आपत्–विपद्मा  सेनाकै सहारा

पुनम वि.सी.
सुर्खेत, १६ माघ ।

प्राकृतिक विपद्लगायतमा समयमा खोज, उद्धार तथा नागरिक सहायतालगायतका जनहितका कार्यमा नेपाली सेना सधै सक्रिय रहन्छ । चालू आर्थिक वर्षमा भएको अविरल वर्षाका समयमा नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरले हेलिकप्टरमार्फत विपद्मा परेका १४ जनाको उद्धार गरेको थियो ।

यस अवधिमा दुई सय १२ जना नेपाली सेनाको जनशक्तिलाई परिचालन गर्दै १० स्थानमा अवरुद्ध सडक खुलाइएको उत्तर पश्चिम पृतना हेडक्वार्टरले जनाएको छ । यस समयमा सेनाले एक सय ४७ क्विन्टल राहत सामाग्री समेत ढुवानी गरेको छ।

अविरल वर्षाका कारण अवरुद्ध सडकमध्ये कालिकोट जिल्लाका सात स्थान र दैलेख, मुगु, बाँकेका एक–एक स्थानमा सेनाले बाढीपहिरोका कारण अवरुद्ध भएको सडक खुलाएको छ । यसैगरी मुगुमा बाढीले पुल बगाएपछि सेनाले काठको पुल समेत निर्माण गरेको थियो ।

यसैगरी नेपाली सेनाले कर्णालीमा ४१ जना सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत नेपाली सेनाले कर्णालीका आठ जिल्लाहरुबाट सुत्केरी महिलाहरुको हेलिकप्टर मार्फत उद्धार गरेको हो ।

सुर्खेतस्थित नेपाली सेनाको पृतना हेडक्वार्टरले कर्णाली प्रदेशका २४ जना, सुदूरपश्चिम प्रदेशका १६ जना र लुम्बिनी प्रदेशका एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको जनाएको छ । उद्धार गरिएका सुत्केरीहरुको जिल्लागत संख्यात्मक विवरणमा डोल्पाका चार जना, मुगुका दुई जना, दैलेखका ६ जना, हुम्लाका दुई जना, जुम्लाका एक जना, कालिकोटका तीन जना, जाजरकोटका पाँच जना र रुकुम पश्चिमका एक जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेशतर्फ भने बैतडीका एक जना, डोटीका दुई जना, डडेल्धुराका एक जना, बाजुराका तीन जना, दार्चुलाका चार जना र अछामका चार जना सुत्केरी महिलाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । लुम्विनी प्रदेशको रुकुमपूर्वबाट दुई जना सुत्केरी महिलाको उद्धार गरिएको छ । यो तथ्यांक चालू आर्थिक वर्ष २०७९÷०८० को हालसम्मको हो ।

यसैगरी नेपाली सेनाले कर्णालीका उपल्लो भूभागमा हेलिकप्टरका लागि हेलिप्याड समेत निर्माण गरेको छ । कालिकोट मुगु, हुम्ला र डोल्पाका स्थानीय गाउँहरुमा सेनाले हेलिकप्टरको सहज अवतरणका लागि चालू आर्थिक वर्षमा चार स्थानमा हेलिप्याड निर्माण गरेको उत्तर पश्चिम पृतना हेडक्वार्टरका पृतनापति हिरालाल जोशीले जानकारी दिए । भौगोलिक कठिन बनावटका कारण सो क्षेत्रमा हेलिकप्टर उद्धार कार्य सहज बनाउन सेनाले हेलिप्याडहरु निर्माण गरेको हो ।

चालू आर्थिक वर्षको हालसम्म चार स्थानमा हेलिप्याड निर्माण गरिएपनि कर्णालीका बाँकी स्थानहरुमा समेत सेनाले हेलिप्याड निर्माण कार्य गरिरहेको उत्तर पश्चिम पृतना हेडक्वाटरका महासेनानी राजेन्द्रमणी गिरीले जानकारी दिए । हाल कालिकोटको पचालझरना गाउँपालिका–६ स्थित मइ गाउँमा हेलिप्याड निर्माण सम्पन्न भईसकेको छ । यसैगरी हुम्लाको नाम्खा गाउँपालिका–४ स्थित यालवाङ गाउँ, मुगुको सोरु गाउँपालिका स्थित सोरुगाउँ र डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित रिग्मो गाउँमा सेनाले हेलिप्याड निर्माण गरिसकेको हो ।

एकताको लागि दौड्’

नेपाली सेनाले वीरेन्द्रनगरमा एकताको लागि दौडको नाम दिएर दौड आयोजना गर्ने भएको छ । राष्ट्रिय एकताको भावना अभिवृद्धि तथा सेनाद्वारा विगतमा आयोजना गरिएको ‘रन फर युनिटी’ कार्यक्रमलाई निरन्तरता दिदै सेनाले लामो दुरिको दौड प्रतियोगिता आयोजना गरेको छ ।

माघ २१ गते शनिबारका दिन वीरेन्द्रनगरमा आयोजित दौड प्रतियोगितामा खासगरी पाँच किलोमिटर र १० किलोमिटरका दौड प्रतियोगिताहरु हुने बताइएको छ । पाँच किलोमिटर दूरिको ‘वाकाथन’ दौड प्रतियोगितामामा सरकारी कर्मचारी, प्रदेश सरकार तथा स्नानीय तहका पदाधिकारी, नेपाली सेनाका सकलदर्जा, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय नागरिकलगायतको सहभागिता आह्वान गरिएको छ ।

यसैगरी १२ कक्षासम्म अध्ययनरत विद्यार्थीका लागि महिला र पुरुष गरी छुट्टाछुट्टै पाँच किलोमिटर दूरिको दौड प्रतियोगता रहेको छ । १० किलोमिटरको दौडतर्फ पुरुष र महिलाका लागि छुट्टाछुट्टै प्रतियोगिता आयोजना हुने सेनाले जनाएको छ । प्रतियोगितामा एक हजारजनाको सहभागिता रहने अपेक्षा गरिएको सेनाको भनाई छ ।

वीरेन्द्रनगर स्थित खुल्ला मञ्चमा आयोजना हुने दौड प्रतियोगितामा सेनाका गतिविधिहरु प्रर्दशन, साँस्कृतिक कार्यक्रम, शैक्षिक सामाग्री तथा फोटो प्रर्दशनीलगायतका कार्यक्रमहरु रहेको उत्तर पश्चिम पृतना हेडक्वाटरले जनाएको छ ।

दौड प्रतियोगितामा पाँच किलोमिटरतर्फका विजेता, पहिलो–दोस्रो र तेस्रोलाई क्रमश् १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार राशी र प्रमाण पत्र राखिएको छ । १० किलोमिटर तर्फका विजेतालाई क्रमश् २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार राशीसहित प्रमाण पत्र प्रदान गरिने सेनाले जनाएको छ । पाँच किलोमिटरतर्फको ‘वाल्काथन’ दौडमा सेनाले पुरस्कार भने राखेको छैन ।

तपाईको प्रतिक्रिया