११ वर्षपछि ओडारबाट उद्धार

मुगु,१० माघ ।

मुगुमा परिवारविहीन भएपछि ओडारमा बस्दै आएका एक वृद्धको उद्धार गरिएको छ। विगत ११ वर्षदेखि ओडार र गोठमा बस्दै आएका मुगमकार्मारोङ गाउँपालिकाको छायाल गाउँका ७१ वर्षीय बलरूप बडुवालको उद्धार गरिएको हो। उनलाई उद्धार गरेर सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा राखिएको छ।

परिवार र स्याहार गर्ने आफन्त नभएपछि उनी लामो समय स्थानीयको गोठालो बसेका थिए। तर, पछिल्लो समय उनी शारीरिक रूपमा पनि अशक्त बनेपछि बेसहारा बने। बस्ने घर र खेती लगाउन नसक्ने अवस्था भएपछि उनी ओडारमा बस्दै आएका थिए। ओडारमा बसेको देखेपछि सोही गाउँपालिकाका स्वास्थ्य निरीक्षक बली बुढाले उनको उद्धार गर्न पहल गरेको वडा कार्यालयले जनाएको छ। बुढाकै पहलमा वृद्धलाई सुर्खेतसम्म लैजाने व्यवस्था मिलाइएको वडा–९ का वडाध्यक्ष रतन बुढाले बताए।

स्थानीयका अनुसार बडुवाल ११ वर्षदेखि ओडारमा बस्दै आएका थिए। बुढेसकालमा स्याहारसुसार नपाउँदा उनी बाथरोग र दम रोगले थलिएका छन्। तर, उनलाई शनिबार वीरेन्द्रनगरस्थित वृद्धाश्रममा लगिएको हो। वडाध्यक्ष बुढाले भने, ‘उहाँको घरमा कोही पनि परिवारका सदस्य छैनन्। भएको जग्गा पनि छिमेकीले उपभोग गर्दै आएका छन्।

पछिल्लो समय उहाँको हाडजोर्नीमा पनि समस्या आएपछि समस्या भएको थियो। मागेरै छाक टार्दै आउनु भएको थियो।’ ओडारबाट उद्धार भएसँगै उनले नयाँ जीवन पाएको स्थानीयको भनाइ छ। अधिकांश समय उनले छायाल बजार नजिक रहेको ओडारमा नै रात बिताउँदै आएका थिए।

उनलाई सुर्खेतसम्म लैजानका लागि वडा कार्यालयले नै यातायात खर्चको व्यवस्थापन गरेको थियो। गाउँपालिकाका स्वास्थ्य निरीक्षक बुढाले भने, ‘हिउँदको समयमा निकै चिसो बढेको छ। यस्तो दयनीय अवस्थामा उहाँलाई एक्लै ओडारमा बसेको देखें। उहाँको उद्धारका लागि सुर्खेतमा कुरा भयो। वृद्धाश्रमले जिम्मा लिएपछि अब उहाँले नयाँ जीवन नै पाउनुभयो।’

चिसो र रोगका कारण थलिएका बडुवालको अब सुर्खेतमा नै स्याहार हुने भन्दै बुढाले ओडारको बासबाट मुक्त भएपछि खुसी व्यक्त गरे। ओडारमा हुँदा उनलाई रोगले च्यापेको र छाक टार्न पनि समस्या परेको थियो।

अन्नपुर्ण 

तपाईको प्रतिक्रिया