प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल

काठमाडौँ ,९ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई सोमबार नियुक्त गरेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको र नियुक्ति दिएको गजुरेलले बताए । ’मैले पार्टीमा जिम्मेवारी दिनुस भनेर आग्रह गरेको थिए तर मसँगै बसेर काम गर्नुपर्छ भनेर प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिनुभयो,’ गजुरेलले भने ।

सिन्धुली स्थायी घर भएका गजुरेल २०७४ मा सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा भने उनले टिकट पाएका थिएनन् । २०३३ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनी २०४२ सालमा नेकपा (मसाल) को केन्द्रीय सदस्य भएका थिए ।

२०७० मा माओवादीको कोषाध्यक्ष बनेका उनी २०७५ मा स्थायी समिति सदस्य थिए । उनी संविधानसभा सदस्य निर्वाचन २०७० मा सिन्धुली–३ बाट निर्वाचित भएका थिए । २०७२ मा उनी कृषिमन्त्री भएका थिए ।

प्रधानमन्त्री दाहालले यसअघि स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित ७ जनालाई नियुक्ति दिइसकेका छन् । प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्रीले स्वकीय सचिवमा रमेश मल्ल र छोरी गंगालाई नियुक्त गरेका थिए भने स्वकीय सहसचिवका रुपमा मनहरि तिमिल्सिना, सूर्यकिरण शर्मा, शिव खकुरेल र गोर्कण भट्टलाई नियुक्त गरिएको थियो । शर्माले प्रेस संयोजक र तिमिल्सिनाले प्रेस विज्ञको रूपमा काम गर्ने जिम्मेवारी पाएका छन् । प्रधानमन्त्रीको फोटो पत्रकारमा भने राससका प्रदीपराज वन्तलाई जिम्मेवारी दिइएको छ ।

कान्तिपुर

तपाईको प्रतिक्रिया