ । उक्त अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले १८ करोड ५० लाख रुपैयाँ विनियोजन भएको थियो । अस्पताल बनाउन स्थानीयले करिब ४ हजार वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

स्थानीय स्तरमै अस्पताल बनेपछि निःशुल्क रूपमा औषधि उपचार गर्न पाइने अपेक्षासहित स्थानीयले निःशुल्क जग्गा दान गरेका हुन् ।
तर लामो समयसम्म अस्पताल निर्माण कार्य द्रुत गतिमा निर्माण हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार अस्पताल निर्माणको फाउण्डेसन निर्माण हुँदैछ ।

अहिले जग्गा समतल बनाउने काम भएको उनले जानकारी दिए । केही निर्माण सामग्री ल्याएर फालिएको छ । करिब एक करोड २० लाख बजेट ठेकेदारले पेश्की लिए पनि सोही बमोजिम काम नभएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् धेरै ताकेता गर्दा फागुन दोस्रो साताबाट निर्माण कार्य द्रुत गतिमा गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया