स्टाफ नर्सः मन परेको तर ‘अपजसी’ पेशा

सिर्जना बुढाथोकी

सुर्खेत,१० माघ ।

कर्णाली प्रदेश अस्पतालमा जाँदा त्यहाँको भौतिक पूर्वाधार अनि संरचना देख्दा थोरै भएपनि दुःख भुलाउँछ । आफन्त विरामी भएर अस्पताल पुगेका आफन्तको मन भूलाउन केहि गर्नुपर्दैन अस्पतालका नर्स, डक्टरले मीठो शब्द बोलिदिए पुग्छ ।

उनीहरुको मीठो बोलीवचन र मिजासिलो बानी व्यहोराले विरामीको आधा रोग निको हुन्छ भनिन्छ । समस्यामा परेर गएका विरामीलाई रुखो बोली बोलेर झन तनाव दिन्छन् भन्ने स्वास्थ्यकर्मी र नर्सलाई लाग्ने अपजस र आरोप जुन छ, त्यो हुनै हुँदैन भन्ने मान्यता राख्छिन् कर्णाली प्रदेश अस्पतालमा वरिष्ठ अस्पताल नर्सिङ्ग निरीक्षकका रुपमा कार्यरत कल्पना थापालाई ।

अनि आफु  र आफु जस्ता थुप्रै नर्सलाई काम अनि दुःख अनुसारको सेवासुविधा नदिनु पनि अपमान हो भन्ने उनलाई लाग्छ । अस्पताललाई मन्दिर र स्वास्थ्यकर्मीलाई भगवानका रुपमा बिरामीले लिने हुँदा अस्पताल र त्यहाँका कर्मचारीले गर्ने व्यवहारमा परिवर्तन आउनुपर्नेमा उनको जोड् छ ।

अरुको जिन्दगी बचाउने मन्दिर अस्पताल भएकाले सबैको आर्शीवाद मात्रै होइन अधिकांश गाली खाने अपजसी पेशा पनि स्वाथ्यकर्मीको भएको कल्पनाको काम गर्दै गर्दाको अनुभव छ ।

बाल्यकालः

म अहिले ३९ वर्षकी भएँ । सुर्खेतको वीरेन्द्रनगर–६ मा जन्मिएकी म राम्रै परिवारमा हुर्किएकी छोरी हुँ । मलाई अभाव खासै के हो थाहा भएन । मेरो बुवा व्यवसायी भएकाले पनि म र मेरो परिवारका सदस्यलाई खासै समस्या भोग्नुपरेन जस्तो लाग्छ मलाई ।

चाहेको सबै पूरा भएन होला तर सबै चाहेका चिज जायज नभएरपनि हुन्सक्छ तर पढाई लेखाई, खानपान, लगाउने कुरामा कहिल्यै कमी भने भएन् । सानैदेखि मलाई स्वास्थ्य क्षेत्रनै राम्रो लाग्ने । विरामी भएर हस्पिटल जाँदा पनि मलाई डाक्टर, नर्स देख्दा खुशी लाग्ने र म पनि ठूलो भएर यस्तै काम गर्छु भन्ने लाग्थ्यो ।

मलाई सानो हुँदा घरमा आउने आफन्त, मेरो बुवाआमाले ठूलो भएर के गर्छौ भन्दा डक्टर भन्ने गर्थे मैले । अनि मलाई नर्सको पोशाक असाध्यै मन पर्ने । सायद यहि लगाव भएर होला आज मलाई यो पेशामा पुर्यायो । मेरो बुवाको मैले थाहा पाउने उमेरबाट हो आजसम्म पनि वीरेन्द्रनगरको बुद्धपथमा वसन्त फोटो स्टुडियो छ ।

परिवारमा मेरो बुवा, आमा र हामी दुई भाई दुई बहिनी हौ । मैले कक्षा तीनदेखि सातसम्म एसओएसमा पढे त्यसपछि आठ कक्षादेखि दशसम्म भैरवस्थान माविमा पढे । म कक्षामा पहिलो या दोश्रो त भइन् तर मेरो पढाई राम्रै थियो टप टेनमै पर्थे ।

नर्सिङ्ग पढ्न नेपालगञ्जः

मैले एसएलसीपछि नर्सिङ्ग पढ्नका लागि नेपालगञ्ज जाने योजना बनाए । जन्मेदेखि घर बाहिर नगएकी म, जिल्ला बाहिर जाने कुराले मेरी आमालाई तनाव बढायो । आमाको ईच्छा, छोरी बाहिर नजाओस् भन्ने थियो भने बुवाको इच्छा पढाईको लागि जहाँ पनि जानुपर्छ भन्ने थियो ।

बुवाको सपोर्ट र आमाको माया अनि रेखदेखले नै मलाई हौसला मिल्यो । त्यसपछि म तीन वर्षे नर्सिङ्ग पढ्नका लागि नाम लेखाउन गए र इन्ट्रान्स दिएँ । त्यो समयसम्म मेरो साथमा लागेर मेरी आमा नेपालगञ्जसम्म संगै जानु भएको थियो । जब मेरो नाम निस्कियो अनि म अब नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा पढ्नका लागि गएँ, त्यहाँ रहँदासम्म म होस्टेलमै बसेर पढे ।

घर छोडेर बाहिर पढ्न गएकी म सजिलो पक्कै थिएन तर मैले मेरा बुवाआमाले मप्रति गरेको विश्वास र मायालाई सम्झिएर कहिल्यै गलत कदम उठाइन् र लगनशीलताका साथ पढाई सके । यो बीचमा नर्सिङ्गमा के गर्ने केहि थाहा थिएन । पछि पढाई हुँदा साथीहरुसंग रमाइलो अनि धेरै प्रयाक्टीकल हुने भएकाले समाजमा जानुपर्ने हुन्थ्यो ।


फिल्डमै गएर काम गर्नुपर्ने हुँदापनि पढाईसंगै रमाईलो पनि हुन्थ्यो, सिक्ने अवसर हुन्थ्यो । पढेर पास पनि भए र पास हुनासाथ कोहलपुर मेडिकल कलेजमा जागिर गर्न थाले । मसंग पढेका साथीहरु हामी १८ जनाले पास गरेर संगै जागिर गर्न थाल्यौ ।

भने जस्तो तलब नपाएपनि पढिसकेपछि काम गर्नै प¥यो । त्यसपछि मैले लोकसेवाको तयारी गर्दै काम गर्दै गरे । पछि मसंगै मेरा १५ जना साथीले लोकसेवामा नाम निकाल्यौ । हामी कोहलपुर मेडिकल कलेजमा काम गर्ने एउटै डिपार्टका १५ जनाले नाम निकालेर त्यहाँ छोडेर जादा केहि समय मेडिकल कलेजलाई पनि समस्या भयो ।

सरकारी सेवामा प्रवेश अनि संघर्षः

काम गर्दै गरेको मेडिकल कलेज छोडेर मैले सरकारी सेवामा प्रवेश गरे । पहिलो पटक मलाई पोष्टिङ्गमा जाजरकोट खटाइयो र म गएँ । त्यहाँ गएर मैले करिब ६ महिना काम गरे । त्यसपछि अहिलेको प्रदेश अस्पताल (पहिलाको जिल्ला अस्पताल सुर्खेत) मैले वि.सं. २०५९ सालमा हुँदादेखि काम गर्न सुरु गरेकी हुँ ।

करिब तीन चार वर्ष सुर्खेत जिल्ला अस्पतालमा काम गरेर म काठमाण्डौंको कान्ति बाल अस्पतालमा पनि काम गर्नका लागि गएँ । यस अवधिमा मैले भखैरै विवाह गरेकी थिएँ । श्रीमान्पनि सरकारी सेवामा काम गर्ने अनि म पनि सरकारी सेवामा काम गर्ने भएकाले हामी धेरै समय साथमा बस्न पाएनौ ।

मेरो श्रीमान् नेपाली सेनाको मेजर हो । कामकै सिलसिलामा हामी धेरै टाढा थियौ । बेला बखतमा हुने विदा, चाडपर्वनै हाम्रो संगै हुने अवसर थियो त्यो समय । पछि श्रीमान्ले पनि सरुवा गरेर सुर्खेत आउनुभयो म पनि काठमाण्डौं छोडेर फेरि प्रदेश अस्पताल सुर्खेतमा सरुवा आए । अनि अलि सहज भयो ।

यसपछि मेरा एक छोरी एक छोरा भए । मेरी छोरीले अहिले कक्षा १२ पास गरेकी छिन् भने छोरा पनि पढ्दै छन् । पहिला अरु अस्पतालमा काम गर्दा जुन जनशक्ति, सामाग्रीको अभाव प्रदेश अस्पतालमा आइसकेपछि भोग्नु परेन । यहाँ काम गर्न सहजनै भयो ।

सबै भन्दा ठूलो समस्या भनेको समयमा सामाग्री आईनपुग्नु, विरामीले चाहेको सेवा नपाउनु र जनशक्ति अभाव हुनुले स्वास्थ्य क्षेत्रमा कहिल्यै फड्को मार्न सक्दैन । मैले प्रदेश अस्पतालमा आइसकेपछि ओसीएमसी, सुरक्षित गर्भपतन, परिवार नियोजन र गाइनो वार्डमा पनि काम गरे तर सामाग्री अभाव भन्ने महसुस भएन । चाहिएको सामाग्री तुरुन्तै आइपुग्ने भएकाले पनि सेवा दिंदा सहज भयो ।

म सिनियर भएको हिसाबले पनि आपूmभन्दा तलका भाइबहिनीलाई सिकाउने काम गरेकी सेवा दिन कुनै ढिलासुस्ति नगर्नुस् भनेर । हामी स्वास्थ्यकर्मीलाई काम गर्दा जति तनाव हुन्छ त्योभन्दा पनि सेवा ग्राहीले दुःख नपाओस् भन्ने सधै मेरो मनमा हुन्थ्यो । प्रदेश अस्पतालमा एउटा यो रुल छ कि हरेक स्टाफहरु रुल,रेगुलेशनमा बस्नुपर्छ ।

आफ्नो कामको समयअवधिभर काममै केन्द्रित हुनुपर्ने हुन्छ यहाँ । धेरै जस्तो सरकारी कार्यालयमा कामको समयमा पनि चियाको समयमा घण्टौ बिताउने, घाम तापेर बस्ने र सेवाग्राहीले सेवा नपाउने जस्ता समस्या हामीले हुन दिनु हँुदैन भन्ने लाग्छ । हामीले गर्ने काम, समय सबै सतप्रतिशत मन दिएर गर्नुपर्ने हुन्छ । जीवन बाँच्ने र बचाउने पेशा भएकाले पनि यो विषय सेन्सिटिभ हो । हामीले अरुको जीवनसंग खेल्न मिल्दैन् ।

कोभिडलाई नजिकबाट नियाल्ने मौकाः कोभिडको समयमा निकै सकसपुर्ण जिवन भयो । यो अवधिमा नर्सिङ्ग स्टाफले धेरै काम गरे तर सरकारले नर्सलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पर्छ । नर्सिङ्ग पेशामा भएको आकर्षण यस्तै हो भने अब घट्न सक्छ किनभने पढाई र काम गर्दा कति खर्च दुःख छ भनेर सरकारले बुझेको छैन् ।

कोभिड अवधिभर परिवार, घर छोडेर अस्पतालमै बसेर जिवनको माया मारेर पनि काम गरे । हामीले पनि यसरीनै काम गर्यौ । कति हाम्रै अगाडी मृत्यु भयो । काभिड जस्तो महाँमारी आएर पनि जिवन, संघर्ष, स्वास्थ्य, सरसफाई जस्ता कुरा सिकाएर गयो ।

हामीले जानेर पनि धेरै काम नजाने जस्तै गरेका हुन्छौ त्यो कुरा कोभिडले सिकायो । विरामीलाई उपचार संगै, सेवा, मनोविमर्शको काम पनि गरिम् । घरको परिवारले पनि यो पेशा छोड भन्ने सम्मको अवधि आएको हो । रोजाईको पेशा भएकाले पनि मन यसतर्फ छोड्न सकिएन् ।

आफ्नो जिवनको बारेमा नसोचेर काम गरियो । अस्पतालमा दक्ष जनशक्ति, सामाग्रीहरु आवश्यक नभएसम्म सेवा दिन पनि सकिदैन त्यसैले पनि अस्पतामा हरेक सुविधा हुन जरुरी छ । अर्को कुरा सेवा सुविधा पनि अस्पतालमा आउने हरेक किसिमका, हरेक वर्ग आउने ठाउँ भएकाले पनि विरामीहरुको अवस्था हेरेर उपचारमा सहुलियत पनि दिन आवश्यक छ ।

आजसम्मको काम गर्ने सिलसिलामा मन, तन, दत्तचित्त भएर काम गरेको छु र सेवा अवधिभर यसरीनै गर्ने छु । मलाई केहि वर्ष अगाडी प्रदेश अस्पतालले बेष्ट कर्मचारी भनेर सम्मान पनि गरेको थियो । त्यो समयमा जुन खुशी लागेको थियो त्यो नै मेरा लागि सम्पत्ति हो । कामको कदर भयो भने यो जत्ति खुशी अरु हुदो रहेन छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार