सुर्खेत,२९ माघ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले देशैभर गरीरहेको विरोधमा कर्णाली प्रदेश अस्पताल कालागाउँमा पनि चिकित्सक संघले विरोध जनाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठीचार्जबाट शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह र वीर अस्पतालमा कार्यरत चिकित्सक डा. आलम घाइते भएका थिए । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भिआइपीको सुरक्षाका नाममा सांघातिक आक्रमण दुःखद रहेको भन्दै कर्णाली प्रदेश अस्पतालमा पनि चिकित्सक संघले विरोध जनाएका हुन् ।
संघले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
सोही अनुरुप आज प्रदेश अस्पताल कालागाउँमा पनि आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेका छन् । अस्पतालमा ओपिडि सेवा बन्द भएको जानकारी दिँदै बिरामीहरुलाई घर फर्काउने काम भईरहेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. खड्काले जानकारी दिए । हाल आन्दोलनरत चिकित्सकहरुले वार्ता पछि विरोध प्रदर्शन बन्द गरेका छन् ।
युग संवाददाता । । २९ माघ २०७९, आईतवार १३:३५