सुर्खेत,२५ माघ ।
सुर्खेतका उद्योगी व्यवसायीले व्यावसायिक सुरक्षाको माग गरेका छन्। वीरेन्द्रनगर बजार क्षेत्रमा बारम्बार चोरी हुने, सीसी क्यामरा नै लैजाने घटना हुन थालेपछि व्यवसायीले प्रशासनसँग सुरक्षाको माग गरेका हुन्। सरुवा भई भर्खरै आउनुभएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको स्वागत गर्दै व्यवसायीले बैङ्कको चर्को ब्याजको मारमा समेत व्यवसायी परेको प्रसङ्ग उठाउँदै व्यावसायिक सुरक्षाको माग गरेका हुन्।
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले व्यवसायीले व्यावसायिक सुरक्षा चाहेको बताए । व्यवसायीले ६÷७ प्रतिशतमा लिएको ब्याज बढाएर अहिले १७÷१८ प्रतिशत पु–याई बैङ्कले व्यवसायीलाई तनाव दिइरहेको अध्यक्ष कँडेलले बताए ।
उनले प्रजिअ सापकोटासँग व्यवसायी र बैङ्कलाई एकै ठाउँमा बसेर छलफल गर्ने वातावरण मिलाइदिन आग्रहसमेत गरे। व्यावसायिक सुरक्षा नहुँदा उद्योगी र व्यवसायी पलायन भइरहेको, चोरी, डकैती बढेको, विद्युत्को अभावजस्ता समस्या कायमै रहेकाले व्यावसायिक सुरक्षामा ध्यान दिनुपर्ने माग व्यवसायीको थियो।
सुर्खेत उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धनबहादुर रावतले सुरक्षाको वातावरण नहुँदा व्यवसायीले बेलुका ६÷७ बजे नै पसल बन्द गर्नुपर्ने अवस्था रहेको बताए । उनले सशस्त्र द्वन्द्वको समयदेखि हालसम्म पनि ६÷७ बजे नै पसल बन्द गर्नुपर्ने अवस्था रहेकोले सो समय केही खुला बनाउन माग गरे ।
८ नबज्दै पसल बन्द गराउँदै प्रहरी नै हिँड्ने गरेकाले कम्तीमा १०÷११ बजेसम्म पसल खुला राख्न दिनुपर्ने पूर्वअध्यक्ष रावतले बताए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले व्यावसायिक सुरक्षाका लागि प्रशासन गम्भीर रहेको बताए । उनले शान्तिसुरक्षा, अमनचैनको काम प्रशासनको भएकाले उद्योगी व्यवसायीलाई निश्चिन्त रहन आग्रह गरे ।
पसल खोल्न अनुमति
यसैबीच सुर्खेतमा अबदेखि राति ११ बजेसम्म पसल खोल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले मङ्गलबार एक सूचना प्रकाशित गरी राति ११ बजेसम्म पसल खोल्न पाइने जानकारी गराएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लद्वारा जारी सूचनामा पूर्ण व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधि–२०७९ सम्बन्धमा क्लब, डिस्को, डान्स, दोहोरी, रेस्टुरेन्ट, लाउन्ज तथा बारका मदिरा बिक्री वितरण गर्ने पसल, होटल, रेस्टुरेन्ट, कफी सप, खाजा तथा खाना खुवाउने पसल र पान पसललगायत यस्तै प्रकृतिका सेवा व्यवसाय राति ११ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको उल्लेख छ।
गाेरखापत्र
युग संवाददाता । । २५ माघ २०७९, बुधबार ११:०४