सांसद फेरिए, विकास फेरिएन

मुगु,२८ माघ ।

जिल्लामा पञ्चायत व्यवस्थामन्त्री राजबहादुर शाहले २०३७ सालमा ताल्च विमानस्थल निर्माणको शिलान्यास गरे । जहाज चढ्न जुम्ला जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले शाहले शिलान्यास गरेको उक्त विमानस्थल अहिलेसम्म निर्माण कार्य पूरा हुन सकेको छैन ।

२०३७ सालदेखि हालसम्म राजबहादुर शाह, तेजबहादुर भाम, हस्तबहादुर मल्ल, दुई पटक नवराज धामी, मोहन बानियाँ, गोपाल बम गरी ७ सांसद फेरिएका छन् । तर ताल्च विमानस्थलदेखि जिल्लाको विकास निर्माण फेरिएको छैन । यो अवधिमा प्रदेश सभामा चन्द्रबहादुर शाही, दानसिंह परियार र झोवा विक निर्वाचित भएका छन् ।

निर्वाचित सांसदहरू यही विमानस्थनबाट जहाज चढेर ओहोरदोहोर गरिरहन्छन् । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा आउने पर्यटकले यही विमानस्थल प्रयोग गर्छन् । जसका कारण पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको विमानस्थलको धावन मार्ग कालोपत्र भएर जहाज अवतरण र उडान गर्न केही सहज भए पनि टर्मिनल टावर, यात्रु चेक पोस्ट, सुरक्षा आवासलगायत भौतिक पूर्वाधार अहिलेसम्म बन्न सकेको छैन ।

विमानस्थल निर्माणमा अहिलेसम्म झन्डै ३७ करोड रुपैयाँ खर्च भइसकेको छ । ‘न विमानस्थल बन्यो, न राराको पर्यटकीय विकास भयो,’ स्थानीय कालीबहादुर शाहीले भने, ‘पर्यटकीय महत्त्व बोकेको रारा उहिलेदेखि अहिलेसम्म उपेक्षामै छ ।’ रारामा पनि लामो समयदेखि पूर्वाधार निर्माणको काम अलपत्र छ । २०२० सालमा स्वर्गीय राजा महेन्द्रले ३ लाखमा निर्माण गरेको रारा वरिपरि घुम्ने बाटो अहिले पनि प्रयोगमै छ ।

रारालाई चुनावी नारा दिएर धेरैले सांसद जिते पनि विकासमा कसैको ध्यान नपुगेको मुर्मागाउँका बिर्ख रोकायाले बताए । प्रदेश सरकारले अहिले राराताल वरिपरि साइकल रोड निर्माणलाई प्राथमिकता दिएर पहिलो वर्ष ४ करोड र त्यसपछि ४५ करोड बजेट विनियोजन गरे पनि काम अलपत्र नै छ ।

रारामा भौतिक पूर्वाधार र मनोरञ्जनका साधन नहुँदा घुम्न आउने पर्यटकको संख्या बढ्न नसकेको उनले गुनासो गरे । ‘न रारामा देखिनेजस्तो कुनै विकास छ न पर्यटकलाई आकर्षण गर्ने कुनै कार्यक्रम,’ उनले भने, ‘हामी त राराको सुन्दरतामै रमायौं, तर बाहिरका पर्यटक भित्र्याएर आर्थिक विकास गर्ने चाहना अधुरै छ ।’

मुगु सदरमुकाम गमगढीदेखि खत्याडसम्मको सडक पनि लामो समयदेखि अलपत्र छ । खत्याडसम्म सडक नजोडिँदा स्थानीयलाई नागरिकता बनाउन, नापी र मालपोतको काम गर्न दुई दिन हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता छ । ‘सांसदले न गाउँसम्म बाटो पु¥याए न हामीलाई अरू सुविधा दिए,’ सुकाढिक गाउँका महेश गिरीले भने, ‘हाम्रै भोटले धेरै सांसद फेरिए, तर खत्याडवासीको सदरमुकाम पुग्ने दुःख कहिल्यै फेरिएन ।’

उनका अनुसार २०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्जले गर्दा अहिलेसम्म गमगढी–खत्याड मोटर बाटो जोडिन सकेको छैन । सेरी–नारंगे–रुम हुँदै गिलाहाबाट खत्याडसम्म मोटर बाटो जोड्ने काम ५ वर्षअघि सुरु गरिएको थियो । झन्डै ३ करोड खर्च भएको उक्त सडकमा ३ वर्षयता एक रुपैयाँ पनि विनियोजन भएको छैन ।

त्यस्तै, २०६९ मा नेपाली सेनाले ट्र्याक ओपन गरी नाग्म–गमगढी सडक सरकारलाई हस्तान्तरण ग¥यो । ९४ किलोमिटरको उक्त सडकको अवस्था बेहाल हुँदा हिमपात र वर्षाको समयमा झन्डै ६ महिना बाटो बन्द हुने गरेको छ । कच्ची सडकले गर्दा बारम्बार सवारीसाधन दुर्घटना भई बाटो खुलेयता ८१ जनाले विभिन्न दुर्घटनामा ज्यान गुमाइसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सडक कालोपत्र नहुँदा रारा घुम्न आउने पर्यटकहरू सास्ती भोग्न बाध्य छन् । ‘सडक मार्ग हुँदै रारा आएका पर्यटक यो बाटोको दुःख सम्झेर फेरि आउँदैनन्,’ पर्यटन व्यवसायी कमल शाहीले भने, ‘जहाज नियमित चल्दैन, सडक झन् झन् जीर्ण बनिरहेको छ, कर्णालीको पर्यटन विकास हेर्न यहाँको बाटो हेरे पुग्छ ।

’ निर्वाचनको प्रचारप्रसारका लागि आएका सांसदले जितेर गएपछि फर्केर नहेर्ने गरेको नागरिक अगुवा रूपबहादुर मल्लले बताए । गमगढी–नाग्मा सडक स्तरोन्नतिको नाममा अहिलेसम्म करिब २४ करोड रुपैयाँ बजेट खर्च भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । तर सडक कालोपत्र नहुँदा सधैं धुलाम्मे र हिलाम्मे यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय मल्लले बताए ।

२०६३ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापति डिल्लीप्रसाद भट्टको पहलमा सर्भे गरिएको मुगु–चीन जोड्ने गमगढी–नाक्चेनाङला सडक पनि अहिले अलपत्र छ । गमगढीदेखि तिब्बत सीमासम्म ८५ किलोमिटर लम्बाइ रहेको सडक नेपाल–चीन जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो ।

तर अहिलेसम्म गमगढीदेखि छाइलसम्म करिब १८ किलोमिटर मात्र सडक निर्माणको काम सकिएको छ । मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले यो सडक खुले कर्णाली समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

मुगुमा हुम्ला कर्णाली र मुगु कर्णाली नदीमा मात्रै कम्तीमा एक हजार मेगावाट विद्युत् निकाल्न सकिने गरी नेपाल विद्युत् प्राधिकरणले २ वर्षअघि अध्ययन गरेको थियो । करिब २ दर्जन खोलाबाट २ सय मेगावाट विद्युत् निकाल्न सकिने अध्ययन टोलीको निष्कर्ष थियो । तर विद्युत् समस्याले करिब ७५ प्रतिशत गाउँबस्ती अन्धकारमा छन् ।छिमेकी जिल्ला जुम्ला र कालीकोटमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगिसके पनि मुगुमा विद्युत् जोड्न पहल नभएको स्थानीय अगुवा विनोद मल्लले बताए ।

स्वास्थ्यमा पनि मुगु पछाडि नै छ । २०६३ सालदेखि सञ्चालनमा आएको १५ शय्याको जिल्ला अस्पतालको स्तरोन्नति नहुँदा र चिकित्सक नबस्दा बिरामी महँगो रकम खर्च गरेर नेपालगन्ज, सुर्खेत र काठमाडौं जान बाध्य छन् । कोरियनले २ वर्षअघि अस्पतालको भवन निर्माण गरिदिए पनि अहिलेसम्म विशेषज्ञ डाक्टर मुगु आएका छैनन् ।

सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य सेवा स्वास्थ्यचौकीले नै धानिएको उनले बताइन् । गम्भीर रोग लागे वा दुर्घटनामा परे हेलिकोप्टर चार्टर गर्नुको विकल्प छैन । विद्युत् समस्याका कारण दैनिक १÷२ घण्टा मोबाइल र इन्टरनेट नेटवर्क नगएको दिनै नहुने नेरगाउँका कीर्तिसिंह बुढाले बताए । उनका अनुसार रुगा, मालिकालेक, सोरु, कच्चेकोट र नार्थपु लेकमा निर्माणको काम सुरु भएको ५ वर्ष बित्दासमेत फोरजी टावर अलपत्र परेको छ  ।

सोरु गाउँपालिका–५ का करिब दुई सय घरधुरी टेलिफोन सेवाबाट वञ्चित छन् । भौगोलिक विकटता, सदरमुकाम पुग्ने सडक राम्रो नहुनु, दक्ष जनशक्तिको अभावलगायत कारण जिल्लाको विकासमा समस्या भएको पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले बताए ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया