स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की भन्छिन्– आइसियूमा भिडिओ कसले खिच्यो थाहा भएन

काठमाडौं,१३  माघ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले आफूले आइसियूमा बिरामी भेटेको भिडिओ कस्ले खिच्यो भन्नेबारे जानकार नभएको बताएकी छन्।

राज्यमन्त्री कार्कीले आफू बिरामी भेट्नमात्र अस्पताल पुगेको बताउँदै भिडिओबारे केही कुरा थाहा नभएको जिकिर गरिन्।  ‘म आफैं पनि डाक्टर भएकाले र राज्यको प्रतिनिधि पनि भएकाले त्यो क्षणमा बिरामीको स्वास्थ्य स्थिति बुझ्न गएका हौं। अब कसले फोटो÷भिडिओ खिच्यो भन्ने याद भएन,’ राज्यमन्त्री कार्कीले भनिन्।

गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आफैंलाई आगो लगाएर गम्भीर घाइते भएका इलामका प्रेमप्रसाद आचार्यलाई भेट्न त्यही साँझ राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुगेकी थिइन्। तर त्यसको केहीबेरमै उनी बिरामीलाई भेट्न केही क्यामरावालासहित आइसियुमा छिरेको भिडिओ बाहिर आएपछि सो कुराको आलोचना भएको थियो।

भिडिओबारे आफू जानकार नभए पनि राज्यमन्त्री कार्कीले आइसियूभित्र भिडिओ खिच्न नपाइने बताएकी छन्। ‘बिरामी वा बिरामीको अभिभावकको अनुमतिबिना भिडिओ खिच्न पाइँदैन। कसले खिच्नुभयो त्यो मलाई जानकारी छैन,’ उनले भनिन्।

अस्पताल प्रशासनसँग अनुमति नै नलिई क्यामरावाला लिएर आइसियू छिरेकी थिइन् राज्यमन्त्री तोसिमा कार्की उनले आफूले कुनै पनि मिडिया वा क्यामरावालालाई लिएर आइसियूमा नगएको पनि दाबी गरिन्। ‘हाम्रो कुनै पनि आधिकारिक पेज वा ह्यान्डलबाट भिडिओ आएको छैन। हाम्रो सचिवालयले पनि त्यसरी खिच्नुभएको छैन,’ राज्यमन्त्री कार्कीले भनिन्, ‘म आफैं जनरल सर्जन भएकाले आइसियूको प्रोटोकलहरू थाहा छ। त्यसैले मैले कुनै पनि नियम उल्लंघन गरेको छैन।’

तर राज्यमन्त्री कार्कीले दाबी गरेझैं भिडिओमा देखिएको दृश्यले सो कुरा पुष्टि भएको देखिँदैन। किनभने भिडिओ खिच्ने मान्छेले नजिकबाटै उनी आइसियूमा बिरामीसँग कुराकानी गरेको गतिविधि खिचिरहेको हुन्छ तर उनले त्यहाँ कसैलाई पनि भिडिओ नखिच्न आग्रह गरेको पाइँदैन।

यसबारे आलटाल जवाफ दिँदै डा. कार्की भन्छिन्, ‘उहाँहरूलाई भन्नुभन्दा पनि त्यहाँ मृत्युसँग लडिरहेका व्यक्तिलाई आत्मबल बढाउने र त्यो स्थितिमा उहाँलाई के गर्नसकिन्छ भन्नेमै केन्द्रित थियौं। मलाई थाहा पनि थिएन भिडिओ खिच्दैछ भनेर।’

उनले उक्त कुरा अस्पतालले नै ख्याल गर्नुपर्ने बताउँदै आफूले कोही पनि भिडिओ खिच्ने मान्छे नलगेको बताइन्। बरू कोही सर्वसाधारण वा बिरामीका आफन्तले नै उक्त भिडिओ खिचेको हुनसक्ने आशंका गरेकी छन्।

‘राज्यमन्त्री भएर जाँदै गर्दा कसैले थाहा पाउनुभयो होला, मिडियाले थाहा पाए होला। यदि मिडिया नै लानुथियो भने त तपाईंहरूले पनि थाहा पाउनुहुन्थ्यो होला नि! हामीले अनुहार नै देखाउँथिम् होला तर त्यस्तो छैन नि त!,’ उनले भनिन्।

यस्तै राज्यमन्त्री कार्कीले आफूहरू अनुमति लिएरै आइसियूमा बिरामी भेट्न गएको पनि दाबी गर्छिन्। उनले अनड्युटी डाक्टर नै आफूलाई बाहिरसम्म लिन आएको बताउँदै बाँकी कसलाई जानकारी गराउनुपर्ने भन्दै प्रश्न गरिन्। अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर निजिना ताम्राकारले राज्यमन्त्रीले अस्पताल प्रशासनसँग अनुमति नलिएको सेतोपाटीलाई बताएकी थिइन्।

अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर निजिना ताम्राकारले सेतोपाटीसँग भनिन्, ‘उहाँहरूले अनुमति लिनुभएको पाइएको छैन। उहाँ साँझ ७ बजेपछि आउनुभएको छ। त्यतिबेला हाम्रो प्रशासन खुला हुँदैन। फेरि राज्यमन्त्री आउनु हुँदा सुरक्षागार्डले रोक्ने कुरा पनि भएन। सायद उहाँ आफैं पनि चिकित्सक भएकाले भिजिट गर्नुभएको होला।’

सेताेपाटी

तपाईको प्रतिक्रिया