जथाभावि संकलनले दिगो संरक्षणमा चुनौति

सल्यान, २ फागुन ।

सल्यान लगाएतका क्षेत्रमा राम्रो संग फस्टाउन सक्ने भएपनि सोँचे अनुसार तेजपात (दालचिनी) को खेति विस्तार हुन सकेको छैन । यहाँको सामुदायीक, राष्ट्रिय वन तथा नीजि आवादीमा समेत खेती हुन सक्ने भएपनि अझै व्यवसायीक रुपमा तेजपातको खेती विस्तार हुन सकेको छैन ।

वनस्पति अनुसन्धान केन्द्र सल्यानले तेजपातको खेती प्रविधि बारे समेत किसानहरुलाई जानकारी गराउँदै वर्षेनी विरुवा उत्पादन गर्दै आएको छ । यस्तै डिभिजन वन कार्यालय सल्यानले पनि यसका विरुवा उत्पादन र वितरण गर्दै आएको छ ।

तर पनि तेजपात खेती व्यापक हुन सकेको छैन । वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्रलाल पाठकले तेजपात खेती प्रति कृषकहरुको आकर्षण बढेको पाइएपनि अपेक्षा गरे अनुरुप खेती विस्तार हुन नसकेको बताउँछन् । ‘सामुदायिक वन, कवुलियत वन तथा निजी जग्गामा यसको खेतीको शुरुआत हुन थालेको छ, तर यसको विस्तार र व्यवसायीकरणमा सरोकारवालाले ध्यान पुर्याउन जरुरी छ,’ उनले भने ।

चालु आर्थिक वर्षको हाल सम्म अनुसन्धान केन्द्रले आफुले उत्पादन गरेको तेजपातका तीन हजार ५०० विरुवा निःशुल्क रुपमा वितरण गरिसकेको जनाएको छ । विभिन्न जडिबुटिका विरुवा उत्पादन गर्दै आएको वनस्पति अनुसन्धान केन्द्रको नर्सरिमा हाल १५ हजार ५०० विरुवा सञ्चित छन् ।

यस्तै डिभिजन वन कार्यालय सल्यानले पनि तेजपात लगाएत जडिबुटि खेती विस्तारका लागि नर्सरीमा विरुवा उत्पादन, वितरण तथा वृक्षारोपण जस्ता कार्य गर्दै आएको जनाएको छ । कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत चन्द्र गुरुङले जिल्लामा हाल राष्ट्रिय वनमा तेजपात रहेको उल्लेख गर्दै निजि किसानहरुको पनि यसतर्फ चासो बढ्दै गएकाले विस्तारै जिल्लाबाट पनिठूलो परिमाणमा तेजपात निकासी हुने अपेक्षा व्यक्त गरे ।

उनका अनुसार चालु आर्थिक वर्ष २०७९।०८० को लागि जिल्लाभर ३१ हजार किलो तेजपात संकलन अनुमति दिइएकोमा हाल सम्म ११ हजार किलो निकासी भइसकेको बताए ।जडिबुटि संकलन तथा विक्रिका लागि इजाजत प्राप्त फर्मलाइ कार्यालयले संकलन अनुमति दिने गरेको छ । कार्यालयले तेजपात निकासीका लागि प्रतिकिलो ३ रुपैयाँको दरले राजस्व उठाउने गर्छ ।

सहायक वनअधिकृत गुरुङले तेजपात संकलन अघि नै संकलन गर्ने फर्मले सतप्रतिशत राजस्व बुझाउनुपर्ने व्यवस्था अनुसार ९३ हजार राजस्व संकलन भइसकेको जानकारी दिए । वन कार्यालयले गत वर्ष १० हजार तेजपातका विरुवा उत्पादन गरेको थियो भने आगामी जेठ असार सम्म यो वर्ष कति विरुवा उत्पादन हुन्छ भन्ने थाहा हुने जनाएको छ ।

४५० मिटर देखि दुई हजार ५०० मि. सम्म को उचाईमा रहेको स्थानमा पूर्व मध्य र पश्चिम नेपालमा पाइने तेजपात चुरे तथा महाभारतीय पर्वत श्रृखलाको पतझड तथा अर्धपतझड वन क्षेत्रमा उत्तर र पश्चिम चिसो तथा छहारी परेको स्थानमा राम्रो फष्टाउने गरेको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ । बारीका छेउं, खोला खोल्सी तथा कमसल खालको माटो भएको र पहिरो जानसक्ने खतरा भएको ठाउंमा पनि तेजपात खेती गर्न सकिने भएकाले यसबाट लाभ लिन सकिने प्रसस्त सम्भावना रहेको अनुसन्धान केन्द्रका प्रमुख डाक्टर पाठक बताउँछन् ।

यस्तो छ तेजपातको उपयोगिताः

यसको पात र वोक्रा लाई मसलाको रुपमा प्रयोग गरिन्छ । मसलाको रुपमा तेजपातलाई तरकारी, मासु, पुलाउ आदिमा प्रयोग गरिन्छ । अनुसन्धान केन्द्रका अनुसार पातवाट र वोक्रावाट सुगनिधत तेल निकालिन्छ भने तेललाई औषधी वाहेक ससेज, अचार, केक जस्ता खाद्य पदार्थ, पेय पदार्थ र सुर्तीमा स्वाद एवम् वासनादार वनाउन प्रयोग गरिन्छ । यसको पातलाइ वायुशमन गर्न, पेट दुखेको कम गर्न, उत्तेजना वढाउन, वाकवाकी लागेको वेला रोक्न, आउँ परेमा, पेट गडवढी भएमा तथा यसको तेल दांत दुखे र मुख गन्हाउने रोगको औषधीको रुपमा समेत प्रयोग गरिन्छ ।

वोक्रालाई पानीमा उमालेर पिउनाले पखाला रोक्ने गर्दछ । दालचिनी वोक्रा आयुर्वेदिक औषधी वनाउन प्रयोग गरिन्छ भने यसको सुगन्धित तेल दांतको औषधी वनाउन सकिन्छ । यसको तेलमा ढुसी अवरोधक र एन्टीडाइवेटिक तत्व पनि पाईने वनस्पति अनुसन्धान केन्द्रले प्रकाशित गरेको पुस्तकमा उल्लेख छ ।

तेजपातको खेती विस्तार संगै पुरानो तरिकाको खेती प्रविधी, संकलन, भण्डारण एवं वजारीकरणको प्रकृयालाई बदल्नुपर्ने विज्ञहरु बताउँछन् । विशेषगरी संकलन गर्दा बोट नै काटेर संकलन गर्ने ,पात काट्दा ठुला ठुला हांगा काटेर नोक्सान पुर्याउने ,जथाभावी गर्ने भएको हुनाले यसको दिगो संरक्षणका लागि ध्यानपुर्याउन आवश्यक छ ।

तेजपात खेतीको वैज्ञानिक प्रविधिलाई जनस्तर सम्म पुर्याई यसको वढ्दो मागलाई पुरा गर्न सामुदायिक वन र निजी खेतवारीमा व्यावसायिक ढंगले खेती गर्न प्रोत्साहन गर्नु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया