हिउँदे वर्षा घट्दै

काठमाडौं,४ माघ ।

माघ पहिलो साता, काठमाडौंको तापक्रम घटदो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन। वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ। काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ।

अर्को सातादेखि भने हिउँदे झरी पर्ने प्रवल सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालमा सोमबारदेखि वर्षा सुरु हुनेछ। काठमाडौंमा मंगलबारदेखि वर्षा हुनेछ। काठमाडौंमा मंगलबारदेखि बिहीबारसम्म लगातार वर्षा हुने अनुमान गरिएको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार करिब साढे तीन महिनादेखि पानी पर्न सकेको छैन। जसका कारण उपत्यकामा प्रदूषणको मात्रा अध्यधिक बढेको छ। तर, सोमबारबाट पश्चिम नेपालमा र मंगलबारबाट काठमाडौंमा पानी पर्ने सम्भावना एकदमै धेरै छ।

पोखरेलका अनुसार दुईवटा विश्वव्यापी मौसम पूर्वानुमान मोडलले हिउँदे वर्षा हुने देखाएको हो। ‘युरोपियन मोडल (ईसीएमडब्लूएफ) र अमेरिकन मोडल (जीएफएस) बाट हेरिएको हो। दुवै विश्वव्यापी मोडल हुन’ पोखरेलले भने ‘यी मोडलहरू मौसम पूर्वानुमानमा विश्वासनीय मानिन्छ। तीन दिन लगातार पानी पर्ने देखिन्छ।’

यसपटक सुक्खा नै देखाएको छ। तर, धेरैले पानी पर्न ढिला भएको भन्दै आएका छन्। पोखरेलले हिउँदे वर्षा कुनै बेला पुसमा हुने भए पनि कहिले माघमा मात्र हुने बताए। ‘तर पछिल्लो समय हिउँदे वर्षा घट्दै गएको विभिन्न अध्ययनहरूले देखाएको छ। पछिल्लो १० वर्षको अवधिमा झन् उक्त क्रम बढेको छ।’ जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखामा कार्यारत वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार विषेशगरी पश्चिम, कर्णालीको माथिल्लो भाग, सुदूरपश्चिमको सुक्खा क्षेत्रमा वर्षा घट्दै गएको देखिन्छ।

‘हिउँदे वर्षा समयमा नहुने समस्या पहिला पनि हुन्थ्यो तर पछिल्लो समय यो क्रम बढेको छ’, डा. कँडेलले भनिन्, ‘सन् २००५, २००६, र २००९ को हिउँद पनि सुक्खा थियो। २०२० पानी हिउँदे पानी धेरै थियो। तर, २०२१ र २०२२ मा थोरै पानी परेको थियो।’ पानी पर्यो भने वायुमण्डलमा भएको धुवाँलाई पखालेर भुइँमा ल्याउँछ। त्यसले प्रदूषण हटाउँछ। या त हावा चल्नुपर्छ।

उनका अनुसार प्रिमनसुनमा एकदमै सुक्खा हुँदा आगलागीका घटना बढेका थिए। त्यसले विद्यालय बन्द गनुपरेको थियो। त्यो बेला पोस्ट मनसुनमा पनि खासै पानी परेन। हिउँदेमा वर्षा नहुँदा प्रदूषणको चाप बढ्ने र आगलागीको सम्भावना अत्यधिक हुने उनले बताइन्। गत अक्टोबरदेखि पानी परेको छैन। नोभेम्बरमा नेपालका एक÷दुई ठाउँमा थोरै वर्षा भए पनि अझै वर्षा हुन सकेको छैन।

पानी पर्यो भने वायुमण्डलमा भएको धुवाँलाई पखालेर भुइँमा ल्याउँछ। त्यसले प्रदूषण हटाउँछ। या त हावा चल्नुपर्छ। त्यसले उडाएर लैजान्छ नत्र उपत्यकामा प्रदूषण एकै ठाउँमा जम्मा भएर बस्ने गरेको उनले जनाइन्।

जाडोको समयमा इन्भर्जन हुन्छ। सामान्य अवस्थामा जमिनसँग जोडिएकोे वायुमण्डल माथिल्लो तहभन्दा तातो हुन्छ। इन्भर्जन भएको बेलामा जमिनसँग जोडिएको भन्दा माथिको तहको हावा तातो हुँदा तलको हावा माथि जान पाउँदैन। ब्लांकेट जस्तो हुन्छ। त्यस्तो अवस्थामा इन्भर्जन भनिन्छ। तल्लो तहभन्दा माथिल्लो तह तातो हुँदा यस्तो समस्या हुन्छ।

