हुम्लामा हिमपातले किसान हर्षित

हुम्ला,६ माघ ।

हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात भएपछि किसान खुसी भएका छन् । हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको हो । बिहीबार बिहानदेखि मौसममा बदली भई हुम्लामा भारी हिमपात भएको छ ।गत वर्षहरुमा पुस लाग्दा बित्तिकै धेरै पटक हिमपात हुने हुम्लामा यो पटक भने माघ पहिलो सातामा हिमपात भएको हो । हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

हिमपात भएपछि सिमकोट आसपासका गाउँबस्ती सेताम्य देखिएका छन् । हिउँ पर्ने क्रम जारी छ । हिमपातसँगै अत्यधिक चिसो बढेकाले जनजीवन भने प्रभावित भएको छ । हिमपातले गर्दा हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध भएको छ ।

गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परे पनि सिमकोटमा भने पहिलो पटक हिउँ परेको हो । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि हिउँ खेलेर रमाइलो गर्न थालेका छन् । रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीका जनजीवन झन् कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी परियारले बताइन् ।

उत्तरी हुम्लाका बस्तीहरुमा बाक्लो हिउँ जमेका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । मौसम बदलीका कारण जिल्लाको तापक्रम १४ डिग्री सेल्सियसमा झरेको छ । स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको चिकित्सक बताउँछन् ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया