विद्यालय गाभ्दै स्थानीय सरकार

सुर्खेत,२२ माघ ।

सुर्खेतका स्थानीय तह विद्यालय ‘मर्ज’ गर्ने अभियानमा जुटेका छन् । विद्यालयहरूलाई पूर्वाधार र जनशक्ति पु¥याई गुणस्तर कायम गर्न विद्यालय गाभ्न थालिएको हो । पालिकाहरूले कम विद्यार्थी भएका विद्यालयलाई बढी विद्यार्थी भएका विद्यालयमा गाभेर पठनपाठन सञ्चालन गरिहेका छन् ।

सिम्ता गाउँपालिकाले १७ वटा सामुदायिक विद्यालय गाभेर ८ वटा कायम गरेको छ । विद्यार्थी र शिक्षक संख्या कम भएपछि पालिकाले २०७४ सालबाटै विद्यालय मर्ज कार्यक्रम सुरु गरेको शिक्षा शाखा प्रमुख बुद्धिबहादुर गौतमले बताए । उनका अनुसार विद्यार्थी–शिक्षकको अनुपात नमिलेका विद्यालयहरू समायोजन गरिएको छ । हाल ६० विद्यालय रहेको पालिकाले अनावश्यक खर्च घटाउन पनि विद्यालय मर्ज गरेको उनको भनाइ छ ।

पालिकामा अहिले सञ्चालित सामुदायिक विद्यालयहरूमा एक शिक्षक बराबर ४५ विद्यार्थी हुनुपर्ने प्रावधान बनाइएको छ । अहिले पनि शिक्षक र विद्यार्थीको अनुपात नमिलेका विद्यालयहरू सञ्चालनमा छन् ।

‘शिक्षक–विद्यार्थी अनुपात, शिक्षक दरबन्दी र एक विद्यालयदेखि अर्कोसम्मको दूरीलाई आधार मानेर समायोजनको काम गरिरहेका छौं,’ उनले भने, ‘पालिकाका दुर्गम ठाउँका विद्यालयलाई भने एक वर्षभित्र विद्यार्थी संख्या बढाउने मौका पनि दिइएको छ ।’

यो वर्ष थप चार वटा विद्यालय मर्ज गर्ने गाउँपालिकाको योजना छ । गुर्भाकोट नगरपालिकाले एउटा विद्यालयलाई मर्ज गरिसकेको छ । अन्य विद्यालयलाई मर्ज गर्न अध्ययनको काम भइरहेको शिक्षा शाखा प्रमुख पदमबहादुर विकले बताए । ‘कुनै विद्यालयमा विद्यार्थी संख्या कम छ र शिक्षक बढी छन्, कुनैमा शिक्षक कम छन् विद्यार्थी संख्या बढी छ,’ उनले भने, ‘त्यसमा एकरूपता ल्याउने प्रयास भइरहेको छ ।

, जसका लागि शैक्षिक कार्ययोजनासमेत बनाइरहेका छौं ।’ विद्यालय मर्ज गर्दा शैक्षिक गुणस्तर पनि माथि उठ्ने उनले बताए । लेकबेंसी नगरपालिकाले शिक्षासम्बन्धी ऐन–२०७८ जारी गरिसकेको छ । स्थानीयस्तरमा शिक्षा कार्यविधि बनाएर विद्यालय समायोजन गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले बताए । आवश्यकताका आधारमा विद्यालय गाभ्ने तयारी भइरहेको उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाले पनि विद्यालय मर्जको कामलाई अघि बढाएको छ । ५ वटा विद्यालयलाई पालिकाले यसअघि नै मर्ज गरिसकेको छ । अन्य विद्यालयको विषयमा पनि अनुगमन र अध्ययनको काम भइरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले बताए । ‘विद्यालय र वडाबाट सिफारिस भइआएपछि हामी अनुगमन र अध्ययन गर्छौं,’ उनले भने, ‘त्यसपछि मर्ज गर्नुपर्ने देखियो भने गर्छौं, यो वर्ष पनि ३ वटा विद्यालय मर्ज गर्ने कि भन्ने बहस भइरहेको छ, तर टुंगोमा पुगिसकेका छैनौं ।’

१० वर्षीय शिक्षा क्षेत्र योजना बनाएर नगरपालिकाले शिक्षामा काम गरिरहेको उनले बताए । सामुदायिक र संस्थागत दुवै विद्यालयलाई मर्ज गर्न सकिने प्रावधान यसमा रहेको उनको भनाइ छ । विद्यालय मर्ज गर्दा शिक्षक व्यवस्थापनदेखि लगानीको पनि सही व्यवस्थापन हुने उनले बताए । नियमन र व्यवस्थापन गर्न पनि सहज हुने भएकाले विद्यालय मर्जको अवधारणा ल्याइएको नगरपालिकाले जनाएको छ ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया