कक्षा दोहोर्याउनुपर्ने वाध्यताःपाँच कक्षामा तीन वर्ष

पुनम वि.सी.
सुर्खेत, १० माघ ।
हुम्ला सदरमुकाम सिमकोट गाउँपालिकाबाट ५० कोष टाढा तीन वटा गाउँ रहेका छन् । पूर्वबाट क्रमश्ः जाङ, हल्जी र तिल गाउँ रहेको यस वडामा तीन वटा विद्यालय सञ्चालनमा छन् । पाँच कक्षासम्म अध्यापन हुने यी विद्यालयहरुमा पढ्ने बालबालिका कक्षा पाँच पास गरेपछि फेरि दोहो¥याएर त्यहि कक्षामा पढ्ने गर्छन् ।

तीन वटै गाउँमा तीन वटा विद्यालय सञ्चालनमा छन्, भृकुटी प्राथमिक विद्यालय, सुनखानी प्राथमिक विद्यालय र हिमशिखर प्राथमिक विद्यालय । यी विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीलाई ६ कक्षामा भर्ना हुन नजिकको विद्यालय नै तीन दिनको पैदल दूरिमा पर्छन् । पाँच कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई ६ कक्षामा भर्ना हुन सम्भव नभएपछि उनीहरु ५ कक्षामा दोहो¥याए पढ्ने गरेका हुन ।

‘जाङ, हल्जी र तिल गाउँका विद्यार्थीलाई शिक्षामा निकै समस्या छ ।’ नाम्खा गाउँपालिकाका शिक्षा अधिकृत मनराज बुढाले भने, ‘कि ६ कक्षा पढाउन काठमाण्डौं पठाउनुपर्यो कि भने फेरि ५ कक्षा नै पढाउनुपर्याे ।’ हल्जी गाउँमा रहेको सुनखानी प्राथमिक विद्यालयमा अहिले ४५ जनाको हाराहारीमा विद्यार्थी छन् ।

कक्षा पाँचमा मात्र सात जना विद्यार्थी अध्ययन गरिरहेका छन् । ‘यी विद्यार्थीमा पनि कत्तिले कक्षा दोहोर्याएका हुन् । तीन वर्षसम्म पनि दोहो¥यायर पाँच कक्षामा विद्यार्थीले पढ्नुपर्ने बाध्यता छ’ उनले भने ।

सुनखानी प्राविका प्रध्यानाध्यापक कर्णजीत बुढाले उपल्लो कक्षासहितको विद्यालय गाउँ नजिकै नहुनु, अभिभावकहरुले पनि काठमाण्डौं पढ्न पठाउन नसक्ने भएका कारण स्थानीय विद्यार्थीलाई कक्षा दोहोर्याउने बाध्यता रहेको स्वीकारे । ‘पाँच कक्षा दोहोर्याएपछि विद्यार्थीहरुको अन्तिम विकल्प भनेकै विद्यालय छाड्नु हो ।’उनी भन्छन्, ‘आर्थिक अवस्था कमजोर भएका कारण पनि बालबालिकालाई उनका अभिभावकले आवासीय सुविधा प्रवन्ध गरेर अन्यन्त्र पठाउन सक्दैनन् ।’

यो त्यहि गाउँ हो, जहाँ हिमपातका कारण खाद्यान्न संकट भएर केहि समय पहिले जोहोको स्थानीयवासीहरु गुहार माग्न वेशीतिर झरेका थिए ।

नाम्खा गाउँपालिकाको ६ नं. वडाका अध्यक्ष पल्जोर लामाले बाहिर पढ्न जानलाई चाहिनेजत्ति पैसा नभएपछि पढ्न स्कुले केटाकेटीले पढाई छाडेर घरायसी कामधन्दामै समय बिताउनुपर्ने अवस्था रहेको बताए ।
विद्यालयमा कक्षा थप गर्नका लागि पालिकालाई अनुरोध गरिरहेको प्रध्ध्यानाध्यापक बुढा बताउँछन् । तर यस विषयमा भने पालिकाले हालसम्म पनि निर्णय नगरेको उनले जानकारी दिए । उनले भने, ‘कक्षा थप गर्न हामीले भनिरहेका छौँ । अहिलेसम्म भएको त छैन, हेरौँ के हुन्छ ।’

नाम्खा गाउँपालिकाले भने सुनखानी प्राविमा कक्षा थप गर्ने तयारीमा रहेको पालिकाका उपाध्यक्ष तक्दिर लामा बताउँछन् । उक्त क्षेत्रमा पाँच कक्षा अध्ययनपछि विद्यार्थीहरुसँग बौद्ध गुम्बाहरुमा धार्मिक अध्ययनका लागि जाने बाहेकको विकल्प नभएको उनले बताए । ‘पालिका आफैमा आर्थिकरुपले सक्षम त छैन ।’ उपाध्यक्ष लामा भन्छन,‘तर कक्षा थप गर्दा भवन, जनशक्तिलगायतका खर्चहरुको लागि सामाजिक संघसंस्थाहरुसँग समेत सहकार्य गर्ने योजनामा छौँ ।’

साक्षरता दर बढेको तथ्यांक

पढ्नकै लागि अनेकौं अपत्यारिला दुःखकष्ट भोग्नुपर्ने कर्णाली प्रदेशमा साक्षरता प्रतिशत भने ८२ दशमलव एक प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ७१ प्रतिशत रहेको कर्णालीको साक्षरता प्रतिशत २०७७÷०७८ मा ७६ दशमलव चार प्रतिशत रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।

प्रदेशमा आधारभूत शिक्षामा खुद भर्नादर ९६ दशमलव ६ प्रतिशत रहेको छ भने माध्यमिक शिक्षा तहमा खुद भर्नादर ७२ दशमलव दुई प्रतिशत रहेको छ ।कर्णाली प्रदेशमा कुल पाँच हजार नौं सय ६२ वटा शैक्षिक संस्थाहरु छन् । प्रदेशमा ५६ वटा क्याम्पस, तीन हजार ३८ वटा सामुदायीक विद्यालय, एक सय ४९ वटा संस्थागत विद्यालय, ६ सय ४२ वटा माध्यमिक विद्यालय, दुई हजार पाँच सय ४५ वटा आभारभूत विद्यालय, दुई हजार सात सय १९ वटा बालविकास केन्द्रसहित एउटा विश्वविद्यालय सञ्चालनमा छन् ।

आधारभुत तहमा कुल १० हजार ५४ जना शिक्षक कार्यरत रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा सामाजिक विकास मन्त्रालयले आफ्नो बजेटको कुल १४ दशमलव तीन प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि छुट्टाएको थियो ।

मन्त्रालयले कार्यक्षेत्रगत रुपमा बजेट वर्गीकरण गर्दा शिक्षा क्षेत्र दोस्रो स्थानमा छ । २०७८÷०७९ मा मन्त्रालयले शिक्षा क्षेत्रका लागि कुल ९१ करोड ७६ लाख ८२ हजार रुपैयाँ बजेट विनियोजन गर्दा ६५ करोड ६७ लाख ८६ हजार रुपैयाँ बजेट खर्च गरेको देखिन्छ । पूँजीगत बजेटतर्फ मात्रै कुल ३२ करोड ४१ लाख ३२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

तपाईको प्रतिक्रिया