शिक्षण अस्पताल बनाउने प्रतिबद्धता

सुर्खेत,१४ माघ ।

नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न पहल गर्ने बताएका छन्। बिहीबार कर्णाली प्रदेश अस्पतालको अनुगमन गर्दै खड्काले यस्तो बताएका हुन्।

प्रदेश अस्पतालले पछिल्लो समय आफ्नो स्वरूप बदलेको र सेवा पनि विस्तार गरेको भन्दै उनले अब यसलाई शिक्षण अस्पताल बनाउनुपर्ने बताए। उनले भने ‘प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत प्रमुख दलका नेताहरूसँग समन्वय गरेर कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउन म पहल गर्छु, यसले कर्णालीको स्वास्थ्य क्षेत्रमा सहयोग पुग्नेछ।’


उनले यसका लागि प्रदेशभित्रका १० वटै जिल्लाका २४ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका प्रदेश सांसदहरूसँग पनि छलफल गर्ने बताए। ‘कर्णालीवासीले उपचारकै लागि ठूलो धनराशि खर्चिने गरी अन्य प्रदेशका अस्पताल र संघीय राजधानी जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ, यसका लागि प्रदेश अस्पताललाई मुलुककै सुविधासम्पन्न अस्पताल बनाउनुपर्छ’ उनले भने।

त्यस क्रममा प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले अस्पतालको सेवा र अन्य अवस्थाका विषयमा जानकारी गराएका थिए। अस्पतालको विकासका लागि आफूले केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउने र आवश्यक स्रोत तथा जनशक्ति व्यवस्थापनमा पहल गर्ने उनले प्रतिबद्धता जनाए।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार