सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन

बुटवल, ११ माघ ।

सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ। भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा नेपाली भूमि जोगाउन गुरुङले २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका थिए।

एक महिनाअघि मस्तिष्कघात भई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचाररत गुरुङको मंगलबार साँझ निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर भारतीय पक्षले गरेको अतिक्रमणविरूद्ध लड्दै आएका थिए। २०६२ सालदेखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाउ अभियान’ नामक समिति गठन गरेर अतिक्रमणको विरुद्ध अभियान चलाएका थिए।

नेपाली भूमी अतिक्रमणविरूद्ध स्थानीयलाई संगठित गर्दै गरेका गुरुङलाई झुटा मुद्दा लगाएर भारतीय सुरक्षाकर्मीले बगाहा जेलमा एक वर्ष थुनेको थियो। गुरुङसहितको टोलीले सुस्ताको अतिक्रमण भूमि फिर्ता ल्याउन माग गर्दै आएको थियो।


२०३४ सालमा नारायणी नदीले धार परिवर्तन गरेपछि सुस्ताको ४० हजार ९८० हेक्टर नेपाली जमिन गायब भएको थियो। ४० हजार हेक्टर जमिनमध्ये हाल ७ हजार हेक्टरमा मात्रै नेपालीहरू बस्दै आएका छन्। १४ हजार हेक्टरको पुर्जा नेपालीसँग भए पनि भारतीय पक्षले भोगचलन गर्दै आएको छ। १९ हजार चार सय ८० हेक्टर भने विवादित भूमिका रूपमा रहेको छ।

सुस्ता बचाउन अभियान सञ्चालन गरेका गुरुङको निधनपछि विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले दुःख व्यक्त गरेका छन्।

नेपाली भूमी संरक्षणमा लाग्दा गुरुङले आफ्नो र परिवारको लागि आर्थिक उपार्जनको काममा लाग्न सकेका थिएनन्। आर्थिक अभावकै बीच मष्तिस्कघात भएपछि गुरुङको उपचारका लागि बुटवल र नवलपरासीमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो।

सेताेपाटी 


Leave a Reply

Your email address will not be published.


ताजा समाचार