वर्षौं लामो संगीतको लतपछि हिट भइरहेका तिलकसिंह पेला 

काठमाडौं,५ माघ ।

अहिले सामाजिक सञ्जालको टाइमलाइनमा एउटा गीत निकै चर्चामा छ। गीतले भन्छः

के लत बस्यो मलाई कहिले सुधार हुन्छ

एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ

शास्त्रीय संगीतको धुनमा रहेको यो गीतले लाखौं मानिसको मन जितिरहेको छ। गीतको भिडिओमा मोडलहरू छैनन् न त मनोरम दृश्य नै। तैपनि यो गीतको भिडिओ युट्युबमा पाँच दिनमा पाँच लाखभन्दा बढी पटक हेरिएको छ। भ्यूज छिनछिनमै बढिरहेको छ। लोक, पप, र्याप र आधुनिक गीतले नेपाली संगीत क्षेत्रमा वर्चश्व जमाइरहेका बेला शास्त्रीय संगीतमा गाइएको यो गजल ‘भाइरल’ भइरहेको छ।

गीतका शब्दमात्र होइन यसको शास्त्रीय संगीत र गायक तिलकसिंह पेलाको स्वरको मधुरतालाई धेरैले तारिफ गरिरहेका छन्। के लत बस्यो‘बाट नेपाली संगीतप्रेमीको दिल जित्न सफल तिलकसिंहले यहाँसम्म आइपुग्न निकै लामो यात्रा पार गरेका छन्। उनले सुदूरपश्चिमको बैतडीबाट काठमाडौं र भारतीय सहर बनारसको दूरी मात्र पार गरेका छैनन् जिन्दगीको आधा समय नै संगीत साधनामा बिताएका छन्।

प्रेमसिंह २०३२ मंसिरमा बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएका हुन्। उनका बुवा भारतीय सेनाबाट अवकाश भएका थिए। उनीअघि तीन जना दाजु थिए। तिलकसिंह ६ वर्षको हुँदा प्यारलाइसिसका कारण उनका बुवाको निधन भयो। सानैमा बुबा गुमाएका उनको बुवासँगको निकै धमिलो सम्झना मात्र बाँकी छ।

‘बुवा बिरामी हुँदा घरमा धामी आएर झारफुक गरेको अलीअली याद छ,’ उनले भने। सानैमा बुवा गुमाए पनि घरको कान्छो छोरा भएकाले तिलकसिंहले धेरै दुःखमा हुर्कनु परेन। ‘कहिले पनि दुःख पाइनँ,’ तिलकसिंहले भने, ‘दाइहरूले सबै कुराहरू पु¥याइदिनुहुन्थ्यो। मेरा इच्छाहरू पूरा नभएका भए बुबा भए त यस्तो हुन्नथ्यो भन्ने भान हुन्थ्यो होला, त्यो नै भएन।’

सानैदेखि तिलकसिंहको रूची पढाइभन्दा गीत–संगीत र खेलकुदमा थियो। एसएलसीमा एक विषय लागेर फेल भएपछि उनले पढाइ छोडिदिए। संगीत सिक्नतिर लागे। स्कुल पढ्दादेखि उनी स्कुलहरूमा गीत गाउँथे। ‘एकजना शिक्षकले मैले गाउँछ, कार्यक्रम हुँदा उनलाई बोलाउनु है भनेर भन्नुभएछ। त्यसपछि त स्कुलहरूमा हुने कार्यक्रममा गाउँथें,’ उनले भने।

तिलकसिंह दाइ कृष्णसिंह गीत लेख्थे। उनी तिलकसिंहलाई ‘तँ गाउन सक्छस्’ भनेर हौसला दिन्थे। कृष्णसिंह साहित्यका पारखी थिए। केही नै केही न लेखिरहेकै हुन्थे। २०५३ सालमा दाजुकै सहयोगमा तिलकसिंह गीत रेकर्डिङ गर्न काठमाडौं आए। रेकर्ड भएको उनको पहिलो गीत ‘कहानी बनेन मेरो केही यस्तै भयो जिन्दगी मेरो‘’ हो। जुन गीत आँशु एल्बममा समावेश छ। यो गीत कृष्णसिंहले लेखेका हुन् भने तिलकसिंहले संगीत भरेका हुन्।

‘आँशु एल्बममा भएका गीत सबैले रूचाएपछि आँशु–२ पनि निकालें,’ उनले भने,‘गीतबाट अलिअलि नाम र दाम कमाएको थिएँ तर त्यसले मलाई सन्तुष्ट दिएन। म शास्त्रीय संगीत सिक्न चाहन्थें।’ नेपालमा शास्त्रीय संगीत सिक्ने ठाउँ निकै कम थिए। नेपालभन्दा भारतमा शास्त्रीय संगीत लोकप्रिय धेरै छ। भारतमा शास्त्रीय संगीत सिक्न उनले गुरूको खोजी गरे। शास्त्रीय संगीतका गुरूले हतपति चेला स्वीकार्दैनन्। भारतमै शास्त्री संगीत सिकिरहेकी एक जना साथीलाई उनले आफ्नो इच्छा सुनाए।


लामो समयको प्रतीक्षापछि उनले तिलकसिंहलाई चेला मान्न तयार गुरू मिलाइदिइन्। बनारसका पण्डित देवाशिष देव गुरूले परीक्षा लिएर उनलाई चेला स्वीकार तयार भए। यो २०६७ सालतिरको कुरा हो। भारतमा शास्त्रीय संगीत सिकेर आएपछि तिलकसिंहले काठमाडौंमा पहिला नै खोलेको संगीत विद्यालय चलाइरहेका थिए। बेला–बेला गीत पनि गाउँथे, संगीत पनि भर्थे।

