संर्घष र सफलता : अटोले गुडाएको जिन्दगी

सिर्जना बुढाथाेकी

सुर्खेत,९ माघ ।

वीरेन्द्रनगर–९ कि भावना गुरुङ्ग माझीका तीन छोरी छन् । शिव मावि लाटिकोइलीमा उनकी जेठी छोरी कक्षा सात, माइली कक्षा पाँच र कान्छी छोरी कक्षा तीनमा पढ्दै छन् । श्रीमान्ले पनि राम्रो जागिर नभएपछि घर चलाउन चाउमिन फ्याक्ट्रीमा काम गर्थे । तर त्यतिले मात्रै नपुगेपछि श्रीमान्लाई सघाउन र आफ्नो खाली समय सदुपयोग गर्न कुखुराको मासु बिक्रि गर्ने काम गर्थिन् ।

दिनमा तीन चार वटा कुखुरा काटेर घरखर्च चलाइरहेकी थिइन् । छोराछोरी ठूला हुँदै गएपछि उनका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेशियातर्फ लागे अनि उनी पनि व्यापार छोडेर अटो सिक्न थालिन् । अहिले दिनमा खर्च कटाएर हजार बढी कमाई रहेको उनी बताउँछिन् । चाडपर्व अनि विशेष दिनमा राम्रो कमाई भयो भने पाँचदेखि सात हजारसम्म कमाई हुने भन्दै उनी निकै खुशी छिन् ।

बाल्यकाल

दैलेख जिल्लाको मुल्कीविजौरामा मेरो जन्म भएपनि म धेरै वर्ष त्यहाँ बसेन् । म अहिले ३२ वर्षकी भएँ । त्यो समय सम्झिदा मेरो घरमा हजुरबुवा, हजुरआमा, बुवाआमा, हामी चार बहिनी अनि एक भाई भएको परिवार थियो । मैले मेरै गाउँको विद्यालयमा कक्षा पाँचसम्म पढेकी हुँ । निम्न वर्गीय परिवारमा जन्मिएकी म कामकाजसंगै समय व्यवस्थापन गरेर पढ्नुपर्ने थियो । बुवाको जागिर केहि नभएकाले मेरो परिवार सबै खेतीपाती मै व्यस्त हुन्थ्यो ।

म र मेरा बहिनीहरुले पनि आमाबुवालाई काममा सघाउने र भाईको रेखदेख गर्ने गथ्र्यौ । विद्यालय पनि घरदेखि करिब दुई तीन घण्टा लाग्ने हुदा सानोमा हामीलाई विद्यालय जान निकै सकस हुन्थ्यो । मेरो आमा विरामी भैरहने हुँदा बुवाले हामीलाई सुर्खेत ल्याउनुभयो ।

दैलेखमा भएको घर–जग्गा बेचेर सुर्खेत आयौं । बुवा आमाले पनि सुर्खेत आएर सानो तिनो नास्ताको पसल थाल्नुभयो । मैले पाँच कक्षा दैलेखबाटै पास गरेकोले सुर्खेत आएर जन उच्च माविमा कक्षा ६ मा पढ्न लागे ।  त्यसपछि राम्रै संग पढ्दै गए अनि त्यहि विद्यालयबाट मैले कक्षा ९ पास भएँ तर एसएलसी पास गर्न सकिन । त्यसपछि मैले विवाह गरे ।

संघर्षका दिन

विवाहपछि मेरो जीवनमा अर्को संघर्षको दिन शुरु भयो । श्रीमान्को जागिर नभएकाले मलाई निकै अभाव खड्कियो । चाहेको कुरा लाउन, खान नपाउँदा निकै दुःखी बनाउँथ्यो त्यो समयले ।  आफुसंग कुनै सीप पनि थिएन, श्रीमानको जागिर थिएन परिवार पनि त्यति सम्पन्न नभएकाले मैले अलिकति अभाव भोग्नुपर्यो । मेरो श्रीमान्ले हाम्रो खर्च चलाउन वीरेन्द्रनगरको एक चाउमिन फ्याक्ट्रीमा काम गर्न थाल्नुभयो । उहाँले कमाएर ल्याउने सात–आठ हजारले केहि राहत त हुन्थ्यो नहुनुभन्दा । तर मेरा छोराछोरीको खर्च गरेर अलि घर चलाउन सकस भयो ।

उनीहरुले चाहेको चिज खान, दिनसक्ने अवस्था पनि मसंग भएन अनि उनीहरुका लागि राम्रो लगाउन दिन पनि मलाई समस्या भयो । बिस्तारै मैले पनि अब केहि गर्नुपर्छ भनेर कुखुरा काटेर मासु बेच्ने योजना बनाएँ । दिनमा दुईदेखि तीन अनि चाडपर्वको बेलामा पाँच छवटा कुखुरा काटेर बेच्न थाले । मैले यतिबेला पनि निकै दुःख गरे ।

किनकी कुखुरा लिनका लागि पनि टाढा जानुपर्ने । धन्न साइकल चलाउन जानेकी थिएँ । एउटा पुरानो साइकल किनेर कुखुरा बोक्नका लागि बनाए । धेरै टाढासम्म पुगेर कुखुरा साइकलमा राखेर चलाएर आउने गर्थे । यो व्यवसायले पनि केहि ठीकै भयो । यहि त हो गाउँको व्यापार आधा त उधारोनै जान्थ्यो । श्रीमान्ले पनि यसरी घरखर्च चलाउन समस्या अनि बस्नका लागि बास, खानका लागि गाँस र जिउढाक्न लत्ता कपडाको जोहो गर्न वैदेशिक रोजगारीमा जाने योजना बनाउनुभयो ।

