राजधानीकै विद्यालय, वरण्डामा विद्यार्थी

सिर्जना बुढाथोकी

सुर्खेत,११ माघ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रकै प्रगतिटोलको जूनतारा प्राविको भवन नहुँदा अवस्था दयनीय छ । भवन अभावमा विद्यार्थीहरु वरण्डामा बसेर पढ्छन् भने कार्यालय कोठा बाल क्लव तथा आमा समूहको कोठामा रहेको छ ।  कक्षा ५ सम्मको स्वीकृति भएपनि कक्षा कोठा अभावमा कक्षा ४ र ५ का विद्यार्थीहरुलाई वीरेन्द्रनगर ६ कै नेरामावि (डाँडास्कूल) मा पढ्न पठाइएको छ । जूनतारामा भने अहिले कक्षा ३ सम्म मात्र पढाई हुने गरेको छ ।

विद्यालयका प्रधानाध्यापक जुमनादेवी गौलीले १५० जना विद्यार्थीहरु अध्ययनरत विद्यालयमा सवैभन्दा ठूलो समस्या कक्षा कोठाको भएको बताइन । उनले विद्यालयसंग अहिले तीन वटा कोठामात्रै भएको पनि जानकारी दिइन् । ‘कक्षा ३ लाई वरण्डामा राखेर पढाउने गरिएको छ, साँघुरो वरण्डामा कक्षा ३ का २५ जना विद्यार्थी पढ्ने गरेका छन्’, उनले भनिन्, ‘विद्यार्थीहरु वरण्डामा पढ्ने पढाउने र प्रशासन भने बाल क्लवको कोठाबाट चलाउने गरिएको छ ।’

तीन वटा कोठापनि अघिल्लो वर्ष बनाइएको हो । त्यहाँ शिशु कक्षा, कक्षा १ र कक्षा २ लाई पढाउने गरिएको छ । विद्यालयको कार्यालय भने बाल क्लवको कार्यालय र आमा समूहको कार्यालय भएको कोठामै राखिएकोले सामानको सुरक्षामा चुनौती रहेको प्रअ गौलीको भनाई छ ।

यस विद्यालयमा दलित तथा आसपासका वस्तिमा बस्ने दैनिक ज्याला मजदुरी गर्ने अभिभावकहरुका छोराछोरीहरु पढ्ने गरेका छन् । गरिव, विपन्न र मजदुरका छोराछोरीहरु पढ्ने यस विद्यालय जिल्लाको सदरमुकाम र प्रदेशकै राजधानीभित्रै भएपनि अन्यायमा परेको विद्यालयका शिक्षकहरुको भनाई छ ।

प्रअ गौलीले आफ्नो विद्यालय नजिकै निजी विद्यालय तथा मोन्टेश्वरीहरु भएपनि आप्mनो विद्यालयमा आउने बालबालिकाको संख्या धेरै रहेको दाबी गरिन् । विद्यालयमा अहिले बालविकासमा ५२ जना, कक्षा १ मा ४८ जना, कक्षा २ मा ३५ जना र कक्षा ३ मा २५ जना विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिईन ।

यस विद्यालयमा सेविकादेखि प्रधानाध्यापक गरी आठ जना कार्यरत भएको र उनीहरु सबै महिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाले बताए ।

‘एक जना स्थायी, दुई जना बालविकास सहजकर्ता, तीन जना राहत, एक जना सहयोगी र एक जना सेविका सबै महिला महिलानै हुनुहुन्छ’, उनले भने, ‘सबै महिला हुँदा यस विद्यालयको पढाउने वातावरण राम्रो र मायालु भएको अभिभावकहरुको भनाई आउँछ ।’

केहिदिन अघि विद्यालयको दुई कोठे भवनको शिलान्यास भने भएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले दुई कोठे भवनको शिलान्यास गरेका हुन् । सामाजिक विकास मन्त्रालय र शिक्षा विकास निर्देशनालयको २० लाखको लागतमा दुई कोठे भवन बनाउन लागिएको छ ।

सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले बालबालिकाहरुको पढाई सुधार ल्याउन सुविधा सम्पन्न भवन आवश्यक पर्ने हुँदा त्यसका लागि दुई कोठे भवन बनाउन २० लाख सहयोग गरिएको बताए । उनले यस विद्यालयको भौतिक सुधार गर्न थप अन्य सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

वडा नं. ६ का वडाअध्यक्ष जनकबहादुर रावलले विगतमा पनि वडाले सहयोग गर्दै आएको र यसपटक पनि विद्यालयको सेविकाको पारिश्रमिकका लागि एक लाख बजेट बिनियोजन भएको जानकारी दिए ।

पूर्व वडाअध्यक्ष मोतीप्रसाद कँडेलले आगामी जेठभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिएका छन् । विद्यालयलाई समाजसेवा हरिशचन्द्र चलाउने ५१ हजारको अक्षयकोषको स्थापना गर्दै यसै महिनादेखि एक छात्र र एक छात्रालाई स्टेशनरीका लागि मासिक एक हजार सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया