राजधानी पूर्वाधारयुक्त बनाइने

सुर्खेत,२२  माघ ।

कर्णाली सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरको स्थलगत एकीकृत विकास योजना निर्माण गर्ने भएको छ। वीरेन्द्रनगरलाई व्यवस्थित, आकर्षक र पूर्वाधारयुक्त नगरको रूपमा विकास गर्न प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने भएको हो।

सरकारले वीरेन्द्रनगर नगरपालिकासँग सहकार्य गरी नगरको स्थानगत एकीकृत विकास योजना बनाउने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको यही माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले बताए ।

उनका अनुसार एकीकृत विकास योजना निर्माणका लागि निर्देशक समिति निर्माण गरिएको छ। विषयगत क्षेत्रका विज्ञहरूको सुझाव सङ्कलन गरी वीरेन्द्रनगरको एकीकृत विकास योजना निर्माण गरिँदै योजनालाई अघि बढाउन भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्रीहरूको निर्देशक समिति बनाइएको हो।

उक्त समितिमा सम्बन्धित मन्त्रालयका सचिवहरूलाई पनि राखिएको छ। त्यस्तै सो समितिमा प्राविधिक सहजीकरण कार्यान्वयन टिम पनि बनाइएको छ। मन्त्री शाहले वीरेन्द्रनगरको एकीकृत विकास योजनाका लागि सहरी विकासका विज्ञहरूको टिमसँग प्राविधिक सुझाव लिने गरी तयारी गरिएको जानकारी दिए ।

एकीकृत विकास योजना निर्माण विषयमा प्रदेश सरकारले विभिन्न विषयगत क्षेत्रका विज्ञहरूको सुझाव सङ्कलन गर्ने भएको हो। प्राप्त सुझावका आधार ठोस योजना निर्माण गरिने मन्त्री शाहको भनाइ छ।

विकास योजना कार्यान्वयनका लागि बजेटको प्रबन्ध प्रदेश सरकारले गर्नेछ भने योजनाको रेखदेख, अनुगमन र समन्वय वीरेन्द्रनगर नगरपालिकाबाट हुनेछ। अहिले प्रदेश राजधानीका भए पनि यहाँ सडक, सार्वजनिक यातायात र प्रविधिको विकास हुन सकेको छैन। सोही अवस्थालाई मध्यनजर गर्दै कर्णाली सरकारले स्थानगत एकीकृत विकास योजना बनाएर वीरेन्द्रनगरलाई सुविधायुक्त सहरको रूपमा विकास गर्न लागेको हो

गाेरखापत्र 

तपाईको प्रतिक्रिया