पुनम वि.सी.
सुर्खेत, २६ माघ ।
वीरेन्द्रनगरमा सञ्चालित महोत्सव–मेलामा अवलोकन जाने यसअघिकै योजना हो । मेला सञ्चालनपूर्व भएको पत्रकार सम्मेलनमा सहभागी रहँदा यो पंक्तिकारले आयोजकलाई प्रश्न गरेको थियो, ‘कृषि र औद्योगिक मेलाको मुख्य आकर्षणमा कर्णालीका उत्पादन पर्लान् ? या त कुनै तीघ्रा देखाउने कलाकार नै मुख्य आर्कषणको केन्द्र बन्लिन् ।’
यसअघि वीरेन्द्रनगरमा सञ्चालन हुने मेला–महोत्सवहरुमा ती प्रकारका दृश्य नभएका समेत थिएनन् । स्टेजमा उत्तेजक गतीविधि प्रर्दशन गरेरै भिडलाई उच्श्रृंखल बनाइएका दृश्य हामीले देख्दै आएका थियौँ । पत्रकार सम्मेलनमा आयोजकले दिएको जवाफ चित्तबुझ्दो थिएन । यो प्रश्न, आयोजकले दिने जवाफ र कर्णालीमा औद्योगिक, कृषि, प्रविधि शब्दहरु सायदै यसरी नै अझै कयौँ वर्ष चल्नेछन् ।
सुरुका चरणमा मेला आफै विवादमा पर्यो । तर ती विवादहरुले यो पंक्तिकारलाई खास्सै प्रभाव भने पारेनन् । कर्णालीमा के उत्पादन छन् त ?, यो उत्सुकताले मेलाका ती विवादका विषयहरु यो पंक्तिकारको व्यक्तिगत तहमा भने ओझेलमै रहे । बुधबार मध्यान्नको १२ः३९ बजेको समय, नेपाल टेलिभिजनको कोहलपुर प्रशारण केन्द्रमा कार्यरत एक जना साथी र यो पंक्तिकारले मेलाको मुख्य प्रवेशद्वारमा उपस्थिति जनायौँ ।
भीड सामान्य नै थियो । यसअघि आयोजना हुने मेलाहरुको जस्तो धेरै जनघनत्व पनि थिएन, तर अघिल्ला मेलाभन्दा यस बखत भने सवारी साधन पार्किङ्ग तथा मेला बाहिरको स्थानका विषयमा विषेश ध्यान दिइएको जस्तो देखिन्थ्यो । गत हप्ताको शुक्रबारदेखि वीरेन्द्रनगरमा जारी ‘औद्योगिक व्यापार, कृषि, नवीनतम, प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सवमा’ करिव १२ वटा स्टलमा कर्णालीका उत्पादनले स्थान पाएका थिए ।
कर्णालीमा उत्पादित कृषि उपज तथा स्थानीय स्तरमै प्रशोधन गरी विक्रिका लागि राखिएका वस्तुहरुले कमै मात्रामा प्रदर्शन र विक्रिका लागि राखिएपनि कोभिड–१९ संक्रमण जोखिमले सुस्ताएको कर्णालीको कृषि क्षेत्र जुर्मराउन थालेकोझै भान भयो ।
नवीनतम् प्रविधिका रुपमा त्यस्तो केहि भेट्न सकिएन् । बरु यसअघि मेलामा आफ्ना नवीन प्रविधि बोकेर प्रदर्शनमा आएका केहि व्यक्तिहरुलाई यसपाली खुबै खोजियो । तर उनीहरु कोहि पनि थिएनन् । भेरी नदि किनारमा सुख्खा रहेका जग्गामा हावाको चापबाट बिना विजुली सिँचाई सुविधा पु¥याउन सकिने प्रविधि बोकेर केहि वर्ष पहिले यसै खालमा मेलामा आएका उनीहरु मेरा चासोमा थिए । यसपाली भेटेको भए, ‘कर्णालीका कति स्थानमा काम सुरु भयो ?’, सोध्ने योजना थियो । तर उनीहरु भेटिएनन् ।
प्रविधिका क्षेत्रमा मकै रोप्ने मेशिन, ट्रयाक्टरलगायतका कृषि सामाग्री प्रर्दशनमा राखेको वीरेन्द्रनगरको शुभकामना एग्रो इन्टरप्राइजेज र संगै अर्को स्टलमा हाते ट्रयाक्टरहरु प्रर्दशनका राखेको सहारा ट्रेड सप्लायर्सका स्टलमा नारिकहरुका पाइला रोकिएका थिएनन् । मेला अवलोकनमा आएका नागरिकहरु यस्ता प्रविधिमा चासो नजनाएको देख्दा कर्णालीमा कृषि गतिविधिको अवस्था नाजुक रहेको देखियो ।
तर केहि परको स्टलमा विक्रि भईरहेको अचारले भने मेलामा आउने नागरिकको ध्यान केन्द्रित गथ्र्यो । यस पत्रिकामा कर्णालीका उद्योग तथा उत्पादन विषयमा स्तम्भ लेखिरहँदा वीरेन्द्रनगरमा सञ्चालित ‘कर्णाली अचार उद्योग’का गतिविधि लेखेको थिएँ । सो लेखमा सम्भावना रहँदा रहँदै पनि कर्णालीका उत्पादनलाई बजार समस्याका विषय समावेश थियो । यसै विषयले पनि होला, अचार उद्योगको ब्यानरतर्फ यो पंक्तिकारको ध्यान गयो, ‘अल्फा पिकल हाउस ।’
महोत्सवमा खासगरी मह र कर्णालीको उपल्लो भेगमा उत्पादित सिमी, कागुनो, सिस्नोलगायतका उत्पादन विक्रिका लागि राखिएका भेटिए । तर यी उत्पादनले भने मेलामा बजार पाउन सकेका थिएनन् । मेलाको मुख्य प्रवेशद्वार लगत्तैका स्टलमार्फत विक्रि तथा प्रदर्शनको स्थान पाएका यहाँका उत्पादनहरु मेलाको मुख्य आकर्षण बन्न नसकेपनि कर्णालीमा अर्गानिक उत्पादन गतिविधि सामान्य चलिरहेको भन्ने महशुस भने हुन्छ ।
मेलामा भेटिएन ‘मूल्यवान लोगो’
भौतिक व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भने ‘मूल्यवान लोगो’ लाई कर्णालीको उत्पादनसँग जोडेको छ । कर्णालीको पहिचान हुने र बजार प्रवद्र्वनमा समेत सघाउ पुर्याउने मन्त्रालयको उद्देश्य रहेपनि वीरेन्द्रनगरमा सञ्चालित मेलामा राखिएका कर्णालीका उत्पादनमा ‘मूल्यवान लोगो’ भने भेट्न सकिएन । जुम्लास्थित चन्दननाथ वहुउद्देश्यीय सहकारी संस्थाले मेलामा विक्रिका लागि राखेको कर्णालीको उत्पादनमा भने सो लोगो भेट्न सफल भईयो ।
तर अल्फा पिकल हाउस, ज्वालागढी बहुउद्देश्यीय उद्यम प्रालि, आठविसकोट मौरी पालन तथा मौरी उपकरण केन्द्र, युवराज प्रकृति अर्गानिक खाद्य तथा फलफुल कोशेली अर्डर एण्ड सप्लायर्स, ग्ल्बोल च्याउ उद्योग तथा कृषि फर्म, कर्णाली ड्रागन फ्रुट फर्म, देवीस्थान अर्गानिक हनीलगायतका फर्मले विक्रिका लागि राखेका कर्णालीका अर्गानिक उत्पादनमा कहिकतै मूल्यवानको लोगो नभेटेपछि भने यो पंक्तिकारलाई कर्णालीको कृषि तथा औद्योगिक उत्पादन गधिविधिप्रति निराशा जागेर आयो ।
कर्णाली प्रदेश सरकारका तर्फबाट समेत कृषि तथा औद्योगिक उत्पादन विषयमा केहि पुस्तकहरु निःशुल्क उपलब्ध रहन्छन् कि भनेर निकै खोजियो, तर भेट्न पनि सकिएन । त्यसैले पनि मेलामा विक्रिका लागि राखिएका एक सय रुपैयाँमा चार जोर मोजा, पच्चिस सय रुपैयाँमा तीन वटा ब्ल्याङकेट, मौतका कुँवा र कानैमा चरचर गर्ने सांगीतिक प्रस्तुतीहरुमा केहि भीड बढेको देखेको यो पंक्तिकारलाई ती भीडहरुमा समावेश हुनुभन्दा जाँगरै मारेर बाहिरिनु बाध्यता बन्यो ।
युग संवाददाता । । २६ माघ २०७९, बिहीबार ११:०१