ब्राण्ड स्टाेरी : कालिकोटमा माछा पाल्दै मोहन

पुनम वि.सी
सुर्खेत,२८ पौष ।

कर्णालीको माटो, भूबनौट र हावापानी आफैमा बेग्ला विशेषता अनि पहिचानयुक्त छ । त्यसमापनि कालिकोटलाई कृषि उत्पादन र उब्जनीका रुपले खास्सै उपयुक्त मानिंदैन । अक्करे भीर, कडा र अग्ला चट्टानी पहाड, सुख्खा हावा आदिलगायतका विभिन्न प्राकृतिक कारणले कालिकोटमा रैथाने बालीहरु वर्षभरी खानपुग्ने भन्दा पनि कमै उत्पादन हुन्छन् ।

कर्णालीको कृषि क्षेत्रको मुख्य समस्या उत्पादनको बजारीकरण नै हो । यसका साथै यहाँका किसानहरुले महंगो लागतमा उत्पादन गर्नुपर्ने बाध्यता त छँदैछ । उत्पादन सम्भावना रहेतापनि कर्णालीका किसानलाई कमजोर बजारका कारण झिनो संख्यामा उत्पादन गर्नुपर्ने बाध्यता समेत छ ।

तर कालिकोटमा युवा कृषक मोहनबहादुर शाही भने कृषि उत्पादनसँगै बजार निर्माणको योजनामा लम्किदै छन् । कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–२ मा कृषक मोहनबहादुरले खौरा फिसिङ्ग होमस्टे रिसोर्ट एण्ड अर्गानिक कृषि तथा पशुपंक्षी फर्म सञ्चालनमा ल्याएको दोस्रो वर्षमा प्रवेश गर्दैछ ।

करिव १५ हजार वर्गमिटर क्षेत्रफल रहेको जग्गामा उनले कृषि उत्पादन सुरु गरेका छन् । हालको समयमा उनको फर्ममा कालिज, लोकल कुखुरा, कडकनाथ कुखुरा तथा कार्प जातका माछा पालन गरिएको छ । व्यवसायको मुख्य उत्पादन भनेकै फर्ममा उत्पादित वस्तुलाई आफ्नै होम–स्टे मार्फत बिक्रि वितरण गर्नु हो ।

‘यहाँ फर्मको अर्गानिक उत्पादन आफ्नै होम–स्टेबाट बिक्रि गर्ने लक्ष्यले अघि बढिरहेको छु।’ मोहनले भने, योसँगै यहाँ अन्य किसानले उत्पादन गरेका कोदो, फापरजस्ता वस्तुका लागि पनि बजार बन्न सक्छ ।’ मोहन अहिले स्नाकोत्तर अध्ययन गरिरहेका विद्यार्थी समेत हुन् । कृषि क्षेत्रमा उत्पादनतर्फ रुचि भएपछि उनले गत वर्ष करिव २५ लाख रुपैयाँमा फर्म स्थापना गरेका थिए ।

हाल उनको फर्ममा एक सय गोटा कालिज, तीन सय ५० गोटा लोकल कुखुरा, एक सय गोटा कडकनाथ कुखुरा र करिव दुई सय गोटा कार्प जातका माछा तयारी अवस्थामा छन् । उद्देश्य अनुरुप होम–स्टे सञ्चालनमा त आएको छैन तर अन्तिम तयारीमा भने रहेको उनले बताए । उनले भने, ‘अब उत्पादनहरु पनि सुरु हुँदैछ । होम–स्टे सञ्चालन अन्तिम तयारीमा छ ।’

कालिकोटको क्षेत्रका लागि तथा कृषक मोहनका लागि पनि यो योजना करिव–करिव नौलो नै हो । कर्णालीमा उपल्लो जिल्लाहरुमा यसरी पशुपंक्षी पालनतर्फका व्यवसायिक खेति तथा अभ्यासहरु सुरु भएको केहि वर्ष मात्र भएको छ । व्यवसायिक माछा पालनतर्फ भने कालिकोटमा न्यून संख्यामा गतिविधिहरु भईरहेका छन् ।

मोहनले पनि एक हजार गोटा भुराबाट माछा पालन सुरु गरेका हुन् । लुम्बिनी प्रदेशको बाँके जिल्लालगायतका स्थानबाट भुरा आयात गर्नुपर्ने तथा सडक यात्रा लामो पर्ने भएकाले पनि उपल्लो जिल्लाहरुमा माछापालनमा लागत बढ्न जान्छ । उनले भने, ‘बाँकेको राधेपुरबाट भुरा ल्याएर माछा पालेको हुँ । यहाँको पानीको तापक्रम चिसो छ ।

अन्य भन्दा कम तौल हुनेभएपनि स्वादिलो उत्पादन हुने आसा छ ।’ लोकल कुखुरा अब तौलेर कालिकोट, मुगु, जुम्ला, डोल्पालगायतका कर्णालीका उपल्लो जिल्लाहरुमा कृषि उत्पादनहरु बजार मूल्य समेत व्यवसायिक हुन सकिरहेको अवस्था छैन। उदाहरणको रुपमा यी जिल्लाहरुमा लोकल कुखुरा खरिद गर्दा उपभोक्ताले तोकिएको रकम भुक्तानी दिनुपर्ने हुन्छ ।

तर कृषक मोहनले भने तराजुमा तौलिएर उत्पादन बिक्रि गर्ने लक्ष्य लिएका छन् । अहिले कालिकोटमा दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म एउटा लोकल कुखुराको मूल्य छ । तर मोहनको खौरा फिसिङ्ग होमस्टे रिसोर्टले भने तौलेर बिक्रि गर्ने योजनामा छ । उनले भने, ‘यहाँ तोकेरै कुखुराको मूल्य हुन्छ । तर अब हामीले भने एक हजार रुपैयाँ किलो बिक्रि गर्ने योजनामा छौ ।’ उत्पादनको बजारीकरणमा उपभोक्ता हितका लागि यो निर्णय सहि सावित हुन सक्छ ।

गर्दै, सिक्दै, रमाउदैँ,

कृषक मोहनका लागि कृषि उत्पादनमा जोडिएको यो पहिलो पटक हो । उनले भने, ‘कति चल्ला रोग लागेर मरे । कतिको समस्या नै पहिचान भएन ।’ सुरुवातमा पाँच सय गोटा कालिजका चल्ला आयात गरी पालन सुरु गरेका उनीसँग अहिलेको समयमा एक सय गोटा बचेका छन् । लोकल कुखुरा, कडकनाथ तथा माछाको समेत अवस्था उस्तै छ ।

उनले भने, ‘फर्म स्थापना गरेर पालन सुरु गरेपछि म पनि सिक्दै छु। यसबीच मैले धेरै रकम समेत गुमाएको छु। तर सिकाई भने धेरै भयो । यसले अब आउने दिनहरुमा सहयोग हुने आसा छ ।’ यसबीचमा उनले कुखुरापालन तथा माछापालनका क्षेत्रमा धेरै अध्ययनहरु गरेका छन् । कर्णाली प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमहरु, विज्ञहरुसँगको भेटलगायतका क्षेत्रमा उनले अहिले समय खर्चिएका समेत छन् ।

तपाईको प्रतिक्रिया