दुई पुस्ते अन्तर सम्वाद “बुढ्यौली र बालापनः उमेर फरक अनुभव उस्तै”

सिर्जना बुढाथोकी ।

सुर्खेत,३० पाैष ।
“आमाबुवालाई रुवाएर कुन देवता पुज्ने,
घरका ईश्वर छाडिकन कुन देवतालाई पुज्ने,
जति तीर्थव्रत, दानपूण्य गर,
आमाबाबु रोए भने व्यर्थै हुन्छ हेर ।”

वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागी अग्रज गायक भीमबहादुर कार्कीेले गाएका गीतका शब्दहरु हुन् यी । पुराना स्थानीय गायक कार्कीको शब्द, अर्का अग्रज मादलवादक प्रेमदेव गिरी र संगीतकार गंगा के.सीको संगीतमा यहि शब्द भरिएको भजन गुञ्जिदा हलभित्र सबै रमाए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण ज्येष्ठ नागरिक र किशोरकिशोरी भजनको तालमा छम्छमी नाचिरहेको दृष्यले केहि समय आफ्ना दुःख भुलाएको जस्तो देखिन्थ्यो । सुर्खेतको पञ्चपुरी नगरपालिकाबाट सहभागी ज्येष्ठ नागरिक गंगाराम देउवाले आफ्नो विवाह १३ वर्षको उमेरमा भएको बताए ।

उनले आफ्ना पालामा कोसंग विवाह हुँदैछ भन्नेसमेत थाहा नपाएर बुवाआमाकै रोजाईमा विवाह हुने बताए । “युवा उमेरमा हुँदा मलाई यसरीनै जीवन जाला जस्तो लाग्थ्यो तर रहेन छ”, उनले भने,“अहिले आएर परनिर्भता बढ्दा मैले कहिल्यै सोचिन् ।” अन्तर पुस्ता सम्वाद कार्यक्रममा सहभागी वीरेन्द्रनगर–९ की किशोरी सुजिता रोकायले हरेक बीस वर्षमा परिवर्तन हुने पुस्तामा फरकपन हुने र यसले हरेक परिवर्तनमा सहयोग पुग्ने बताइन् ।

“फलानोको छोराछोरीले यस्तो गरिसके तैले केहि गरिनस् भनेर कसैसंग आफ्नो परिवारले आफुलाई नदाँजेको भए हुन्थ्यो भन्ने लाग्छ”, उनले भनिन्, “अभिभावकले आफ्ना छोराछोरीले गरेका जायज काममा साथ दिनुपर्छ ।”

जाजरकोटबाट सहभागी ज्येष्ठ नागरिक नन्दलाल ज्योतिले आमाको माया देखिने तर बुवाको माया नदेखिने कारणले पनि छोराछोरीको बुवाभन्दा आमासंग नजिक हुने अनुभव सुनाए । “आमाजत्ति नजिक बुवापनि हुनुपर्ने रहेछ”, उनले भने, “जब बूढो भइयो अहिले बल्ल यो कुराको महशुस भइरहेको छ ।”

वीरेन्द्रनगर–८ की ज्येष्ठ नागरिक देवीसरा चालिसेले वृद्धवृद्धा अवस्थामा पुगेपछि बालबालिका जस्तो सानो सानो कुरामा खुशी मिल्ने अनुभव व्यक्त गरिन् । उनले आफ्ना छोराछोरीले उनका छोराछोरीलाई दिने सानो चकलेट आफुलाई पनि दिएको भए हुन्थ्यो भन्ने सोच बूढापाकामापनि हुने बताइन् ।

“अहिलेका छोराबुहारी अफिस जान्छन्, जानेबेला गए है आमा भन्दे हुन्थ्यो लाग्छ”, उनले भनिन्, “घर फर्किदा दिउँसो के खानुभयो? दिनभरी के गरेर बस्नुभयो भन्दिएपनि आनन्द लाग्छ ।” वृद्धावस्था भनेको सानो सानो कुरामा खुशी हुने भन्दै बालबालिकाको व्यवहार वृद्ध अवस्थामा हुने कुरालाई अहिलेको पुस्ताले बुझ्न आवश्यक रहेको सहभागी ज्येष्ठ नागरिकहरुले बताएका हुन् ।

सल्यानबाट सम्वाद कार्यक्रमा सहभागी हुनुभएका ज्येष्ठ नागरिक रेशमप्रसाद शर्माले परिवर्तन बिस्तारै हुँदै जाने भनाई राखे । उनले जबसम्म व्यवहार परिवर्तन हुँदैन तबसम्म छाउपडी, जातीय विभेद, धनी र गरिब जस्ता कुराको अन्त्य नहुने बताए ।

दुइ पुस्ते अन्तर संम्वाद 

“अहिलेको पुस्ताले परिवर्तन ल्याएको छ, छाउपडी मान्दैन । छाउ हुँदा मेरी श्रीमतीलाई घरमा ठाउँ हुँदैन थियो, बुहारीलाई छ । परिवर्तन सम्भव छ, कति भयो भन्ने प्रमाण पनि यिनै हुन्, महिनावारी प्राकृतिक रहेछ, बार्नु हुँदो रैन्छ ।” वीरेन्द्रनगरकी किशोरी जायदा खातुनले अहिले आफु किशोरी अवस्थामा भएकाले आफु वृद्ध हुन्छु भन्ने भाननै नहुने बताइन् ।

उनले जबसम्म आमा भइँदैन तबसम्म छोराछोरी प्रति आमाको माया थाहा नहुने कुरा भने जस्तै अहिलेको अवस्था भनेको जस्तो काम पनि गर्न सक्छु भन्ने सवाल आफुले अनुभव गरेको बताइन् ।

“यो उमेर यस्तो रहेछ केहि सोध्यो कि रिस उठ्ने, मैले जे गर्छु त्यो राम्रो हो”, उनले भनिन्, “सबै आमाबुवा बाजे बजैको माया भएपनि साथीभाईसंगै रमाउने उमेर भएकाले गल्तिपनि यहि उमेरमा बढि हुन्छ ।” ८० वर्ष कटेका वृद्धवृद्धा र अहिलेका किशोरकिशोरी बीचमा के के भिन्नता छ भन्ने सवालमा सामाजिक विकास मन्त्रालयको आयोजनामा ज्येष्ठ नागरिक र अहिलेको पुस्ताबीच अन्तरपुस्ता सम्वाद कार्यक्रममा दुई पुस्ताबीचको सोचाई अनि भोगाईमा भएका भिन्नताको सवालमा छलफल भएको हो ।

मन्त्रालयले ज्येष्ठ नागरिकहरु र किशोरकिशोरीहरुको बीचमा अनुभव आदानप्रदान, समाजमा व्याप्त रहेका हानिकारक सामाजिक मूल्यमान्यताहरुको परिवर्तन, बालविवाह, छाउपडी प्रथाहरुको रोकथाम तथा अन्त्यका लागि सोच र व्यवहारहरु परिवर्तनका लागि अगुवा र प्रेरकको रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताएको छ ।

ज्येष्ठ नागरिकले जीवनभर गरेको संघर्ष र भोगाईहरुबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न र अन्तरपुस्ता सीप हस्तान्तरण होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मन्त्रालयको भनाई छ ।

बालअधिकारहरुको प्रवद्र्धन जस्तैः जन्मदर्ता, नियमित खोप, विद्यालय भर्ना, बाल पोषण भत्तामा पहुँच तथा सदुपयोग बालविवाह एंव छाउपढी जस्ता कुप्रथा रोकथाम र व्यवहार परिवर्तनमा ज्येष्ठ नागरिकहरुको भूमिकालाई सुदृढ गर्ने खुड्किलो तयार गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।

सामाजिक विकास महाशाखा अधिकृत अनिता ज्ञवालीले ज्येष्ठ नागरिक भनेको अनुभवले परिपक्व ज्येष्ठ नागरिकहरु घरपरिवारको बोझ नभएर आर्शीवादका रुपमा लिनुपर्ने बताईन् ।

ज्येष्ठ नागरिक भनेको घरको संरक्षक भएकाले ज्येष्ठ नागरिक भएको घरदेखि परिवार सुरक्षित महशुस हुने उनको भनाई छ । “मेरो बुवाआमाले मेरा लागि के गरे? भन्ने प्रश्न अहिलेका बालबालिकाको छ, तर त्यो गलत हो”, उनले भनिन्, “कुनै पनि अभिभावकले आफ्ना सन्तानलाई आपूmसंग भएको हरेक सेवा सुविधा दिएरै हुर्काएको हुन्छ, भलै फोटो नहोला, देखाउने प्रमाण नहोला किनकी त्यो समय अहिलेको जस्तो सेवासुविधा भएको थिएन् ।”

तपाईको प्रतिक्रिया