गाउँ प्रहरी बनाउँदै गुराँस

दैलेख,१३ माघ ।

दैलेखको गुराँस गाउँपालिकाले ‘गुराँस गाउँ प्रहरी’ गठन गर्ने भएको छ । गाउँपालिकाको सार्वजनिक सम्पत्तिको सुरक्षा तथा गाउँपालिकामा शान्ती कायम गर्न प्रहरी गठन गर्ने भएको हो । गाउँपालिकाको एघारौँ अधिवेशनको दोस्रो बैठकले गुराँस गाउँ प्रहरी सञ्चालनसम्बन्धि कार्यविधि, २०७९ पनि अनुमोदन गरेको छ ।

‘आफ्नो गाउँको सुरक्षा यहाँकै नागरिकले गरुन् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो,’ गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले भने, ‘यो संख्या धेरै हुँदैन, कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) प्रतिवेदन पारित भएपछि कति संख्यामा हुने भन्ने टुंगो लाग्छ ।’

यसैगरी गाउँपालिकाले करार सेवामा कर्मचारीपनि भर्ना गर्ने भएको छ । पालिकाको कार्यालय र कार्यालयअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयहरुमा अति आवश्यक कर्मचारी सेवा करारमा नियुक्तिका लागि भर्नाको प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको छ ।

साविक जिल्ला विकास समिति र गाउँ विकास समितिबाट गाउँपालिकामा समायोजन भई लामो समय करार सेवामा कार्यरत रहेका कर्मचारीलाई पनि व्यवस्थापन गरिने प्रवक्ता ओलीले बताए । ‘पहिलाको जिविस अहिले जिसस भएको छ’, वडाध्यक्षसमेत रहेका ओलीले भने, ‘त्यहाँ कार्यरत कर्मचारी उसैले राख्न चाहान्छ भने ठीक छ सोहीअनुसार हामीले जिससलाई लेखी पठाउनका लागि कार्यपालिकालाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।’

गाउँपालिकाले गत साउनमा पालिकामा कार्यरत करार कर्मचारी हटाएपछि सो निर्णयका विरुद्ध आन्दोलनसमेत भएको थियो । वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधि आएपछि गाउँपालिकामा पूर्व जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारीलाई हटाइएको थियो ।

त्यसपछि गाउँ सभाको दशौँ अधिवेशनको तेस्रो वैठकले गरेको निर्णयको मर्म र भावना प्रतिकुल नहुने गरी कानूनी तथा प्रशासनिक परामर्श गरी यथेष्ट व्यवस्थापनका लागि पहल गर्ने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया