कालीकोटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

कालीकोट,२१ माघ ।

कालीकोटको तिलागुफा–५ खल्लागाडमा शुक्रबार दिउसो अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हिमा गाउँबाट जुम्ला र कालीकोटको सिमाना नाग्म बजार हुँदै जुविथाको गाल्जे आउँदै गरेको भे १ ह ५९२२ न. को अटो खल्लागाड मोडमा दुर्घटना भएको कालीकोटका डिएसपी जयश्वर रिमालले बताए ।

कर्णाली राजमार्गको जुविथा गाल्जे नाग्म सडकखण्डमा पर्ने खल्लागाड मोडमा अनियन्त्रित भई अटो दुर्घटना हुँदा जुम्ला हिमा–६ का ३५ वर्षीय विर्षबहादुर शाहीको मृत्यु भएको छ भने उनकी पत्नी २९ वर्षीया तारा शाही र ५ वर्षीय छोरा गौरव घाइते छन् । घाइतेलाई थप उपचारका लागि जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

लास पनि पोस्टमार्टमका लागि जुम्ला पठाइएको डिएसपी रिमालले बताए । घटनास्थलबाट मृतकको शव प्रहरीले उठाएर एम्बुलेन्समा राखेको भन्दै घटनास्थल केही समय तनावग्रस्त भएको थियो ।

अटो चालक जुम्ला हिमा–४ का ऐमान बुढालाई खल्लागाड प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । तीव्रगतिका कारण मोडमा अटो पल्टिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यहाँको तिलागुफा–६ गाल्जेमा गत माघ १५ गतेदेखि सत्यदेवीको सम्झानामा लाग्ने १२ वर्षे मेला हेर्न शाही परिवार जुम्लाबाट आउँदै थिए । मेला २२ गतेसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया