सल्यानमा दुई मोटरसाइकल ठोक्किँदा ६ जना घाइते

सल्यान,२५ माघ ।

सल्यानमा बुधबार राति दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दुईको अवस्था गम्भीर रहेको छ । श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ७ प ३२६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ६ प १५६३ नम्बरको मोटरसाइकल राप्ती राजमार्गअन्तर्गत शारदा नगरपालिकाको २ जोगदेखोला नजिकै आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा सिद्धकुमाख गाउँपालिका ३ का २४ वर्षीय सुरेश नेपाली, शारदा नगरपालिका ७ का अर्जुन बुढाथोकी, १५ का शिशिर बुढाथोकी, हल्चौरका १८ वर्षीय हिमाल बुढाथोकी, गिठाचौरका १८ वर्षीय डिल्लीराज बोहरा, शारदा नगरपालिका २ पटनेरीका १४ वर्षीय अनिल शाही रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

घाइतेको शारदा नगरपालिका १ श्रीनगरस्थित कान्तिपुर, कर्णाली अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका अर्जुन बुढाथोकी, हिमाल बुढाथोकीलाई थप उपचारका लागि नेपालगन्ज लैजाने तैयारी भइरहेको उनले जानकारी गराए ।

उनका अनुसार एक मोटरसाइकलमा तीन जना सवार थिए । विपरीत दिशाबाट आएकै कारण मोटरसाइकल दुर्घटनामा परेको देखिए पनि दुर्घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया