संघको माग

सुर्खेत,४ फागुन ।

सुर्खेत उद्योग वाणिज्य संघले काठमाण्डौंको बालाजु क्षेत्रमा फागुन १ गते भएको आन्दोलनका क्रममा पसलहरुमा भएको लुटपाटको विरोध गर्दै पीडित व्यवसायीलाई क्षतिपूर्ति दिन माग गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गरी संघीय राजधानी काठमाण्डौं जस्तो अति सम्वेदनशील ठाउँका पसलहरुमा दिनदहाडै लुटपाट भईराख्दा राज्य संयन्त्र मूकदर्शक भएर उभिनु लाचारी र राज्यविहीनताका पराकाष्ठा भनेको छ ।

निजी क्षेत्रको अभिभावकका रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघले पनि व्यवसायीहरुको न्यायका लागि स्वतःस्फुर्त अग्रसरता लिनुपर्नेमा मौनता साँध्नु र बेवास्ता गर्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ ।

आन्दोलनका आडमा हुने वितण्डा र लुटपाट मच्चाउनेलाई यथाशीघ्र कानूनी कारवाहीको दायरामा ल्याई हदैसम्मको कारवाहीसहित पीडित व्यवसायीहरुलाई उचित क्षतिपूर्ति दिन संघले माग गरेको छ ।

तपाईको प्रतिक्रिया