टिमुर उत्पादन आधा घट्यो

सल्यान,२२ माघ ।

टिमुरको व्यवसायिक खेती गर्दै आइरहेका बन्गाडकुपिण्डे नगरपालिका–९ सेराका पूर्णबहादुर बुढाथोकीले झन्डै २० रोपनी जग्गामा टिमुरका करीव १ हजार बोट लगाएका छन् । जसमध्ये ८ सय बोटले उत्पादन दिन्छन् । गत वर्ष उनले साढे १२ क्विन्टल टिमुर बिक्री गरी झण्डै ५ लाख रुपैयाँ आम्दानी गरे ।

गत वर्ष उनको बारीबाटै ४ हजार रुपैयाँ प्रतिक्विन्टल टिमुर बिक्री भएको थियो । उनको बारीमा अहिले बढीमा ३ क्विन्टल मात्र टिमुर उत्पादन भएको छ । बन्गाडकुपिण्डे नगरपालिका–१२ निगालचुलाका डिल्लीबहादुर घर्तीले पनि आफ्नो पाखो बारीमा झण्डै ४ सय टिमुरका बोट लगाएका छन् । गत वर्ष उनले साढे ७ क्विन्टल टिमुर बिक्री गरी ३ लाख रुपैयाँ आम्दानी गरे । यो वर्ष उनको बारीबाट एक क्विन्टल पनि टिमुर उत्पादन भएन ।

‘यो वर्ष टिमुर नै फलेन, टिमुर नफलेपछि जीविकोपार्जनमै समस्या हुने देखियो,’ उनले भने, ‘यही व्यवसायबाटै ६ जनाको वर्षभरिको खर्चको जोहो हुन्थ्यो, २ छोरालाई दाङमा पढाइरहेको थिए ।’ उनले अन्नबाली मासेर टिमुर उत्पादनमा लागे पनि यो वर्ष उत्पादन नहुँदा परिवार कसरी पाल्ने भन्ने चिन्ता लागेको बताए ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष टिमुर उत्पादन झण्डै ५० प्रतिशत घटेपछि जिल्लाका किसानलाई जीविकोपार्जनमा समस्या भएको छ । जिल्लाका १ सय ८ किसानले फार्म दर्ता गरेरै व्यावसायिक रुपमा टिमुर खेती गर्दै आइरहेको कार्यालयको तथ्यांक छ ।

पर्याप्त वर्षा नहुँदा र ढुसी रोगका कारण टिमुर उत्पादन घटेको कार्यालयका प्राविधिक रोशन शर्माले बताए । उनका अनुसार फल फल्ने बेलामा वर्षा नभएको र फलेका फल पाक्ने समयमा अत्यधिक वर्षा भएका कारण ढुसीको प्रकोप देखिएको हो ।

बारीमा लगाएको करिब १ सय बोटमा उत्पादन नै नभएपछि यो वर्ष मसलाको रुपमा प्रयोग गर्ने टिमुरसमेत नभएको सिद्धकुमाख गाउँपालिकाको माझखर्कका नेत्रबहादुर बस्नेतले बताए । उनले पनि टिमुरबाट गत वर्ष १ लाख रुपैयाँ आम्दानी गरेका थिए । ‘अलिअलि टिमुर फलेको थियो, सबै चराले खाईसके,’ उनले भने, ‘टिमुर बिक्री गरेको रकमबाट नुन, तेल र चामलको खर्च जुट्थ्यो, यसपालि त घरखर्च चलाउनै मुस्किल हुने देखियो ।’

यो वर्ष जिल्लाका सामुदायिक वनहरूमा उत्पादन हुने टिमुरको उत्पादनसमेत घटेको डिभिजन वन कार्यालयका प्राविधिक विजय पुलामीले बताए । उनका अनुसार अहिले जिल्लाभरि उत्पादन भएको टिमुरको परिणामबारे तथ्यांक संकलन भइरहेको छ । गत वर्ष ५ सय मेट्रिक टन टिमुर उत्पादन भएको थियो ।

त्यसमध्ये करिब २ सय मेट्रिक टन विभिन्न सामुदायिक वनमा उत्पादन भएको र ३ सय मेट्रिक टन टिमुर किसानले उत्पादन गरेको उनले जानकारी दिए । उनले यो वर्ष करिब ४० देखि ५० प्रतिशत उत्पादनमा घटेको अनुमान गरे । जिल्लामा टिमुरबाट बर्षेनि १६ देखि २० करोड रुपैयाँ भित्रिने गरेको उनको भनाइ छ । उनका अनुसार सल्यानमा उत्पादित टिमुर नेपालका प्रमुख सहरसहित भारत र फ्रान्समा समेत जाने गरेको छ ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया