पाइनले चिनाउँछ ‘सल्यानी खुकुरी’
पुनम वि.सी.
सुर्खेत, ५ माघ ।
गोर्खालीको पहिचान, गरिमा र गौरव बोेकेको खुकरीको ईतिहास र गौरवगाथा नेपालमा मात्र होइन विश्वभरी नै उत्तिकै इज्जत र सम्मानका साथ लिइन्छ । किनकी नेपालीले खुकुरीको सहायतामा कोरेका गौरवका इतिहासले विदेशीहरुले समेत नेपाली खुकुरीलाई सम्मानजनक रुपमा हेर्छन् ।
विश्व इतिहासमा बहादुरीको परिचय दिनुपर्ने भने गोर्खाली, गोर्खालीको परिचय दिनुपर्ने भने खुकुरी र खुकुरीको परिचय दिनुपर्ने भने सल्यानको नाम कहिल्यै टुट्दैन । किनकी विद्यालयस्तरका हाजिरीजवाफ मात्र होइन लोकसेवा आयोगका परीक्षा समेतमा नेपालको सल्यान जिल्ला केका लागि प्रख्यात छ भनेर सोधिने प्रश्नको एकमात्र सहि जवाफ ‘सल्यान’ नै हुनेगर्छ ।
गोर्खालीहरुको वीरताको इतिहास अनि प्रमाण बोक्ने खुकुरीको इतिहास खोज्ने हो भने त धेरै टाढा र पुग्नुपर्ला, तर सल्यानी खुकुरीको इतिहास खोज्ने हो भने वि.सं.२०१७ सालतिर पुगे हुन्छ । किनकी त्यो बेला तत्कालीन राजा महेन्द्र शाही सवारीका क्रममा सल्यान पुगेका थिए । सल्यान भ्रमण गर्ने क्रममा शीतलपाटीमा सल्यानी खुकुरीको खुबै चर्चा सुने ।
त्यसपछि त्यतिबेला चर्चित खुकुरी निर्माता तिलक विकसंग भेटेर १२ थान सल्यानी खुकुरी खरिद मात्र गरेनन्, अझ राम्रा खुकुरी बनाउन चाहिने सरसामानसमेत जोहो गराई दिने वचन दिए । राजा महेन्द्रले काठमाण्डौंमा सल्यानी खुकुरीको व्यापक प्रदर्शन पनि गरे । दोश्रोपटक फेयिर सल्यान जाँदा पूर्व प्रतिवद्धता अनुरुप खुकुरी बनाउन चाहिने सामान समेत उपलब्ध गराएको चर्चा अहिलेपनि सल्यानका बुढापाकाहरु सुनाउने गर्छन् ।
त्यसयता भने सल्यानी खुकुरीको चर्चा देशैभरी चुलियो र सल्यानको परिचय अनि विशेषतापनि खुकुरीसंग गाँसिन पुग्यो । द्वन्द्वको समयमा खुकुरी उत्पादनमा रोक लगाइएकाले २०५०–२०६५ सालसम्म सल्यानी खुकुरीको चर्चा ह्वात्तै घट्न पुग्यो ।
शान्ति पुनः स्थापनापछि भने आफ्नो पुर्खाको विंडो थाम्न सल्यान खलंगाका खुकुरी निर्माताका सन्तानहरुले खुकुरी निर्माणलाई फेरि तीव्रता दिंदै आएका छन । विशेषगरी कुनै कार्यक्रममा अतिथिलाई उपहार स्वरुप सल्यानी खुकुरी दिइने प्रचलनल गर्दा सल्यानी खुकुरीको माग बढ्दै र चर्चा चुलिदै गएको छ ।
वि.सं. २०६७ सालमा सल्यानको खुकुरीले संयुक्त अधिराज्य प्रवेश पायो । शारदा नगरपालिका–२, विश्वकर्मा टोलका ईन्द्रबहादुर विकले यहाँबाट करिव दुई सय ५० गोटा सल्यानी खुकुरी बेलायत पठाएका थिए । त्यहाँ सल्यानको खुकुरी २५ हजार रुपैयाँमा बिक्रि हुन्थ्यो । तर त्यहाँका व्यवसायीले ईन्द्रबहादुरलाई न्यूनतम् मूल्य मात्र पठाउन थालेपछि उनले यहाँबाट खुकुरी पठाउन बन्द गरे । ‘मलाई उहाँहरुले प्रति खुकुरी दुई हजार पाँच सय रुपैयाँ मात्र दिन थाल्नुभयो ।
निकै मेहनेत गरेर बनाएको खुकुरीले कम मूल्य पाएपछि मैले पठाएन । यहाँ व्यापारमापनि घाटा भयो’, उनले भने । तर अहिले, सल्यानी खुकुरीलाई ब्राण्डिङ गरी विश्व बजारमा पहिचान स्थापित गराउने उद्देश्यका साथ ईन्द्रबहादुर आफ्नै अध्यक्षतामा गठन भएको ११ सदस्यीय समितिको नेतृत्व गर्देछन् ।
शारदा नगरपालिकामा अहिले पाँच–सात वटा आरन व्यवसायले मात्र खुकुरी उत्पादन गर्छन् । जिल्लाभर रुपमा ३० देखि ४० वटा आरन व्यवसायले खुकुरी उत्पादन क्षमता राख्नेभएपनि हाल भने शारदा नगरपालिकाको २ नं. वडामा अन्य स्थानको तुलनामा धेरै संख्यामा खुकुरी उत्पादन हुन्छ । वार्षिक रुपमा सल्यान जिल्लाले करिव दुई हजार गोटा खुकुरी उत्पादन तथा बिक्रि गर्दै आएको उनीहरु बताउँछन् ।
सल्यानी खुकुरी उद्योग, संकलन तथा विक्री केन्द्रका निर्देशक यज्ञकुमार विकले भने, ‘यहाँ हाल ४०–५० वटा आरन व्यवसाय सञ्चालनमा छन् होला । तीमध्ये सात वटासम्मले नियमित खुकुरी उत्पादन गरिरहेका छन् । एउटा आरनले अहिले दैनिक एकवटा खुकुरी बनाउन सक्छन् ।’
उनका अनुसार उत्पादनमा जोडिएका आरन व्यवसायीले मागको आधारमा मात्र खुकुरी उत्पादन गरिरहेका छन् ।
‘अर्डर आउँछ अनि उहाँहरुले बनाउनुहुन्छ ।’ उनले भने, ‘हाम्रा खास ग्राहक भनेका सेना–प्रहरी नै हुन् । उहाँहरुले घरायसी प्रयोजन तथा सजावटका लागि खुकुरी खरिद गरेर लैजानुहुन्छ ।’ सल्यानमा विभिन्न कार्यक्रममा आउने विशेष अतिथि र पाहुनाहरुलाई मायाको चिनोस्वरुप खुकुरी दिने गरिन्छ, जो धेरैले रुचाएका पनि छन् । खासगरी सल्यानी खुकुरीमा प्रयोग हुने पाइनका कारण जिल्लामा उत्पादित खुकुरीप्रतिको आकर्षण र लगाव बढेको उनको भनाई छ ।
‘हाम्रो उत्पादनसँग तुलना हुने भनेकै भोजपुरी खुकुरी हो । त्यो खुकुरी पनि नेपालमा निकै रुचाइने खुकुरीमा पर्छ ।’ विकले भने,‘ राम्रो फिनिसिंङले हेर्दा आर्कषक हुन्छ । तर, सल्यानको खुकुरी भने टिकाउ छ ।’ यहाँको पाइनका कारण सल्यानी खुकुरी टिकाउ, बलियो र गुणस्तरीय समेत हुने उनले दावी गरे । पाइन भनेको धारलाई गुणस्तरीय बनाउन पानीको सहायतामा खुकुरीमा चढाउने काम हो । परम्परागत समयदेखि नै पाइनकै कारणले सल्यानका खुकुरी ग्राहकको रोजाइमा पर्ने उनी बताउँछन् ।
खुकुरीमा विविधता
सल्यानमा सामान्य खालका खुकुरी मात्रै उत्पादन हँुदैनन् । खुकुरीका बिँड तथा फलाममा भरिने कलाकृति अबि दापको बनावटमा समेत विविधता पाइन्छ । यज्ञकुमारले भने, ‘ग्राहकको माग अनुसार हामीले फरक–फरक साइजका खुकुरी निर्माण गर्न सक्छौ । उपहारका रुपमा लैजाने खुकुरीका पनि आफ्नै बनावट हुन्छन् ।’
सल्यानमा खुकुरीको लम्बाई मापन र यसको मूल्यमा हातको औंला प्रयोग हुन्छ । आठ औंल लामो खुकुरीदेखि ३२ औंलासम्मका खुकुरीहरु उत्पादन भईरहेका छन् । आठ औंले सामान्य खुकुरीलाई एक हजार दुई सय रुपैयाँसम्म पर्छ । भने, २५ औंलेदेखि ३२ औंलासम्म लम्बाई भएका सामान्य खुकुरीलाई सात हजार रुपैयाँसम्म पर्ने उनले जानकारी दिए ।
यसैगरी उपहारतर्फ उत्पादन हुने खुकुरीहरुमा ग्राहकको रोजाई अनुसारका दाप–बिँड प्रयोग गर्न सकिन्छ । माछा, पेस्तोल, डाँफे, नेपालको नक्सा, मयुर, हात्ति, गैडालगायतका आकृतिका दाप र बिँड बनाइन्छ । ‘गिफ्ट आइटमखाले खुकुरीहरु ग्राहकले उपहार र सजावटका लागि खरिद गर्छन् । हामीले तरबार पनि बनाउँछौ, यसको मूल्य १० हजार रुपैयाँसम्म छ ।’ उनले भने ।
ब्राण्ड बनाउने धोको
सल्यानी खुकुरीलाई उत्पादनका दृष्टिकोणले जिल्लाको ‘ब्राण्ड’ बनाउनतर्फ अहिले स्थानीय पालिका समेत अग्रसर भईरहेको छ । यसअघि शारदा नगरपालिकाले सल्यानी खुकुरीको प्रवद्र्धनका लागि पालिका अन्र्तगत सञ्चालनमा रहेका आरन व्यवसायीसँग छलफल कार्यक्रम समेत चलाएको थियो ।
सल्यानी खुकुरीलाई ब्राण्डिङ गरी विश्व बजारमा पहिचान स्थापित गराउने उद्देश्यकासाथ पालिकाले आरन व्यवसायी ईन्द्रबहादुर बिकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरी खुकुरी व्यवसायलाई एकिककृत गरी सीप, तालिम र उत्पादन बढाउनतर्फ क्रियाशील बनाएको छ ।
‘अन्र्तराष्ट्रिय बजारका लागि ६ देखि आठ सयग्राम तौल भएका खुकुरीहरु आवश्यक पर्छ । बनाउन निकै मेहनेत भएपनि यसको बजार सम्भावना पनि धेरै छ’, ईन्द्रबहादुुरले भने, ‘भारतको गोर्खा रेजिमेन्टमा समेत हामीले खुकुरी पठाउन सक्छौ ।’ शारदा नगरपालिकाले यसतर्फ अगुवाई गरिरहेको उनी बताउँछन्, ‘मेयरले सहयोग गर्छौ भन्नु भएको छ । हामीलाई प्रविधि र तालिम चाहिन्छ । त्यो भयो भने हामीले जस्तो भन्यो त्यस्तै खुकुरी बनाउन सक्छौँ ।’