जलवायु परिवर्तनले पछिल्लो समय चरम घटनालाई बढावा दिएको कँडेलले बताइन्। ‘लगातार सुक्खा हुने दिनहरू बढेको छ। लगातार वर्षा हुने दिन समग्रमा (वार्षिक तथा सिजनमा पर्नुपर्ने वर्षाको मात्रा) बराबरी छ। जति पर्नुपर्ने त्यति नै छ। तर, पानी पर्दा एकै पटक धेरै पर्ने, नपर्दा थोपै नझर्ने समस्या छ। सिजनल टे«न्ड हेर्दा सिजनभरिमा पर्नुपर्ने वर्षाको मात्रा हेर्दा खासै परिवर्तन देखिदैन। तर, लगातार वर्षा नहुने अथवा हुने दिनमा परिवर्तन छ,’ उनले भनिन्।

उनका अनुसार समग्र वार्षिक वर्षातको करिब चार प्रतिशत पानी हिउँदमा पर्छ। त्यसको भूमिका अति महत्वपूर्ण हुन्छ। पोस्टमनसुन सबै भन्दा थोरै वर्षा हुन्छ। अक्टोबर र नोभेम्बरमा। अरूभन्दा नोभेम्बर धेरै सुक्खा हुन्छ। मार्च, अप्रिल, मे मा १२ प्रतिशत, जुन जुलाई अगस्टमा ८० प्रतिशत पानी पर्छ।

सोमबारबाट पश्चिम नेपालमा र मंगलबारबाट काठमाडौंमा पानी पर्ने सम्भावना एकदमै धेरै छ। पोखरेलका अनुसार दुईवटा विश्वव्यापी मौसम पूर्वानुमान मोडलले हिउँदे वर्षा हुने देखाएको हो।

सामान्यतया पहिला १० देखि १५ वर्षको अवधिमा हिउँदमा वर्षा कम हुने यस्तो समस्या भए पनि आजकल अवधि घटेको छ। अहिले संसारभरमा (बारम्बारता) फ्रिक्वेन्सी र इन्टेन्सिटी (क्षति बढी गर्ने खालको) वर्ष हुने गरेको पनि उनले जनाइन्। ‘पहिला सुक्खा हुन्थ्यो तर थोपै पानी नझर्ने हुन्थेन। आजकल असर गर्ने क्षमता र बारम्बारता बढाएको छ।’

जाडोमा वर्षा कम हुन्छ। तर, अझै कम पानी पर्दा हिउँदे खेतीमा असर मात्रै होइन पानीको स्रोत सुक्नुको साथै प्रदूषणको तह अत्यधिक बढ्छ। सरसफाइ, स्वास्थ्य, जस्ता अनेकौं समस्या हुन्छ। अप्रत्यक्ष असरको उस्तै भयानक हुने कँडेलले जनाइन्। पछिल्लो समय हिउँदे वर्षाको परिवर्तनशीतलाको बारेमा सन् १९८७ देखि २०१५ सम्म गरिएको अध्ययनले पनि हिउँदमा झन्डै तीन प्रतिशत वर्षा मात्रै हुने गरेको प्रस्ट्याएको छ। उक्त अध्ययनले सन् १९९६, १९९८, २०००, २००५, २००७ र २००८ मा हिउँदे वर्षा घटेको देखाएको छ। तर, सन् १९८८,१९९५, १९९७, २००२, २०१२ र २०१४ मा धेरै वर्षा बढेको देखिएको छ। हिउँदेमा उक्त समयमा सकारात्मक र नकारात्मक खालका अनियमितता देखिएका छन्।

विश्व स्वास्थ्य संगठनले पनि हिउँदेमा अत्यधिक खडेरीका कारण उत्पादन घटनुका साथै प्रमुख बालीहरूको गुणस्तर घटेको जनाएको छ। सन् २००८ देखि २००९ मा मात्रै १५ प्रतिशत गहुँबाली घटेको जनाएको छ। सिजनल परिवर्तनशीलता र चरम घटनाहरू बढ्ने पनि देखाएको छ। अध्ययनअनुसार डिसेम्बरदेखि फेब्रुअरीसम्म वार्षिक वर्षातको सानो हिस्सा अथवा तीन प्रतिशत पानी परे पनि त्यसले राहत दिन्छ।

हिमनदी, पानीका स्रोत, पारिस्थितिक प्रणाली (इकोसिस्टम) का लागि अत्यन्त महत्वपूर्ण हुन्छ। तर, नेपालले हिउँदमा बारम्बार चरम सुक्खा भोगिरहेको अध्ययनको निष्कर्ष छ। हिउँदे वर्षाको प्रवृत्ति हेर्दा पश्चिम नेपालमा पानी पर्ने क्रम घट्दो देखिएको छ।

अन्नपुर्ण 

तपाईको प्रतिक्रिया