२०७६ चैतमा कोरोनाभाइरसको महामारी आयो। लकडाउन भयो। तिलकसिंह फुर्सदमा भए। लकडाउनको समयमा तिलकसिंह फुर्सदमा थिए। लकडाउनकै कारण उनले चलाइरहेको कृष्ण शास्त्रीय संगीत पाठशाला बन्द भएको थियो। त्यही मौकाको सदुपयोग गर्दै उनी बेलाबखत आफैंले संयोजन गरेको गीतहरू गाउँथे र सामाजिक सञ्जालमा राख्थे।

उनले फेसबुकमा राखेको ‘अलि अलि चोट देऊ‘’ बोलको गजल गजलकार प्रदीपकुमार मैनालीले हेरेका रहेछन्। त्यसपछि प्रदीपले तिलकसिंहलाई खोजेछन्। साथी रवि प्रान्जलमार्फत् गजलकार प्रदीपसँग सँग भेट भएको उनी सम्झन्छन्।  प्रदीपजीले मेरो गीत फेसबुकमा सुन्नुभएको रहेछ। त्यसपछि मलाई भेट्न खोज्नुभएछ,’ उनले भने, ‘त्यसपछि रविजीमार्फत् हाम्रो भेट भयो।’

त्यतिबेला रवि र प्रदीप मिलेर गजल मुस्याइराको लाइभ कार्यक्रम गर्ने योजना बनाइरहेका थिए। उक्त कार्यक्रममा उनले आठ वटा गजल फरक–फरक गायकलाई गाउन लगाएका थिए। उक्त कार्यक्रम प्रदीपले सञ्चालन गरेका थिए भने संगीत संयोजन तिलकसिंहले गरेका थिए। त्यहीबेला उनीहरू दुई जनाको पहिलो सहकार्य भएको हो।

त्यसपछि उनीहरूको मित्रता झाँगियो। एकदिन प्रदीपले ‘के लत बस्यो‘’ गजल तिलकसिंहलाई दिए। प्रदीपले एकचोटि गाउन आग्रह गरे। तिलकसिंह गाउन तयार भएनन्। आफ्ना चेला कमल बिष्टलाई गाउन दिए। आफू संगीत भर्नतिर लागे। प्रदीपले लेखेका हेरक शब्दको गहिराइ बुझ्न कोशिस गरे। ती शब्दले भन्न खोजेको भाव के होला भनेर लय खोज्न लागे।

कुन रागमा लय भर्ने भनेर अलमलमा थिए। एक महिनासम्म विभिन्न रागहरूमा संगीत भरे। उनी सन्तुष्ट भएनन्। ‘विभिन्न रागहरू भर्ने क्रममा राग मालकौंसमा पनि लय भरें,’ तिलकसिंह भन्छन्, ‘त्यसपछि मलाई अलिकति भए पनि चित्त बुझ्यो। अनि प्रदीपजीलाई बोलाएर सुनाएँ।’ प्रदीपले तिलकसिंहले बनाएको लय मन पराए।

‘मैले त मेरो चेला कमल बिष्टले गाउन सक्छ र उसलाई मिल्ने गजल पनि हो भनेको थिएँ,’ उनले भने, ‘मैले त यो संगीत भर्दा नै गजलबाट भरपुर आनन्द लिएर तृप्त भइसकेको थिएँ, उसैलाई गाउन लगाउनुपर्छ भनें तर उहाँ मान्नुभएन। मेरो स्वरमै गजल रेकर्ड गराउने भन्नुभयो।’ उनी गाउन तयार भए।

त्यसपछि तिलकसिंहले आफ्नै चेला रिदम कँडेलको स्टुडियोमा गीत रेकर्ड गरे। म्युजिक भिडिओ बनाउन उनलाई खासै रूची थिएन, त्यसैले आवाजमा केन्द्रित भएर काम गरे। रेकर्डिङ भइरहेको स्टुडियोमा नै गजल गाइरहेको खिच्ने निधो गरे। यो गीत यति धेरै चर्चित होला र आफ्नो संगीत करियरमै एउटा टर्निङ पोइन्ट बन्ला भन्ने उनले सोचेका पनि थिएनन्।

 अहिले के लत बस्यो‘ले पाइरहेको चर्चा देखेर तिलकसिंह हर्षित छन्। अग्रज कलाकारहरूले पनि प्रशंसा गरेको देख्दा उनलाई अचम्मै लागेको छ। ‘यो गजलले यति धेरै सफलता पाउला भन्ने सोचेको पनि थिइनँ। धरैले फोन र म्यासेज गरी गजल एकदमै मन पर्यो भन्नुहुन्छ। त्यो सुन्दा यति आनन्द लाग्छ कि म शब्दमा भन्नै सक्दिनँ।’

संगीतमा लागेको वर्षौंपछि आफूलाई मन परेको गीत स्रोतालाई पनि मन परेपछि तिलकसिंह दंग छन्। आफ्नो गायकीलाई मन पराउनेहरूलाई निराश नपार्ने उनको योजना छ।‘स्रोताहरूको लागि बेलाबेलामा गीतचाहिँ ल्याउने छु। निराश बनाउँदिनँ,’ उनी भन्छन्, ‘आफूले गुरूहरूबाट पाएको ज्ञान पनि सिकाउने नै छु। सिकाउन र सिक्नको लागि एउटा किताब पनि लेखिरहेको छु। त्यो पनि निकाल्ने छु।’

सेताेपाटी 


Leave a Reply

Your email address will not be published.


ताजा समाचार