उहाँले रोजगारीका लागि मलेशिया जाने योजना बनाएपछि मैले पनि ऋण लिएर उहाँलाई पठाएँ । दुःखीको जीवन कहि गएर पनि बद्लिदैन भन्ने कुरा यहाँबाट पनि पुष्टि हुन्छकी मेरो श्रीमान् कमाउन गएपनि उहाँको कमाई खासै राम्रो भएन ।


आफ्नो देश छोडेर विदेशी भूमिमा पुग्दा पनि तीस हजार कमाई हुन्छ भने उसले के खान्छ र के घर पठाउँछ ? खाना खर्च कटाएर दुई तीन महिनामा तीस चालिस हजार पठाउन थाल्नुभयो ।  तर अहिले भने विस्तारै त्यहाँको एक हजार तलब बढेर पन्ध्र सय पुगेको छ ।

नगरपालिकाको अनुदान

श्रीमान् विदेश गएपछि कुखुराको मासु बेचेर नपुग्ने हुँदा समस्यामा थिएँ । मेरो देवर पनि गाडी लाइनमै भएकाले उहाँले थाहा पाएर अटो सम्बन्धि तालिम खुलेको कुरा सुनाएपछि मैले पनि उहाँको कुरा सुनेर अटो सम्बन्धि निःशुल्क तालिम पाउने कुरा के रहेछ बुझ्न गएँ ।

इत्राममा रहेको लेकाली ड्राइभिङ्गका एकजना दाईले अटो सिक्ने भए वडाबाट सिफारिश लिएर आउन भन्नुभयो र उहाँले भने बमोजिम मैले वडाको सिफारिस लगेर नाम लेखाएर फर्किएँ । त्यो तालिम वीरेन्द्रनगर नगरपालिकाको कार्यालयले महिलाका लागि अटो सिकाउने भन्ने रैछ । यो ९ नम्बर वडाबाट हामी पाँच छ जना महिला थियौ ।

त्यसपछि तालिम लिएका सबैजनामध्ये एक वडाबाट एकजनालाई अनुदान दिने रैछ अटो किन्नका लागि । तालिम लिएका सबैजनाले त्यसको लागि फर्म भर्नुभयो, परीक्षा भयो, अटो चलाएर चेक भयो अनि अन्र्वार्ता पनि भयो । भगवानको कृपा हो वा मेरो भाग्य जसका कारण हाम्रो वडाका ६ जनामध्ये म छानिएँ ।

त्यसपछि फेरि छानिएका जति सबैलाई नगरपालिकाले फेरि एक महिनाका लागि तालिम दियो । त्यो तालिम सकेको करिब पाँच महिनापछि अब छानिएका सबैले लाइसेन्स निकाल्ने अनि मात्रै नगरपालिकाबाट अटो पाइन्छ भन्ने भएपछि लाइसेन्स पनि निकालियो । नगरपालिकाले स्वरोजगारका लागि भनेर दुई लाख दिने र बाँकी शोरुममा अटो चालकको नाममा बिना व्याजमा किस्तामा अटो निकाल्दिने कुरा भयो ।

नगरपालिकाले दिने दुईलाखमा एक लाख सहुलियत अनि एक लाख भने शोरुमको किस्ता सकिएपछि नगरपालिकालाई फिर्ता गर्ने सर्तमा हो । नगरपालिकाले हामी तालिम लिइसकेका सबैलाई अन्तिम पटक बोलाएर तपाईहरु पक्का चालक भैसक्नुभयो भने मात्रै अटो लिनुस किनकी यो बाटोमा गुड्ने चिज हो भोलि यसको कारणले अरुको ज्यान तलमाथि हुनुभएन भन्ने सर्त राखेपछि हामीले सहमतिमा अटो लिइम् ।

तर अब मैले अटो चलाउन थालेको पनि अब डेढ वर्ष भैसकेको छ अब मेरो शोरुममा ऋण भनेको ६५ हजार मात्रै बाँकी छ । व्याज लाग्दैन के रे, किस्ता मात्रै हाल्ने हो तर फिक्स समयमा हाल्नुपर्छ नत्र हर्जाना भने लाग्छ ।

कमाई÷जोखिम उत्तिकै

चाडपर्व, विशेष दिन, मानिसको चहलपहल बढी भएको बेला पाँच–सात हजार भन्दा बढी कमाई पनि गरेको छु। तर अहिले केहि भएन भनेको दिनमा पनि यसमा लाग्ने तेल, सर्भिसिङ्गका लागि रकम छुट्याउँदा पनि करिब दिनको एक हजार बढीनै कमाई हुने गरेको छ । कमाई मात्रै पनि गरेर हुँदैन आफ् नो मन, तन सबै लगाउनुपर्छ ।

यो काम अति जोखिमपूर्ण काम रहेछ मैले महशुस गरेकी छु। आफु, प्यासेन्जरदेखि बटुवाको मात्रै होइन् जीवजनावरसम्मको ज्यान जोगाएर हिड्नुपर्ने हुन्छ । सानो तनाव भयो भनेपनि मानिसले केहि गर्न सक्दैन तर मनमा जे छ घरमै छाडेर गाडी चलाउँदा खुशी साथ चलाउनुपर्छ ।

तनाव लिन थाल्यो भने ध्यान केन्द्रित हुँदैन जसले काममा समस्या ल्याउन सक्छ भनेर मैले घरबाट अटो निकाल्ना साथ सबै पीडा बिर्सिएर चलाउनमै ध्यान दिने गरेकी छु।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार