अटिज्म् भएका बालबालिकाका  लागि स्कुल खोल्ने योजना

सिर्जना बुढाथाेकी

सुर्खेत,३ माघ ।

 प्रतिमा मल्लाह सानैमा अभिभावक गुमाएकी टुहरी तर साहसी महिला हुन् । संघर्ष गर्दै उनले साविकको मध्यपश्चिममा पहिलो पटक मोन्टेश्वरी खोलिन् ।

उनले बालबालिकाको सिकाईमा परिवर्तन र फरकपन ल्याउन मोन्टेश्वरी माध्यमबाट घरकै मायालु माहौल, स्याहार अनि अभिभावकत्व लिएर बालबालिकाको सर्वागींण विकासका लागि यस्तो वातावरणको आवश्यकता भएको महशुस गरेर वर्षौ वर्ष पढाएको विद्यालय छोडेर आफैले मोन्टेश्वरी खोलिन् र उनको प्रतिक्षा मोन्टेश्वरी कर्णालीकै पहिलो मोन्टेश्वरी बन्यो, नाममा पनि काममा पनि ।

उनको विद्यालयमा प्ले ग्रुपदेखि कक्षा पाँचसम्म पढाई हुन्छ । अहिले उनको विद्यालयमा करिब दुई सय जना बालबालिका र पढाउने र सहयोगी शिक्षिका गरेर २५ जना कार्यरतसमेत छन् ।

दिदीको छत्रछाँयाः

म प्रतिक्षा मल्लाह । म अहिले वीरेन्द्रनगर–६ नेताचोकमा बस्छु । मेरो घर चाहि वीनपा–४ भैरवस्थान हो । मलाई मेरो बाल्यकाल भन्ने बित्तिकै निरासापनले छुन्छ । म अभिभावकविहिन छोरी हो, आमाबुवाको सवालमा मात्रै तर मेरो दिदीले नै मलाई सबैको माया दिएर हुर्काउनुभएको हो । मैले आमाको माया, काख, साथमा हुने खुशी कुनै पनि कुराको अनुभूति गर्नै पाइन् ।

किनकी म सात वर्षको हुँदा मेरी आमा विमारीका कारण संसारमा रहनुभएन । मेरो दाजु भाई पनि छैन, हामी चार बहिनी हो तर एक बहिनी सानोमै बितेपछि हामी तीन बहिनी मात्रै छौ । मैले अहिले जुन विद्यालय चलाई रहेको छु, प्रतिक्षा मोन्टेश्वरी त्यो बहिनीकै नामबाट हो ।

बहिनी हामीसंग नभएपनि उसको सम्झना, माया सधै जीवित राख्नका लागि मैले मेरो बहिनीको नामबाटै मोन्टेश्वरी खोलेकी हुँ । मेरो दिदी अहिले विवाह गरेर नेपालगञ्ज आफ्नो घरमा हुनुहुन्छ र उहाँको आफ्नै व्यवसाय छ । अनि बहिनीले चाहि मलाई विद्यालयमै सघाइरहेको छ । म १८ वर्षको हुँदा मेरो बुवाको पनि मुत्यु भयो । शिक्षा दीक्षादेखि पालनपोषणमा मेरो दिदीले नै आमाबुवा भएर सबै जिम्मेवारी पूरा गर्नुभयो ।

सबैभन्दा दुःख भनेको चाडपर्व आउँदा हुन्छ । सबैजना माइती जाने कुराले मेरो मन सधै रुवाउँछ मलाई । तर दिदीले कहिल्यै त्यो कमी महशुस गराउनु भएन । तर म चाडपर्वमा घरमै हुन्छु । आफ्नो दाजुभाई नभएपनि मैले मानेको दाजुहरु हुनुहुन्छ, आफ्नो आमाको कोखको दाजुभाई नभएपनि उहाँहरुले दिएको मायाले कहिल्यै टाढाको अनुभूति गराएको छैन । मैले विद्यालय जाने भएदेखि कक्षा पाँचसम्म बालमन्दिर स्कुलमा पढे त्यसपछि कक्षा छ अनि सात चाहि अमरज्योति उच्च मावि नेवारेमा पढे ।

त्यसपछि कक्षा बाह्रसम्म मैले दिदीसंगै बसेर नेपालगन्जमा पढे । आमाबुवा नभएपछि यस्तै त हो कहिले कहाँ कहिले कहाँ भयो पढाई यसरीनै मैले बाह्र पास गरे । जिम्मेवारी आफ्नो आफैमा आइलागेपछि मैले १६ वर्षको उमेरदेखिनै कमाउन थाले ।

जानेर नजानेरै मैले नर्सरीका भाईबहिनीलाई पढाउन थाले किनकी म आफै पनि सानै थिएँ । बिस्तारै पढाउदै आफुपनि पढ्दै गरेर बहुमुखी क्याम्पसबाट व्याच्लर्स र माष्टर्स सोसोलोजीबाट पास गरे । मलाई पढ्न असाध्यै रुचि थियो मैले फेरि नेपालगन्जको महेन्द्र मल्टिपल कलेजबाट ल पनि पढेँ ।

शिक्षण पेशामा आवद्धताः

बाह्र पास गरिसकेपछि म सुर्खेत फर्किएँ र बाँकी पढाई अनि खर्च जुटाउनका लागि सेन्ट मेरिज बोर्डिगंमा पढाउन थाले । मैले नर्सरी लेबलका विद्यार्थीहरुलाई पढाउन थाले । मैले त्यहाँ ९ वर्ष पढाएँ । बीचमा मैले पढाई सकेर कलेज पनि पढाउन गएँ तर मलाई रुति नै लागेन किनभने मेरो रुनिै बालबालिकालाई पढाउने भयो ।


मेरो लगाव, माया अनि सद्भावनै बालबालिकाप्रति भयो । त्यसपछि मैले २०६७ सालमा आफैले मोन्टेश्वरी खोल्ने योजना बनाएँ । मध्यपश्चिममै पहिलो मोन्टेश्वरी हो मैले खोलेको त्यो समयमा अरु थिएन ।

म आफै बच्चा, नर्सरी कक्षाका बच्चालाई पढाउने त्यो समयमा भएका मेरा कमीकमजोरी अहिले बल्ल थाहा भएको छ । बच्चाको व्यवहार नचिन्ने, बच्चालाई नबुझी पढाउने हाम्रो जुन शिक्षाको पद्दति थियो त्यो गलत रहेछ । शैक्षिक जगतमा ९ वर्षको अनुभव लिईसकेपछि मैले जुन सिके, आपुनै अञ्जान भएर के ज्ञान दिनु ?

जसका कारण बच्चाले कहिल्यै राम्रो ज्ञान वा संस्कार हासिल गर्न सक्दैन जस्तो लाग्छ मलाई । हामी आफै टिनएजका, आफु पढ्ने अनि पढाउने, आफ्नै तनाव धेरै त्यो उमेरमा, हामीलाई रिस धेरै उठ्ने, ध्यान अन्त धेरै हुने र मोन्टेश्वरी तालिम नलिई हामीले बालबालिकालाई राम्रो ज्ञान दिनै सक्दैनौ भन्ने मैले बुझें ।

जसकाकारण बालबालिकाले पाउनुपर्ने शिक्षा पाइरहेका हुँदैनन् । मैले काठमाण्डौंमा गएर मोन्टेश्वरी तालिम लिएँ । त्यहाँ तालिम लिंदा बल्ल मलाई थाहा भयो कि बालबालिकाका लागि चाहिने वातावरण, लेबल, स्थान, महत्व भन्ने र अनि मैले आफ्नो ठाउँमा यस्तै खोल्छु भन्ने सोच बनाएँ ।

खाजामा बालबालिकालाई चाहिने पोषणका कुरा पनि यसमा जोडिन्छ । बालबालिकालाई हाइजेनिक खानानै प्राथमिकतामा हुन्छ । बच्चा पेटमा भएदेखि सात वर्षको उमेरसम्म खानपान तथा स्याहारमा हामीले ख्याल गरेनौ भने पछिको लगानी व्यर्थै हुन्छ । मेरो विद्यालय अरुको तुलनामा केहि महंगो पनि भन्ने सुनिन्छ तर मैले बालबालिकालाई दिने शिक्षा, स्याहार, खानपान, उनीहरुको मस्तिष्क विकासमा कुनै किसिमको कमी कहिल्यै गरेको छैन ।

हामीले बालबालिकालाई चाहिने डाइटहरुका कारण पनि केहि महंगो शुल्क लागेको होला तर स्वास्थ्य र शिक्षाको लागि कुनै कमी गरेका छैनौ । हामीसंग दुई सय बालबालिका र पढाउने मात्रै २० जना छौ र सबै सहयोगी गरेर २५ जना स्टाफ छौ ।

मेरो श्रीमान्ले पनि मलाई सघाइरहनुभएको छ । उहाँ साइकोकाउन्सिलर पनि हो, उहाँले विद्यालयमा भएका बालबालिकालाई बेलाबेलामा काउन्सिलिगंको काम पनि गरेर मलाई र मेरो विद्यालयलाई सहयोग गरिरहनु भएको छ । स्कुलमा पढाउँदै गर्दा मेरो उहाँसंग मेरो भेट भयो ।

भेटपनि म बिपासना बस्न गएको बेला भेट भैरहन्थ्यो उहाँसंग । बिपासना भनेको एउटा मौन ध्यान रहेछ जसमा हामीले स्वयम् आफुलाई चिन्ने मौका जान्ने अवसर मिल्दो रहेछ । बाहिरी चोट पटकको उपचार चाहि हामीले औषधीबाट निको पार्छौ तर बिपासनाले त मनको दुःख, चोट भुलाउने काम हुँदो रहेछ । आफुमा भएको कमीकमजोरी, राम्रो अनि नराम्रो पक्ष चिनाउने काम हुँदो रहेछ ।

मेरो विवाह भएको अहिले ५ वर्ष मात्रै भयो । मेरो छोरा पनि छन् अहिले त मेरो आफ्नो सिंगो परिवार बनेको छ । सासूससुरा हुनुहुन्छ । सासूससुरा, श्रीमान्, छोरा अनि म गरेर पूर्ण परिवारको साथमा बस्दा परिवारको माया केहो बुझ्ने अवसर बल्ल मिलेको छ मलाई ।

संघर्षका दिनः
मलाई आफ्नाे  बाल्यकाल सम्झिदा अभाव याद आउँछ । अभावनै अभावमा बितेको बाल्यकाल कस्तो भयो होला?मलाई सिकाई प्राप्त भयो मेरो बाल्यकालबाट । अभावनै अभावमा हुर्किएको बालबालिका र सबै कुरा पूर्णरुपमा पाएर हुर्किएको बालबालिकामा धेरै फरक हुँदो रहेछ ।

हामी अभावमा हुर्किएकाहरुलाई एकदमै छिटो रिस उठ्ने, रिसलाई कन्ट्रोलमा ल्याउन नसक्ने, व्यवहारमा पनि कडापन हुने, रुखोपना बढि र दयापनि छिटै मनमा आउने जस्ता समस्या हुँदो रहेछ । तर जो बालबालिका मायामा, पारिवारिक माहौल, हजुरबुवाआमाको काखमा हुर्किएको हुन्छ उनीहरु माया दिन र माया बाँड्न मात्रै जानेको हुँदो रहेछ ।

धेरै कुरा अनुभव गर्दै, सिक्दै आउँदा मलाई लाग्छ कि संसारमा बालबालिकालाई चाहिने भनेको माया र मायालु व्यवहार मात्रै रहेछ । जुन कुरा मैले मेरो विद्यालयबाट पनि दिइरहेको छु । तर मैले यत्तिका अनुभव लिई रहँदा तीन वर्षको अन्तरालमा मैले अटिज्म भएका बालबालिकाको मात्रा धेरै देखेको छु । सुर्खेत जिल्लामा पनि यो धेरै छ ।

हाम्रो उद्देश्य भनेको अटिजम् भएका बालबालिकालाई छानेर अभिभावकलाई बोलाएर काउन्सिलिगं गर्ने काम पनि गरेका छौ र भविष्यमा पनि अटिज्म् भएका बालबालिकालाई पढाउने छुट्टै विद्यालय बनाउने योजना छ । मलाई मेरो बाल्यकाल सम्झिदा पनि अहिले आँशु आइहाल्छ, जब महिला दिदीबहिनी मेरो विद्यालयमा कामको खोजीमा आउनुहुन्छ नि त्यो समय मलाई जति पीडा अरुलाई हुँदैन होला जस्तो लाग्छ ।

किनकी अभाव, दुःख नजिकबाट चिनेको जो छु । कामको खोजीमा जो कोहि त्यत्तिकै आउँदैन जस्तो लाग्छ मलाई । मैले सकेसम्म उहाँहरुलाई कहिकतै काम मिलाउने कोसिस गर्छ्ु र नभएपनि काम सिकाएर अन्त पनि सेटल गराउने काम गर्छु । बिहे पहिलेको जीवनमा भएको एक्लोपना विवाहपछि हरायो । माया गर्ने, बुझ्ने श्रीमान् पाएकी छु, आफुलाई भाग्यमानी महशुस गर्छु ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार