गार्मेन्टको ४० प्रतिशत बजार ओगटेको छाँयाक्षेत्र

पुनम वि.सी.
सुर्खेत, १२ माघ ।

वि.सं. २०७४ ताका कर्णालीका संस्थागत विद्यालयहरुलाई पोशोकका लागि नेपालगञ्ज र काठमाडौंको बजार धाउनुपर्ने अवस्था थियो । कपडा व्यवसायमा काम गर्ने गार्मेन्ट उद्योगको संख्या एउटा औंलामा सीमित थिए, तीपनि नभएकै बराबर थिए । विद्यालयहरुलाई आवश्यक पर्ने पोशाकका लागि आवश्यक पर्ने कपडा, बेल्ट, टाईलगायतका सामाग्रीका लागि अन्यन्त्रको बजार धाउनुपथ्र्यो ।

सुर्खेतमा स्थापना भएको एक मात्र गार्मेन्ट उद्योगलाई समेत यहाँ बजारको सम्भावना थिएन । अहिले सुर्खेत जिल्लामा मात्र करिव २१ वटाको संख्यामा गार्मेन्ट उद्योगहरुको स्थापना भईसकेको छ । यी उद्योगहरुले साना–ठूला परिमाणमा कर्णाली प्रदेशभरका विद्यालयहरुमा लागि गार्मेन्टको सेवा दिईरहेका छन् ।

कर्णाली प्रदेशमा गार्मेन्टको ४० प्रतिशत बजार कब्जा गरेर वीरेन्द्रनगरमार्फत सेवा दिईरहेको गार्मेन्ट उद्योग हो, छाँयाक्षेत्र गार्मेन्ट उद्योग ।कर्णालीमा गार्मेन्ट उद्योगहरुका लागि तयारी पोशाकतर्फ ज्यादा बजारपनि छैन । यहाँ गार्मेन्ट उद्योगहरुका लागि मुख्य बजार भनेकै यहाँका विद्यालयहरु हुन् ।

२०७४ सालमा स्थापना भएको यो उद्योगले अहिले कर्णालीमा गार्मेन्टको ४० प्रतिशत बढी बजार हिस्सा ओगट्छ ।सरकारी तथ्यांक हेर्ने हो भने कर्णालीमा कुल एक सय ४९ वटा संस्थागत विद्यालयहरु छन् । यीमध्ये ६० वटा भन्दा बढी विद्यालयहरुमा छाँयाक्षेत्रले गार्मेन्ट सेवा उपलब्ध गराईरहेको छ ।

उद्योगका सञ्चालक मनोज प्याकुरेलले भने, ‘सडक बाटोमा वीरेन्द्रनगर केन्द्र भएका जिल्लाका विद्यालयमा हामीले सेवा दिईरहेका छौँ । तर रुकुम पश्चिम, जाजरकोटतर्फ पूर्वी भेगमा भने त्यहाँका उद्योगहरु नेपालगञ्जका गार्मेन्टसँग जोडिएका छन् ।’

एकल पारिवारिक लगानीबाट सुरु भएको यो व्यवसायमा अहिले दुई वटा व्यवसाय सञ्चालनमा छन् । छाँयाक्षेत्र गार्मेन्ट पोशाक उत्पादनतर्फ जोडिएको व्यवसाय हो । अर्को, छाँयाक्षेत्र स्टोरले तयारी उत्पादन बिक्रि गर्छ । यो स्टोरले भने आफैले उत्पादन गरेको तथा अन्य गार्मेन्टका उत्पादन समेत बिक्रि गर्दै आएको छ ।

गार्मेन्ट सेवाका लागि नेपालगञ्ज धाईरहेका ग्राहकलाई वीरेन्द्रनगरमै रोक्नु चानचुन विषय भने होइन । विद्यालयहरुका लागि बाहिरको बजारबाट ठूलो परिमाणमा मात्र माग गर्दा सहज छ । तर सानो परिमाणमा पोशाक माग गर्दा भने लागत खर्च बढ्छ नै । तर छाँयाक्षेत्र गार्मेन्टले भने सोही समस्यालाई मध्यनजर गर्दै सानो परिमाणमा समेत पोशाक उपलब्ध गराएपनि गार्मेन्टको बजारमा उद्योगलाई थप सहज भएको हो ।

प्याकुरेलले भने, ‘अब ४०–५० गोटा कपडा अर्डर गर्न पनि स्कुललाई महंगो पथ्र्यो । बाहिरका उद्योगले साना अर्डरलाई वास्ता गर्दैनथे । हामीले भने साना अर्डरलाई समेत सेवा दियौँ ।’ भर्खर सुरु भएको, कम संख्या विद्यार्थी भएको विद्यालयका लागि छाँयाक्षेत्रको सेवा विद्यालयमैत्री भईदियो । आफ्नो स्थापनाकालमा छाँयाक्षेत्रसँग जोडिएका विद्यालयहरु अहिले पनि उद्योगसँगै सहकार्यमा छन् ।

महिलाले सञ्चालन गरेको उद्योग

हरिकन्या जैसीको एकल स्वामित्वमा रहेको छाँयाक्षेत्र गार्मेन्टमा अहिले कारिगरहरु सबै महिला नै छन् । उद्योग स्थापना समय नेपालगञ्ज क्षेत्रबाट पुरुष कारिगर झिकाएर यहाँ महिलाहरुलाई प्रशिक्षित गरिएको हो ।

प्याकुरेलले भने, ‘पहिला हामीले कारिगर मगाएर यहाँ काम सिकायौँ । त्यसपछि अहिले हाम्रा सबै कर्मचारी महिलाहरु नै छन् ।’ उद्योगमा हाल १० जना महिला रोजगारीमा जोडिएका छन् । यसका साथै प्याकुरेलको परिवारका सदस्य समेत उद्योगमा स्वरोजगार भएको उनी बताउँछन् ।

उद्योग सञ्चालन बखत प्याकुरेल काठमाण्डौं पुगेका थिए । उच्च शिक्षा अध्ययन गरिरहेका उनी गार्मेन्ट उद्योग सञ्चालन गर्ने उद्देश्यले काठमाडौंस्थित एक गार्मेन्ट उद्योगमा स्वयम्सेवी भएर काम गरे ।

उनले भने, ‘गार्मेन्ट उद्योगको काम सिक्न म काठमाडौं पुगें । तालिमको पैसा तिर्नुपनि पर्थेन । उनीहरुले पनि कामको पैसा दिन्थेनन् । यहि शर्त थियो ।’ यसअघि परिवारले वीरेन्द्रनगरमा छाँयाक्षेत्र स्टोर मार्फत गलैचा र कम्बलको व्यवसाय सञ्चालन गरेको थियो । यो व्यवसाय मौसमी भएका कारण पनि प्याकुरेल परिवारलाई थप अर्को व्यवसाय सञ्चालन गर्ने योजना बनेको उनी सुनाउँछन् । २०७४ सालमा ३० लाख रुपैयाँ लगानीबाट छाँयाक्षेत्र गार्मेन्ट सुरु भएको हो ।

उद्योगले हालको समयमा कर्णालीको बजारमा जर्सी, ज्याकेटलगायतका लत्ताकपडा समेत बिक्रि गरिरहेको छ । प्याकुरेलले भने, ‘खेलाडीको जर्सीतर्फ हामीले काम गरिरहेका छौँ । अनि ‘हुक–हुडी’ समेत उत्पादन गरी बजारमा गईरहेको छ ।’

बजार सम्भावनाा रहेपनि उद्योगलाई मूल्यवृद्धिले सताएको भने छ । विद्यालयबाट आएको अर्डर पूरा हुनेबेलासम्म कपडामा मूल्यवृद्धि भईसकेको हुन्छ । उनले भने, ‘विद्यालयले अभिभावकसँग पोशाकका लागि एउटा मूल्य तय गरेको हुन्छ । हामीसँग अर्डर आएपछि कच्चा पदार्थ मगाएर बनाउने बेल्लासम्म कच्चा पदार्थमा मूल्यवृद्धि भईसकेको हुन्छ । तर सुरुवातको मूल्यमा नै पोशाक उपलब्ध गराउनुपर्ने वाध्यता उद्योगलाई छ ।’

कोभिड–१९ संक्रमण समय जोखिम अवस्थापछि कच्चापदार्थमा पटक–पटक हुने मूल्यवृद्धिका कारण उद्योगको उत्पादनमा असर परिरहेको प्याकुरेलले बताए ।

तपाईको प्रतिक्रिया