फरेस्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता

सल्यान,२५ माघ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालिमाटी गाउँपालिकास्थित सब–डिभिजन वन कार्यालयका फरेस्टर जयपृथ्वीराज बुढाथोकीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सबडिभिजन वन कार्यालय कालिमाटीका फरेस्टर बुढाथोकीसहित सहायक वन अधिकृत मनोज शर्मा लम्साल, महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर कुँवर, कोषाध्यक्ष जुद्धकुमारी ओली, सचिव पुष्पा ओली खासु मगर र दुर्गा ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक दुर्गाप्रसाद ओलीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तुलसीपुर–पुरन्धारा–बोटेचौर सडकखण्ड स्तरोन्नति गर्ने क्रममा काटिएका सामुदायिक वनका रुख बिक्री गरी अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारले उनीहरूलाई १ लाख ८७ हजार ८ सय ७७ रुपैयाँदेखि २ लाख ६८ हजार ५ सय ६१ रुपैयाँसम्म बिगो भराउन माग गरेको छ ।

कान्तिपुर

तपाईको प्रतिक्रिया