सडक पुगे बेच्न सकिन्थ्यो रैथाने उत्पादन

जुम्ला,११ माघ  ।

पातारासी हिमालको काखमा रहेको जुम्लाको गढी गाउँको तापक्रम यति बेला माइनस १ डिग्री सेल्सियसमा झरेको छ । पानीको मूल, धारा र खोला किनारमा बरफ जमेको छ ।

पश्चिमतर्फबाट छिरेको बादलले आकाश ढपक्कै ढाक्छ । बिहान अबेरसम्म बाहिर निस्केर काम गर्न सक्ने अवस्था छैन । साँझ छिट्टै घर भित्र नपसे चिसोले बिरामी नै पार्छ । बालबालिका र ज्येष्ठ नागरिकलाई गाउँको चिसो खेप्न खुब सास्ती छ ।
मौसमले हिमपातगरिरहँदा स्थानीय बाटुली बुढालाई भने ढुङ्गे ओखलमा मकै कुट्ने चटारो छ ।

पानीमा भिजाइएको मकैलाई ढुङ्गे ओखलमा कुटेर दाना बाहिरको भुस फालेपछि मात्रै सिमीसँग मिसाएर खान योग्य कोल बन्छ । हरेक हिउँदमा सिमी र मकै मिश्रित कोल र फापरको रोटीले भोक मेटाउँछन्, गडिगाउँबासी । यहाँका नागरिक पुस्तौँदेखि सिमी, फापर, जौं, आलु, चिनो, कागुनु जस्ता बालीको खेती गर्दै आइरहेका छन् ।

दुई सय ७० घर रहेको गढिगाऊँ रैथाने बालीले आत्मनिर्भर छ । गाउँमा खाद्यान्न आयात हुँदैन । वार्षिक २५ क्विन्टलसम्म मकै, त्यति नै गहुँ र ३० देखि ५० क्विन्टल आलु, १० क्विन्टलसम्म फापर उत्पादन हुने गरेको यो गाउँका मानिस मात्रै होइन हिउँदमा वस्तुभाउलाई खुवाउने दाना पनि यही रैथाने बाली रहेको स्थानीय बासिन्दा हरिश्चन्द्र बुढा बताउँछन् ।

रैथाने बाली भण्डारण गर्नु अघि छतमा राखिन्छ । माटोले बनेका घर आपसमा जोडिएका छन्, जसलाई बाडा भनिन्छ । यही बाडामा अन्न चुट्ने गरिन्छ । अर्म पर्म गरेर लगाइएका बाली बाडामा चुटिन्छ र भिœयाइन्छ ।


गढी गाउँका बासिन्दा विर्ख बुढाका अनुसार गाउँमा खाद्यान्न किन्न पर्दैन । बरु रैथाने बाली बिक्री समेत गर्न पुग्ने गरी उत्पादन हुन्छ । तर, गाउँमा सडकको सुविधा नहुँदा यहाँको रैथाने उत्पादन बिक्री हुन भने सकिरहेको छैन ।

जसले गर्दा यहाँको रैथाने उत्पादन वस्तुभाउलाई समेत खुवाएर सकिने गरेको बुढा बताउँछन । पौष्टिक र स्वास्थ्यवर्धक हुने भएकाले पछिल्लो समय उपभोक्ताले यस्तो खाना रुचाएका छन् । सहरी क्षेत्रमा माग मात्र उच्च होइन मूल्य पनि राम्रो छ तर, गाउँमा उत्पादन भएको खाद्यान्न बिक्री हुन सकेको छैन ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार नेपालका चिनो, कागुनु, कोदो, फापर, लगायत ११ वटा रैथाने बाली मध्ये अधिकांश बाली जुम्लामा उत्पादन हुन्छ । केही बाली भने लोप हुने खतरामा पुगेको उनले बताए ।
रैथाने बालीको संरक्षण गरिरहेको गढी गाउँमा गाडी मात्रै पुग्ने हो भने गाउँले आम्दानी पनि राम्रै गर्ने स्थानीय बताउँछन् ।

‘सडकको सुविधा भएको खण्डमा गाउँमा उत्पादित सामग्री बिक्री गर्न पाइन्थ्यो ।’बाटुली बुढा भन्छिन्,‘हामीलाई पैसा पनि आउँथ्यो, सहरका मानिसले रैथाने खाना खाने रहर पनि पु¥याउँथे ।’ भरियालाई बोकाएरै भए पनि गाउँमा उत्पादन भएको अन्न किन्ने कोही आए गाउँलेलाई आम्दानीको राम्रो स्रोत हुने स्थानीय बासिन्दा बताउँछन् ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार