दुल्लुका पुरातात्त्विक सम्पदा व्यक्तिका नाममा

दैलेख,२७ माघ ।

दुल्लु नगरपालिकाभित्रका झन्डै ९० प्रतिशत पुरातात्त्विक सम्पदा अझै व्यक्तिका नाममा छन् । व्यक्तिका नाममा भएकाले स्थानीय र प्रदेश सरकारलाई ती सम्पदाको संरक्षण र पुनर्निर्माण गर्न समस्या भएको छ ।

नेपाल एकीकरणपछि दुल्लुमा रुद्र शाह, श्रीभक्त शाह, भक्तबहादुर शाह, पृथ्वीनारायण शाह र जंगबहादुर शाह क्रमैसँग राजा बने । दुल्लु दरबार आसपासमा ती राजाका ११ सन्तानका नाममा ऐतिहासिक सम्पदाहरू छन् । २०४८ सालको नापीले सरकारी जंग्गा सबै आफ्नो नाममा दर्ता गरिदिएको जंगबहादुर शाहका छोरा नेपाली सेनाका रिटायर्ड जर्नेल दिप्तप्रकाश शाहले बताए । ‘दरबार जनताको हो,’ उनले भने, ‘ तर कुनै व्यक्तिको चलाखीले दरबार व्यक्तिको नामका भएको देखिन्छ ।’

मल्ल राजाको शासनकालमा जुम्लाको सिंजा र दुल्लुमा स्थापना भएका एक सयभन्दा बढी ऐतिहासिक सम्पदा सरंक्षण अभावमा मासिएको उनको भनाई छ । नगरपालिकाले दरबारको नाममा नामसारी गर्ने वातावरण मिलाए आफूहरू ती सम्पदा छाड्न तयार रहेको उनको भनाइ छ । दरबारमा सशस्त्र द्वन्द्वको समयमा माआवादीले २०६० बैशाख ८ गते बम विस्फोट गराएर ध्वस्त गराएका थिए । ५२ झ्याल–ढोका भएको उक्त दरबार अहिले भग्नावशेषमा सीमित छ । तत्कालीन सिंजा राज्यका चल्ल (मल्ल) राजाहरूले राज्यारोहण गरेको उक्त दरबारका अन्तिम राजा जंगबहादुर शाह थिए ।

पुराततत्त्व विभागको संरक्षण सूचीमा रहेको हिन्दु र बौद्ध धर्मको प्रतिक ‘ऊँ मणी पद्ये हुँ’ (बौद्ध धर्मालम्बीहरूको मन्त्र) को अभिलेख दुल्लु–५ का मोतीप्रसाद जैसीको नाममा छ । उक्त प्रतीक १२७९ मा लेखिएको पुरातत्त्व विभागले प्रमाणित गरिसकेको छ । जमिनको सतहबाट करिब ३ मिटर अग्लो उक्त पत्थरनाउलीको परिधि ६ मिटर रहेको जैसीले बताए । उनका अनुसार अहिले उक्त प्रतिक जीर्ण छ ।

जैसीकै नाममा तत्कालीन राजाहरूले प्रयोग गर्ने कुवा पनि छ । २०४८ सालको नापीले आफ्नो नाममा उक्त कलात्मक र पुरातात्त्विक महत्त्वको कुवा आफ्नो नाममा गरिदिएको उनले बताए । ‘मेरो नाममा रहेको संरचना सरकारले सिधै रकम हालेर बनाउन पनि नमिल्ने रहेछ,’ उनले भने, ‘त्यसैले कुवा जीर्णोद्वार हुन सकेको छैन ।’

दुल्लु नगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम भण्डारीले दुल्लुको पहिचानको रूपमा रहेका विभिन्न दरबार, पौवा, भाषाको पहिलो शिलालेखलगायत झन्डै ३ दर्जन सम्पदा व्यक्तिको नाममा रहेको बताए । उनका अनुसार राजा राजेन्द्रविक्रम शाहले निर्माण गरेको दुल्लु सांस्कृतिक संग्रहालय र भवन वरपरको जमिन विष्णुबहादुर सिंहको नाममा छ । पौवा अगाडि रहेको हनुमान मन्दिर कविराज सिंहको नाममा छ । १०३८ को दामुपालले अभिलेख गरेको नेपाली भाषाको पहिलो शिलालेख इलाका हुलाक कार्यालय दुल्लुको नाममा छ ।

त्यस्तै दुल्लु दरबार आसपासको सबै जग्गा ज्वालाकुमारी शाहको नाममा छ । दुल्लु क्षेत्रका सम्पदाहरू करिब ७ सय १० वर्ष पुराना भएको नगरपालिकाको तथ्यांक छ । व्यक्तिका नाममा रहेका दरबार, कोट, देवल, मन्दिर, चौतारो, धारा–कुवा, शिलालेखलगायत सम्पदा व्यक्तिकै नाममा भएकाले जीर्ण बन्दै गएको पूर्वनगरप्रमुख भण्डारीले बताए । उनका अनुसार ती सम्पदा नगरपालिकाको नाममा ल्याउन कम्तीमा ८ करोड रुपैयाँ लाग्ने देखिन्छ ।

उनी नगरप्रमुख हुँदा ती सम्पदा नगरपालिकाको नाममा ल्याउन मूल्यांकन भएको थियो । तर बजेट अभावमा त्यो पूरा हुन नसकेको उनले गुनासो गरे । ‘स्थानीयले सम्पदाको महत्त्व बुझेर आफ्नो नामबाट नामसारी गर्न महँगो मूल्य लगाएका छन्,’ उनले भने, ‘स्थानीय तहसँग त्यति ठूलो रकम हुँदैन, संघीय र प्रदेश सरकारले बेवास्ता गरे ।’ उनले दुल्लुमा हिन्दु र बौद्ध धर्मको वास्तुकलाको नमुना ध्वस्त हुँदै गएको उनको भनाइ छ ।

२०४८ मा पुरातत्त्व विभागले चासो नदिँदा व्यक्तिले ऐतिहासिक सम्पदा धमाधम आफ्नो नाममा बनाएको नगरपालिकाको दाबी छ । दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले सडक कालोपत्रे र बढ्दो सहरीकरणले सम्पदाहरूको मूल्य बर्सेनि बढ्दै गएको बताए । तिब्बतको खारीदेखि बंगालसम्म फैलिएको विशाल सिंजा राज्य बाइसे–चौबिसे शासनकालभन्दा पहिले नै स्थापित थियो ।

‘सिंजा हाट दुल्लु विराट्’ भन्ने उक्तिअनुसार सिंजाको प्रशासनिक केन्द्र दुल्लु थियो भने व्यापारिक केन्द्र सिंजा बनाइएको थियो । जसअनुसार हिउँदमा दुल्लु दरबारमा र वर्षायाममा सिंजा दरबारबाट तत्कालीन राजाले राज्य सञ्चालन गर्थे । दुल्लु राज्यले तीन पटक उपत्यकामा आक्रमण गरी त्यहाँको केही धनसम्पत्ति ल्याएको मध्यकालीन इतिहासमा उल्लेख छ ।

नेपाल एकीकरणमा दुल्लुका राजा उत्तिम शाही नेपाली सेनाको नेतृत्व गर्दै भारतको अलमोडा गंगोलीमा गएको बेला मारिएका थिए । नेपाल एकीकरणको समयमा दुल्लु राज्य–रजौटा उन्मुलन ऐन–२०१८ लागू नहुन्जेलसम्म छुट्टै राज्यको रूपमा अस्तित्वमा थियो ।

नेपाली भाषाको पहिलो शिलालेख दुल्लुका राजा नागराजका उत्तराधिकारी दामुपालको पालामा ९०३ सालमा लेखिएको इतिकाकार पूर्णप्रकाश नेपाल यात्रीका पुस्तकहरूमा उल्लेख छ । इतिहास प्रकाशन भाग–२ मा पनि योगी नरहरिनाथले यो नै पहिलो शिलालेख भएको पुष्टि गरेका छन् । उक्त शिलालेख इलाका हुलाक कार्यालयको नाममा छ ।

दुल्लु नगरपालिका–७ का वडाध्यक्ष लोकबहादुर रावतले पहिलो शिलालेखसहित कृतिखम्ब, दुल्लु दरबार, धर्मगद्दी, विजया मन्दिर, मष्टा मन्दिर, ढुंगेधारा र भगवती मन्दिरजस्ता सार्वजनिक सम्पदा व्यक्तिका नाममा हुँदा पर्यटकको आकर्षण बढाउन नसकिएको बताए । भाषा साहित्यविद् डा. मधुसूदन गिरीले सम्पदा कसरी व्यक्तिका नामबाट सरकारीकरण गर्ने र त्यसको नेतृतत्त्व कसले गर्ने भन्नेबारे अझै अलमल रहेको बताए ।

उनका अनुसार नेपाली भाषाको पहिलो अभिलेख संरक्षण अभावमा मेटिँदै गएको छ । उनले भने, ‘इतिहास रचेका स्तम्भहरू कोही कता पल्टेका छन, कोही फालेका छन, कोही स्थानीयले घरमा लगेका छन् ।’ तीनै तहका सरकारले मिलेर स्थानीयलाई मुआब्जा वितरण गरी सरकारी बनाउन सकिने उनको भनाइ छ । होटल व्यवसायी रुपक थापाले दैलेखमा रहेका संरचनाको संरक्षण र जीर्णोद्वार नसक्दा पर्यटकहरूको आकर्षण हुन नसकेको सुनाए ।

नारायण नगरपालिका–६ पञ्चदेवलमा रहेका २२ वटा देवल पनि संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । शिखरशैलीमा निर्माण भएका ६ फिटदेखि १५ फिटसम्मका देवलहरू अलपत्र परेका हुन् । ती देवलहरू पञ्चपाण्डवले निर्माण गरेको जनविश्वास छ । अधिकांश देवलहरू ढुंगाबाट कलात्मक आकृति कुदेर बनाइएको भुर्तीगाउँका रामप्रसाद रेग्मीले बताए ।

उनका अनुसार देवलहरूको संरक्षण र मर्मत नहुँदा अस्तितत्त्व मेटिँदै गएको छ । उनले ती देवलहरू ३२ देखि १८ वर्गमिटरको क्षेत्रफलमा निर्माण भएको बताए । धेरैजसो देवलका ढोकामाथिको स–साना गणेश मूर्ति कुँदिएकाले धार्मिक र पुरातात्त्विक महत्त्व रहेको उनी बताउँछन् । दैलेख जिल्लाभरि झन्डै २५ वटा पञ्चदेवल छन् ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया