‘ऋण मिनाहा’ गराउने भन्दै रकम संकलन

सिर्जना बुढाथोकी

सुर्खेत,१८ माघ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका वडा–६ की कमला वि.कले सानोतिनो व्यवसाय गर्ने सोच बनाएर गाउँकै एक सहकारीबाट करिब ८ महिना पहिले ८० हजार ऋण लिइन् । उनले अरु व्यापार गर्नका लागि लगानी धेरै नभएको भन्दै कुखुरा पालन गर्ने योजना बनाइन् ।

कमलाले सहकारीबाट लिएको ८० हजार ऋणले सामान्यखालको कुखुराको खोर निर्माण गरेर ५० वटा कुखुरा पाल्न गर्न शुरु गरिन् । तर सोचेअनुसार चल्ला नसप्रिएपछि उनलाई सहकारीको ऋण फाँसो भयो ।

“घरमा कमाउने अरु कोहि छैन्, यत्ति भएपनि घर चलाउन भैहाल्ला भन्ने सोचेर ऋण काढिहालें”, उनले भनिन्,“खै के भयो कुन्नी कुखुराहरु मर्दै गए, बचेका केहि बेचेपनि साँवासमेत उठेन ।” चल्ला पाल्न लिएको ऋण तिर्नै अहिले सकस भैरहेको र व्यवसाय कसरी अगाडि बढाउने भन्ने मानसिक तनाव भईरहेको उनले सुनाइन् ।

गुर्भाकोटकै वडा–८ की रत्ना वि.कले पनि आपूm सदस्य रहेको समूहबाट एक लाख ऋण चलाईन् । उनलेपनि खुद्रा पसल गर्ने योजनाले ऋण निकालेको भएपनि सोचे अनुसार व्यापार नहुँदा ऋणको भार मात्र थपियोे ।

गाउँघरका विभिन्न समूह, सहकारी अनि लघुवित्तबाट ऋण सापट लिएर शुरु गरेको व्यापार व्यवसाय नै चौपट भएपछि लिएको ऋण निल्नु न ओकल्नु भइरहेका बेला गाउँ पसेका दुई अपरिचित व्यक्तिले ऋण मिनाहा गरिदिने भन्ने रकम संकलन गर्न थालेको पाइएको छ ।

केहि दिनअघि मात्र गुर्भाकोट नगरपालिकाको वडा–६,७ र ८ मा पसेका दुई जना अपरिचित व्यक्तिले कमला र रत्ना जस्ता थुप्रै ऋणीहरुको ऋण मिनाहा गराउने भन्दै रकम संकलन तीव्र पारेको बताइएको छ । उनीहरुले एउटा वडाबाट करिब ५ देखि ७ सय जनाको ऋण मिनाहा गराउने भन्दै ऋण मिनाह गराउनका लागि आन्दोलन र संघर्ष गर्नुपर्ने भएकाले प्रति व्यक्ति पाँच सयदेखि सातसय रुपैयाँसम्म उठाउने गरेको बुझिएको छ ।

गाउँ पसेका दुई जना व्यक्तिले ‘लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नेपाल’ लेखेको लेटरप्याड मात्रै लिएर हिंडेको र पैसा उठाएपपछि कुनै रसिद वा बिलभर्पाइ भने नदिंदापनि गाउँलेले उनीहरुको भर परेर ऋण मिनाह हुने विश्वास मानेका छन् ।

बाहिरबाट आएका अपरिचित व्यक्तिले अनाधिकृत रुपमा पैसा उठाएको जानकारी पाएपछि वडा कार्यालयले यस विषयमा जानकारी लिन वडावासीलाई बोलाएर जानकारी एवं सचेत गराएको गुर्भाकोटको ६ नंं वडा कार्यालयले बतायो ।
वडाध्यक्ष गोविन्द वलीले कुनै जानकारी बिना गाउँमा आएका जो कोहिको कुरामा विश्वास नगर्न भन्दै नागरिकलाई सजग बनाउन खोज्दा वडावासी उल्टै आफूमाथि खनिएको उनले प्रतिक्रिया दिए ।

“गाउँमा ऋण नलिने धेरै छन् ? मैले पनि ऋण चलाएको छु, तर यसरी कोहि व्यक्ति आएर अर्काको ऋण तिरिदिंदैन । उनले भने, यदि त्यसरी कोहि आउँछ भने सरासर ठगी हो, सबै सजग हुनुस्भन्दा पनि कसैले पत्याउनुभएन ।’

वडावासीलाई बोलाएर छलफल गराउँदा उल्टै आफूहरुलाई ‘हाम्रा ऋण तिरिदिने कुरामा तपाईहरु नबोल्नुस्’ भन्दै आन्दोलननै गर्ने जस्तो गरेपछि यस विषयमा बोल्न र थप कारवाही अघि बढाउन नसकिएको उनको गुनासो छ । भएभरका सबै ऋणीको ऋण तिरिदिन्छु भनेर आएका व्यक्तिको पहिचान गरी वडामा ल्याउन आग्रह गर्दापनि उनीहरु कसैको सम्पर्क र चिनजानमा ती व्यक्तिहरु नरहेको वडाध्यक्ष वलीले बताए ।

गुर्भाकोट नगरपालिकाका वडा–६, ७ र ८ मात्रै नभएर हरेक वडाका प्रत्येक घरले कहि कतैबाट ऋण लिएरै चलाएको थाहा पाएरै ठगी गर्ने नियतले यस्ता व्यक्ति गाउँ प्रवेश गरेको उनको भनाई छ । पैसा उठाएको विषयमा जानकारी पाएपछि ६ नं. वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो । छानविनका लागि प्रहरी जाँदा यस विषयमा कोहि नबोल्न भन्दै स्थानिय नागरिकलेनै विरोध गरेकाले प्रहरीले कसैलाई पक्राउ र कारवाही गर्न नसकेको बताइएको छ ।

सबै स्थानीयको ऋण तिरिदिने कुरामा प्रहरी र स्थानीय सरकार नबोल्न भनेपछि आफुहरुलाई समस्या भएको गुर्भाकोट इलाका प्रहरी कार्यालय मेहलकुनाका वरिष्ठ नायव निरीक्षक कृष्ण खड्काले बताए । ऋण मिनाहका लागि आन्दोलन गर्ने भन्दै संघर्ष समिति गठन गरेर वीरेन्द्रनगर आउने जाने भाडा र बाटोखर्च भन्दै पैसा उठाएको भन्ने जानकारी आपूmहरुले पाएको उनले बताए ।

“हामीले यो कुरा थाहा पाउनासाथ स्थानीयसंग बुझ्दा बाहिरबाट आएको व्यक्तिको बारेमा कुनै जानकारी नदिई आफैले स्वतःस्र्फुत पैसा उठाएको भन्ने जवाफ पायौं”, उनले भने,“सरकारले ऋण मिनाह गर्छ रे भन्दै आफैै समिति बनाएर पैसा उठाएका हौ, यस विषयमा तपाईहरु नबोल्नुस् भनेपछि हामी फर्कियौ ।”

तपाईको प्रतिक्रिया