मालपोत र नापी कार्यालय उद्घाटन भएदेखि बन्दको बन्दै

रुकुम पश्चिम,२० माघ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा स्थापना गरिएका मालपोत र नापी कार्यालय उद्घाटन भएदेखि नै बन्द अवस्थामा रहेका छन् । स्थानीयस्तरमै मालपोत र नापी सेवा दिने उद्देश्यले चार महिना पहिला खोलिएका यी दुबै कार्यालयमा अहिले ताला लगाईएको छ ।

गत असोज १० गते उद्घाटन गरिएका मालपोत र नापी कार्यालय हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । स्थानीयहरुले भने कार्यालयको उद्घाटन गरेर मात्रै छोडिएको गुनासो गरेका छन् । जिल्लाको आठबीसकोट र बाँफीकोटका केहि स्थान कार्यक्षेत्र रहने गरी दुई कार्यालय उद्घाटन गरिएको थियो ।

तत्कालिन कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री रातो कामीले दुबै कार्यालयको उद्घाटन गरेका थिए । कार्यालय उद्घाटन भएको चार महिना बितिसक्दा पनि साइनबोर्ड राख्ने कामबाहेक केहि उपलब्धि भएको छैन ।

मालपोत कार्यालय रुकुमपश्चिमका कार्यालयका प्रमुख ओमबहादुर केसीले बजेट बिनियोजन नहुँदा सेवा सञ्चालन हुन नसकेको बताए ।
उनले विभागबाट कार्यालय सञ्चालनका लागि कुनैपनि परिपत्र नआएकोले कहिले सञ्चालन हुन्छ भन्नेबारेमा अन्योलता नै रहेको जानकारी दिए ।आठबीसकोटस्थित मालपोत र नापी कार्यालयमा जिम्मेवारी तोकिएका कर्मचारीहरु आफ्नै दरबन्दी रहेको कार्यालयमै फर्किएर काम गरिरहेको उनले बताए ।

आठबीसकोट नगरपालिका –९ मा भाडाको घरमा कार्यालय स्थापना गरी केहिदिनमै सञ्चालनमा आउने आश्वासन देखाएपनि अहिलेसम्म कार्यालय सञ्चालनमा नआएको स्थानीय कमल शाहले बताए । कार्यालय उद्घाटनको समयमा यहाँका सेवाग्राहीहरु जग्गा सम्बन्धी कामको लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेको बताईएतापनि सदरमुकाम नै धाउन बाध्य भएको उनकोे भनाई रहेको छ ।

रुकुम पश्चिमको आठबीसकोटमा नापी र मालपोतको कार्यालय सञ्चालन गर्ने भनेर मन्त्री परिषद्बाट निर्णय भएपछि नै कार्यालयको उद्घाटन गरिएको थियो । स्थानीयस्तरमै जग्गा सम्बन्धि हरेक कामकाज गराउन पाउने भएपछि खुशी भएका सर्वसाधारणहरु चार महिनासम्म पनि सेवा सुरु नहुँदा निराश भएका छन् ।

तपाईको प्रतिक्रिया