दसौं राष्ट्रियको तयारीमा कर्णाली

सुर्खेत,१४ माघ ।

१० औं बृहत् राष्ट्रिय खेलकुदको आयोजना कर्णालीले गर्दै छ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले २०८१ साल मंसिर २ देखि ७ सम्म प्रतियोगिता गर्न कर्णाली प्रदेशलाई झण्डासमेत हस्तान्तरण गरिसकेको छ । पहिलोपल्ट राष्ट्रिय खेलकुद आयोजना गर्दा कर्णालीलाई चुनौतीसँगै विभिन्न अवसर पनि मिलेको छ ।

कर्णालीमा अहिले खेलकुद पूर्वाधार, बसोबास व्यवस्थापन, प्रशिक्षक, अभ्यास र आन्तरिक प्रतियोगितालगायतको अभाव छ । तर, समयमै राष्ट्रिय खेलकुद सम्पन्न गर्नसके सबै अवसर कर्णालीले प्राप्त गर्न सक्ने कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले बताउँछन् ।

‘हामीले त संघीय व्यवस्थापछि पहिलो चरणमै राष्ट्रिय खेलकुद आयोजना गर्न खोजेका थियौं,’ उनले भने, ‘तर पूर्वाधार नभएकै कारण कर्णालीले नवौं संस्करण पाएन, गण्डकीलाई दिइयो, कर्णालीमा प्रदेश रंगशाला बन्न थालेपछि मात्र हामीले १० औं संस्करणको अवसर पायौं, यसलाई कर्णालीले सदुपयोग गर्न आवश्यक छ ।’

कर्णालीमा अहिले प्रदेश गौरवको पहिलो आयोजनाको रूपमा अत्याधुनिक सुविधासहितको प्रदेश रंगशाला बन्दै छ । साथै अन्य जिल्लामा पनि कभर्डहल, क्रिकेट मैदान, फुटबल रंगशालालगायतका संरचना निर्माणको क्रम जारी छ । प्रदेश गौरवको आयोजनाअन्तर्गत वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला बनिरहेको छ ।

जसको अहिलेसम्म ३० प्रतिशत काम भइरहेको छ भने दैनिक २ सय ५० जनाले नियमित काम गरिरहेका छन् । १ अर्ब ५९ करोड रुपैयाँमा रंगशाला निर्माणको काम भइरहेको हो । रंगशालासँगै १५ सय दर्शक अट्ने इन्डोर कभर्डहल पनि बन्दै छ । जहाँ चिल्ड्रेन पार्क, ग्रीन पार्कलगायत सम्पूर्ण सुविधा हुने उपाध्यक्ष हमालले बताए । उनका अनुसार प्रदेश रंगशाला २०८१ जेठ ११ गते हस्तान्तरण गर्ने गरी एमएसीजीएसएल जेभीसँग सम्झौता गरिएको छ ।

उपाध्यक्ष हमालका अनुसार दसौंका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कति खेल, कहाँ खेल्ने र कहिले गर्ने भन्ने योजना बनाउने छ भने प्रदेश खेलकुद विकास परिषद्ले त्यसका लागि आवश्यक समन्वय गरिरहेको छ । ‘हामीसँग के–के पूर्वाधार छन्, अहिलेको अवस्थामा कुन–कुन खेल आयोजना गर्न सकिन्छ र थप पूर्वाधार के चाहिन्छ भनेर राखेपसँग छलफल चलिरहेको छ,’ उनले भने, ‘बजेट पर्याप्त भए समयमै १० औं राष्ट्रिय खेलकुद आयोजना गर्न हामी सक्षम छौं ।

’ कर्णालीमा १० औं राष्ट्रिय प्रतियोगिता गर्न पूर्वाधारसँगै आवास व्यवस्थापनको कुरा पनि महत्त्वपूर्ण भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले बताए । उनका अनुसार हिमाली जिल्लामा बसोबास गर्ने व्यवस्था भए पनि पूर्वाधार छैन । ‘सुर्खेतमा खेलकुदका पूर्वाधार पुग्लान् तर आवासले धान्दैन,’ उनले भने, ‘१० औं राष्ट्रिय खेलकुदका लागि खेलाडी, प्रशिक्षक र खेल क्षेत्रका पदाधिकारीमात्रै कम्तीमा १० हजार हुन्छन्, त्यस्तोमा सुर्खेतले मात्रै कसरी बसोबास धान्ने ?’ उनले सबै व्यवस्थापन मिल्ने गरी १० वटै जिल्लामा खेल विभाजन गरी खेलाउन सकिने विकल्प राखेपलाई दिइएको बताए ।

राष्ट्रिय प्रतियोगिता समयमै आयोजना गर्ने गरी आवश्यक पहल अहिलेदेखि नै थालिएको उनले बताए । ‘समय सकियो भने पैसाले मात्र पुग्दैन, त्यसैले अहिलेदेखि नै प्रदेश र संघ सरकार दुवैको समन्वय हुनुपर्छ । यसो भए दसौं समयमै गर्न कर्णालीले सक्छ,’ उनले भने, ‘यातायात सुविधा सुर्खेतबाहेक अन्यत्र छैन, कर्णालीका दूरदराजमा प्रतियोगिता गर्न सके खेलकुदको प्रचारप्रसार हुन्छ, नयाँ पुस्ताको आकर्षण हुन्छ, त्यसैले हामी जहाजबाटै खेलाडीलाई लगेर पनि डोल्पा र हुम्लामा पनि कुनै प्रतियोगिता सञ्चालन गर्न सक्छौं ।’

कर्णाली खेलकुद विकास परिषद्का अनुसार राष्ट्रिय खेलकुदको तयारीका लागि रुकुम पश्चिमको चौरजहारीमा पनि सहरी विकास मन्त्रालयले फुटबल रंगशाला बनाउँदै छ । करिब ८५ करोड रुपैयाँ लागत अनुमानको उक्त रंगशालामा फुटबल, एथलेटिक्सलगायत खेल सञ्चालन गर्ने गरी इन्डोर कभर्डहलको पनि निर्माण हुन लागेको हो ।

त्यसका लागि अहिले ठेक्का मूल्यांकन भइरहेको र एक महिनाभित्रै निर्माण कम्पनीसँग सम्झौता हुने सदस्यसचिव सञ्ज्यालले बताए । उनका अनुसार अहिले जुम्ला, कालिकोट, दैलेख र पश्चिम रुकुममा कभर्डहल छन् । ती कभर्डहलमा इन्डोर खेलाउन मिल्ने उनले जानकारी दिए । ‘चारै जिल्लामा पनि कराते, तेक्वान्दो, बक्सिङ, जुडो, कबड्डी, खो–खो, टेबलटेनिसलगायत प्रतियोगिता आयोजना गर्न सकिन्छ,’ उनले भने, ‘सबै जिल्लाले एउटा÷एउटा खेल खेलाउँदा बसोबास व्यवस्थापन गर्न सक्छन् ।’

अहिले परिषद्ले वीरेन्द्रनगरस्थित कालुङचोक मैदानलाई पनि वैकल्पिक मैदानको रूपमा स्तरोन्नति गरिरहेको छ । जसका लागि झन्डै ५० लाख रुपैयाँ खर्च भइसकेको छ । त्यहाँ क्रिकेट, फुटबल र रग्बी खेलाउन सकिने उनले जानकारी दिए । उनले चिसापानीमा पनि फुटवल रंगशालाको काम जारी रहेको बताए ।

‘सुर्खेतमै स्कुल र संघसंस्थाका झन्डै १० वटा खेल मैदान छन्, तिनलाई स्तरोन्नति गरेर केही खेल खेलाउन सकिने अवस्था छ,’ उनले भने, ‘सुर्खेतमा भएका होटलहरूले बसोबासको व्यवस्था धान्न नसक्ने भएपछि सरकारी आवासलाई पनि प्रतियोगिता अवधिभर खेलाडीको आवासगृह बनाउने योजना अघि सारेका छौं, अपुग भए स्कुल र कलेजका छात्रावास पनि प्रयोग गर्न सकिन्छ ।’ त्यस्तै विभागीय खेलाडीलाई आर्मी, प्रहरी र सशस्त्रका ब्यारेकमा पनि राख्न सकिने तर्क उनको छ ।

१० औं राष्ट्रियका लागि परिषद्ले हुम्लामा कभर्डहल र खेलमैदान निर्माणको काम जारी राखेको छ । झन्डै १२ करोड लागत अनुमान गरिएको उक्त कभर्डहलमा करिब २ करोड रुपैयाँ खर्च भइसकेको परिषद्की सदस्य हेमा खड्काले बताइन् । उनका अनुसार मानसरोवर जाने भारतीय पर्यटकका कारण हुम्लामा ठूला लगानीमा करिब एक दर्जन होटल खुलिसकेकाले त्यहाँ बसोबासको समस्या छैन । कभर्डहल बने हुम्लामा दुई खेल आयोजना गर्न कुनै समस्या नहुने उनी बताउँछिन् । हुम्लामा २०४३ सालमा जहाजबाट खेलाडी लगेर राष्ट्रिय जुडो प्रतियोगिता गरिएको थियो ।

उनका अनुसार रारा जाने पर्यटकलक्षित गरी मुगुमा पनि झन्डै एक दर्जन पर्यटकीय होटल खोलिएकाले त्यहाँ पनि एउटा प्रतियोगिता गर्न सकिने अवस्था छ । त्यहाँ साइक्लिङ ट्र्याक र कभर्डहल बनाउने योजना परिषद्ले अघि सारेको उनले बताइन् । कालिकोटमा यसअघि प्रदेशस्तरको भलिबल प्रतियोगिता भइसकेकाले त्यहाँ पनि एउटा प्रतियोगिता गर्न कुनै समस्या नहुने उनले बताइन् । उनका अनुसार त्यहाँ पूर्ण रूपमा नयाँ कभर्डहल बनाउन आवश्यक छ ।

त्यस्तै जुम्लामा नेपाली सेनाको फुटबल मैदान छ । त्यसलाई स्तरोन्नति गरेर रग्बी खेलाउन सकिने परिषद्ले जनाएको छ । परिषद्का अनुसार कर्णाली प्राविधिक शिक्षालयमा बस्ने छात्रावास र कबड्डी र खो–खो खेलाउन सकिने पूर्वाधार पनि छ । त्यस्तै राजासिमस्थित कभर्डहलमा ५० लाख रुपैयाँ खर्च भइसकेको छ भने निर्माण काम जारी छ ।

अहिले जाजरकोट र सल्यानमा मात्रै कभर्डहल छैन । त्यहाँ पनि जग्गा व्यवस्थापनको काम सुरु भएकाले एक वर्षभित्रै कभर्डहल निर्माणको काम सुरु हुने परिषद्का सदस्यसचिव सञ्ज्यालले बताए । उनका अनुसार प्रदेश रंगशाला र चौरजहारी रंगशालाबाहेक अन्य ठाउँमा खेल पूर्वाधार बनाउन झन्डै डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यो वर्ष कर्णाली खेलकुद विकास परिषद्सँग ६४ करोड रुपैयाँ छ । करिब १ करोड रुपैयाँ कार्यालय सञ्चालनमा खर्च भए पनि अरु सबै रकम पूर्वाधार विकास, प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा खर्च हुने सञ्ज्यालले बताए । उनका अनुसार कर्णालीको आफ्नै खेलकुद विकासका लागि परिषद्ले ‘५’ प लाई आधारस्तम्भ बनाएको छ ।

‘पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन, प्रतिभा छान्ने कामपरिषद्ले स्थापनादेखि नै प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘आठौंमा एक स्वर्ण पदकसहित ८ पदक जितेको कर्णालीले नवौंमा २ स्वर्णसहित १८ पदक जित्यो, परिषद् स्थापनाको २ वर्षमा ८ बाट १८ पदक पु¥याउन सफल भएका छौं, १० औंमा कम्तीमा दुई अंकको (९९) पदक पु¥याउने हाम्रो योजना छ ।’

त्यसका लागि कर्णालीमा १० खेललाई प्राथमिकतामा राखी ¥याङ्किङ गर्ने र प्रशिक्षक तयार, प्रशिक्षण र प्रतियोगिता आयोजना गर्ने कामलाई तीव्रता दिने परिषद्को योजना छ । उनले कर्णालीमा १२ जना मात्र प्रशिक्षक भएको र सबै राखेपका भएकाले पनि खेलाडी उत्पादनमा समस्या भएको बताए । उनका अनुसार कुन जिल्लामा के को सम्भावना छ, त्यही आधारमा प्रशिक्षक तयार गर्ने र प्रशिक्षणलाई तीव्रता दिने परिषद्को योजना छ ।

कर्णाली प्रदेशमा भलिबल, एथलेटिक्स, फुटबल, कराते र तेक्वान्दोको बढी सम्भावना रहेको एथलेटिक्सका राष्ट्रिय प्रशिक्षक राम ओलीले बताए । उनका अनुसार ती खेलमा ७ खेलाडीले अन्तर्राष्ट्रिय र झन्डै ७० जनाले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । तेक्वान्दोका प्रशिक्षक प्रदीप राईले अरू प्रदेशभन्दा भौतिक पूर्वाधारमा कमजोर भए पनि कर्णालीका खेलाडीले राष्ट्रिय÷अर्न्तराष्ट्रिय रूपमा राम्रो प्रगति गरिरहेको बताए । ‘अभावकै बाबजुद पनि कर्णालीका खेलाडी अरूभन्दा कमजोर छैनन्,’ उनले भने, ‘घरेलु मैदानको सदुपयोग गरेर पनि यहाँका खेलाडीहरू १० औं प्रतियोगितामा उच्च नतिजा ल्याउन सफल हुनेछन् ।’

यस्तो बन्दै छ प्रदेश रंगशाला

कर्णाली परिषद्को राजधानी सुर्खेतमा बन्दै गरे प्रदेश रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार फुटबल मैदानमा पानी छर्किने आधुनिक व्यवस्था हुनेछ । त्यस्तै आईएएएफको मापदण्डअनुसार ८ लेनको सेन्थेटिक ट्र्याकयुक्त रंगशाला निर्माण हुन लागेको परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार १० हजार दर्शक क्षमताको रंगशालामा भूकम्प प्रतिरोधी प्यारापिट र भीआईपी प्यारापिटको व्यवस्था गरिएको छ । त्यस्तै मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी, भीआईपी वेटिङ रुमका साथै अन्डरग्राउण्ड पार्किङसमेत निर्माण हुने सदस्यसचिव सञ्ज्यालले बताए ।

‘टिभी लाइभ ब्रोडकास्ट प्लेटफर्म यसमा हुनेछ भने रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड र अन्तर्राष्ट्रिय मापदण्डकै स्विमिङ पुल पनि बन्नेछ,’ उनले भने, ‘रंगशालाभित्र १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल बन्नेछ, जसमा भलिबल, ह्यान्डबललगायतका खेलहरू खेल्न सकिनेछ ।’ उनले व्यावसायिक प्रयोजनका लागि रंगशालामा ४० सटर निकालिने जानकारी दिए ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया