टि–२० क्रिकेट लिग फिक्सिङः अन्तिम चरणमा सिआइबीको अनुसन्‍धान

काठमाडौं,२८ पाैष ।

केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी) ले नेपाल टि–२० क्रिकेट लिगमा ’स्पट फिक्सिङ’ भएको घटनामा गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।

बुधबारमात्रै उक्त लिग सकिएको छ। उक्त लिग लुम्बिनी अल स्टार्सले जितेको छ। लिग सकिए पनि सिआइबीले यसको अनुसन्धान जारी नै राखेको छ। अहिले अनुसन्धान अन्तिम चरणमा रहेको सिआइबी प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए। ‘अनुसन्धान प्रगति अहिले अन्तिम–अन्तिम चरणमा पुगेको छ। यसबारे प्रतिवेदन प्राप्त भएपछि हामी यसबारे सार्वजनिक गर्छौं,’ उनले भने।

यो लिग सुरूदेखि नै विवादमा थियो। लिगमा स्पट फिक्सिङको आशंका भएपछि सिआइबीको अनुसन्धान गरेको थियो। अनुसन्धानबाट केही नेपाली र विदेशी खेलाडीहरू समेतको संलग्नता हुनसक्ने आशंका गरेको छ।

प्रहरीले ती प्रमाण जुटाउने काम पनि गरिरहेको हो। यद्यपि अहिले क–कसको संलग्नता देखिएको छ भन्न नसकिने सिआइबी प्रवक्ता संजयसिंह थापाले बताए।‘हामी अनुसन्धानकै चरणमा छौं। अनुसन्धानको प्रतिवेदन नआएसम्म केही भन्न सकिने अवस्था छैन। अनुसन्धानको प्रतिवेदनले निष्कर्ष अनुसार खेलाडी दोषी देखिए कानुनबमोजिम कारबाही गर्छौं,’ उनले भने।

बाहिर आएका खेलाडीहरूको भने संलग्नता नदेखिएको पनि उनले स्पष्‍ट पारे। अहिले आफैंले नै दोषी करार गरेर पनि खेलाडीहरूको नामसहित बाहिर आएका छन्। तर अहिले अनुसन्धानकै चरणमा छ,’ उनले भने। नेपाल टी–२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। भारतीय कम्पनीलाई बिना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो।

पटक÷पटक सरेको लिगको मुख्य प्रयोजक कम्पनी वान एक्स ब्याट छ। यो कम्पनी बेटिङ गराउने वान एक्स बेटको सहायक कम्पनी हो। ब्राउजरमा वान एक्स ब्याट डट कम हान्दा सिधैं वान एक्स बेटिङ खुल्ने भएकाले बेटिङ र स्पट फिक्सिङको आशंका भएको थियो। सेभेन थ्रीकै संलग्नतामा फिक्सिङका लागि खेलाडीलाई प्रयोग गर्ने गरिएको क्यानका एक केन्द्रीय सदस्यको आरोप छ।

यस्तै लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अलुवालिया भारत पुगेका थिए। लिग विवादित बनेपछि आइसिसीका प्रतिनिधि टिम समेत आएको थिए। उक्त टोलीले सिआइबीसँग पनि गएर भेटेको थियो। आइसिसीको टिमले सिआइबीको अनुसन्धानलाई सहयोग गर्ने बताएको थियो।

समूह चरणको खेल भइरहँदा कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आशंका गर्दै आफू अलग भएको घोषणा गरेपछि लिग थप विवादित बनेको थियो। लगत्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङका लागि ’अफर’ गरिएको बताएका थिए।

लिगमा फिक्सिङसहितका अन्य अवैध गतिविधिको निगरानीका लागि क्यानले वीर सिंहको नेतृत्वमा एन्टी करप्सन युनिट खडा गरेको थियो। युटिनमा उजुरी आएको केहीदिन पछि कमेन्टेटर र खेलाडीले बोलेका थिए। नियमअनुसार पहिला युटिनमा त्यस्तो उजुरी आउनु पर्ने हुन्छ। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीलाई खबर गरेपछि अनुसन्धान गरेर गरी कारबाहीको प्रक्रिया अघि बढ्छ।

सेताेपाटी 

तपाईको प्रतिक्रिया