जुनीचाँदेमा औषधि अभाव

जाजरकोट,१७ माघ ।

जिल्लाको जुनीचाँदे गाँउपालिकामा औषधिको अभाव भएको छ। पालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो। गाउँपालिकाले चालू आर्थिक वर्षमा औषधि खरिद नगर्दा सिटामोललगायतका अत्यावश्यक औषधि अभाव भएको हो। गतवर्ष पालिकाले खरिद गरेको र प्रदेशमार्फत आएको औषधि केही मौज्दात रहेकाले जेनतेन गत मंसिरसम्म पुग्यो।

यस वर्ष समयमै औषधि खरिद नगर्दा पालिकाका २२ वटा स्वास्थ्य संस्थाहरूमा सिटामोलसमेत पाइन छोडेको हो। जुनीचाँदेमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ती वटा स्वास्थ्यचौकी, सातवटा आधारभूत स्वास्थ्य केन्द्र र ११ वटा सामुदायिक स्वास्थ्य एकाइहरू छन्।

ती सबै स्वास्थ्य संस्थामा औषधिको चरम संकट परेको स्वास्थ्यकर्मी बताउँछन्। ‘औषधि नभए पनि कार्यालय खोल्नै पर्यो’ एक स्वास्थ्यकर्मीले भने, ‘हामीसँग सिटामोल समेत छैन, कोही बिरामी आए निजी मेडिकलमा जान भन्छौँ।’

औषधि किन्न नसक्ने विपन्न परिवारका बिरामीहरू रित्तो घर फर्कने गरेका छन्। ‘दमको बिरामीले सताएपछि औषधि लिन स्वास्थ्य चौकी कोर्ताङ गएकी जुनीचाँदे–११ का कैलो नेपाली रित्तो हात फकिनुपर्यो

। ‘अस्पतालमा केई औषधि नाई भने डाक्टरले मेडिकलबाट किनेर लिनु भनेका थिए तर आफूसँग पैसा नाई क्याले किन्ने ?’ उनले भने। प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा भेटिएका जुनीचाँदे–४ का सकरे खड्काले स्वास्थ्य केन्द्रले सिटामोलसमेत नदिएको गुनासो गरे। कैलो र सकरे जस्तै स्वास्थ्य संस्थामा औषधि नभएपछि बिरामीहरू रित्तो हात फर्कने गरेका छन्। चिसोका कारण नागरिकहरू ज्वरो र रुघाखोकीबाट पीडित छन्।

स्वास्थ्य शाखा प्रमुख प्रेम शाहीले गाउँपालिकामा औषधि अभाव भएको स्वीकार गरे। ‘समयमा बजेट उपलब्ध नहुँदा औषधि खरीद गर्न ढिलाइ भएको हो,’ उनले भने, ‘औषधि आइसकेको छ, व्यस्तताका कारण वितरण गर्न सकिएको छैन।’ पालिकामा औषधि आए पनि कार्यालय प्रमुखको व्यस्तताका कारण वितरण गर्न ढिलाइ भएको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत घरायसी कामले सुर्खेतमा छन्। ‘प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा स्वास्थ्य संस्थालाई औषधि हस्तान्तरण गर्ने गरिएकोले ढिलाइ भएको हो, केही दिनमै सबै स्वास्थ्य संस्थामा औषधि पुग्छ,’ शाहीले भने।

एक्सरे मेसिन प्रयोगविहीन

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्सरे मेसिन प्रयोग विहीन भएको छ। पाँच वर्षअघि खरिद गरिएको एक्सरे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन। स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्सरे मेसिन प्रयोगमा आउन सकेको छैन्। केन्द्रलाई पाँचवर्ष पहिला राष्ट्रिय बीमा संस्थान काठमाडौंले १६ लाखको एक्सरे मेसिन दिएको थियो।

सोलार पावरबाट एक्सरे मेसिन चलाउन नसकेपछि प्रयोगमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका प्रमुख बलबहादुर शाहीले बताए। ‘विद्युत् अभावकै कारण एक्सरे मेसिन प्रयोगमा ल्याउन सकिएको छैन’ उनले भने, ‘विद्युत नआउँदासम्म जेनरेटरबाट मेसिन चलाउन सकिन्छ।’ जेनेरेटर र भवनका लागि पालिकासँग माग गरिएको उनले बताए। एक्सरे सेवा नहुँदा यहाँका बिरामी महँगो रकम खर्चेर नेपालगञ्ज र सुर्खेत जान बाध्य छन्।

अन्नपुर्ण 

तपाईको प्रतिक्रिया