कृषि अनुदानको दुरुपयोग

जाजरकोट,२९ माघ ।

भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र परेको छ । प्रदेश सरकारको ५० लाख अनुदान र कर्णाली बायोइनर्जी एन्ड अर्गानिक फर्टिलाइजर प्रालिको ५० लाख रुपैयाँ लगानीमा उद्योग स्थापना गरिएको हो । तर उद्योगको सबै पूर्वाधार तयार गरिए पनि अझैं उत्पादन थालिएको छैन ।

आर्थिक वर्ष २०७७÷७८ को कर्णाली प्रदेशको बजेटबाट उक्त संरचना निर्माण भएको थियो । तर जैविक मल तथा जैविक विषादी उत्पादन गर्न भैंसीपालन गर्नुपर्ने भए पनि अहिलेसम्म भैंसीपालनको काम सुरु भएको छैन । भेरी करिडोर र मध्यपहाडी लोक मार्गको बीचमा पर्ने भएकाले कुदुमा उत्पादन भएको जैविक मल र विषादीले सहजै बजार पाउने स्थानीयको भनाइ छ ।

प्रदेश सरकारले भेरी नगरपालिकामार्फत प्रालिलाई अनुदान उपलब्ध गराएको थियो । तर नगरपालिकाले कम काम भएको भन्दै ४२ लाख रुपैयाँ मात्र भुक्तानी दिएको छ । स्थानीय किसान अमर बुढाले अनुदानका लागि मात्र विभिन्न कम्पनी खोल्दा वास्तविक किसान मारमा परेको बताए ।

‘पहुँचको भरमा ल्याइएका यस्ता अनुदानको अनुगमन तथा निरीक्षण गर्ने निकायसमेत मौन बस्दा मिलेमतोको आशंका छ,’ उनले भने, ‘अरू सबै संरचना बनेका छन्, भैंसीपालन गर्न मात्र बाँकी छ, अहिले उद्योग परिसर पशुचौपायाको चरनस्थलमा परिणत भएको छ ।’ केही सामग्री चोरी भइसकेका छन् । बनेको संरचना जीर्ण बन्दै गएको छ ।

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले अनुदान लिने तर काम नगर्ने परिपाटी मौलाउँदै गएको बताए । ‘सधैं निगरानी गर्न सकिँदैन, दाताले पनि अनुगमन गर्नुपर्ने हो,’ उनले भने, ‘हामीले जिम्मा लगाएपछि किसानले आफैंले सक्रिय भएर काम गर्नुपर्ने हो, तर गरेनन् ।’

कम्पनीका सञ्चालक मानबहादुर रोकायले प्रालिका साझेदारहरूले धोका दिएका कारण कुदुमा काम गर्न नसकिएको बताए । उनको फार्मले अहिले सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीमा शाखा सञ्चालन गरेर काम गरिरहेको उनको दाबी छ । चरन क्षेत्र अभाव, भौगोलिक विकटता र दाना नपाइने कारणले कुदुमा भैंसीपालन गर्न नसकिएको उनको भनाइ छ ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया