विदा लिदै कर्णालीका मुख्यमन्त्री : जाँदा जाँदै सुनाए कामको फेहरिस्त

पुनम वि.सी

सुर्खेत,२८ पौष ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जाँदाजाँदै १५ महिने कार्यकालको फेहरिस्त सुनाएका छन् । उनले यस अवधिका गरेको कामलाई खास उपलब्धी मान्दै कर्णाली सम्वृद्धि अभियानको आधार तयार गरेको दाबी गरे । मंगलवार आयोजित कार्यक्रममा उनले ४३५ दिने कार्यकालमा गरेका कामको विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार ११३ किलोमिटर सडक ग्राभेल र ६२२ किलोमिटर कच्ची सडक निर्माण पनि भएको छ । यो अवधिमा १३ वटा झोलुङ्गे पुल, आठ वटा सडक पुल निर्माण सम्पन्न भएका छन् ।

एक हजार पाँच सय ७१ वटा जनता आवास र एक सय एक वटा विपन्नका घर निर्माण भएको बताए । यस्तै, सात वटा सडक आयोजनालाई वहुवर्षीय ठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको उनले बताए । २०७८ कात्तिक १६ गतेदेखि कर्णाली सरकारको नेतृत्व गरेका मुख्यमन्त्री शाहीले ४३५ दिनका आफ्ना प्रगति विवरण सार्वजनिक गर्दै ‘६ ब’ को कार्यान्वयन, सुशासन र कानुन निर्माण, स्थानीय तहसँगको समन्वय लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गरेका छन् ।

यस्तै, प्रदेश सरकारको प्रभावकारी काम कारबाहीका लागि कर्णाली प्रदेश निजामति सेवा सम्बन्धी विधेयक, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवाका सर्त र सुविधा सम्बन्धी विधेयक लगायत १२ वटा विधेयक तर्जुमा गरी प्रदेश सभामा प्रस्तुत गरिएकोमा पहिले पेश भएकासमेत गरी जम्मा १७ वटा विधेयक प्रदेश सभाबाट पारित भएको बताए ।

खाद्य अधिकार तथा सम्प्रभुता नियमावलीसहित चार वटा नियमावलीमा समसामयिक संशोधन र ३२ वटा नीति, कार्यविधि, मापदण्ड र निर्देशिका तर्जुमा भएका, प्रदेश मन्त्रिपरिषद्को बैठकलाई प्रत्येक हप्ताको बुधबार दिनको ठिक ४ः०० बजे बस्ने गरी व्यवस्थित गरिएको, हालसम्म ४४ मन्त्रिपरिषद् बैठकबाट १२६ वटा निर्णय भएका शाहीले उल्लेख गरे ।

मुख्यमन्त्रीले हालसम्म स्थानीय तहका र प्रदेशका ५९० रिक्त पदमा विभिन्न तहका कर्मचारीहरु नियुक्तिका लागि सिफारिस गरेको, अधिकृत तहका कर्मचारीको छनौटका लागि विज्ञापन गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको, आगामी दिनमा जनशक्तिको अभावका कारण काम भएन भन्ने समस्याको अन्त्य हुने र प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, सरल, सहज, सुलभ र गुणस्तरीय बनाउन प्रदेश स्वास्थ्य सेवा ऐन कार्यान्वयनमा ल्याइएको छ ।

यस्तै, हालसम्म एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि अन्तर्गत ३९४ जना विद्यार्थीहरूलाई छोरी–बुहारी, उच्च शिक्षा जेहेन्दार, उच्च शिक्षा अपाङ, उच्च शिक्षा दलित, द्वन्द्वपीडित, शहिद सन्तति छात्रवृत्ति सरकारले उपलब्ध गराइएको छ । एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि अन्र्तगत १०० सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

देशको ठूलो खेलकुद प्रतियोगिता दशौं राष्ट्रिय खेलकुदलाई कर्णाली आयोजना गर्नका लागि पूर्वाधार निर्माणलाई तिब्रता दिइएको मुख्यमन्त्री शाहीले बताए । उनले भने, ‘जसका लागि प्रदेश गौरवको आयोजनाका रुपमा प्रदेश रंगशाला निर्माण भइरहेको छ, रंगशाला

शिलान्यासदेखि ३४ पटकसम्म म स्वयम् स्थलगत अनुगमनमा गएको छु । नेपालमै पहिलो पटक भलिवलको कवर्डहल निर्माण भइरहेको छ । प्रदेश रंगशालाको भौतिक पूर्वाधारको ३३ प्रतिशत काम सम्पन्न भएको छ भने समग्रमा ५० प्रतिशत काम सम्पन्न भएको छ । अन्य जिल्लाहरुमा पनि खेलकुद पूर्वाधार निर्माण धमाधम भइरहेका छन् ।

’यस्तै, मुख्यमन्त्री शाहीले ५९२ वटा साना सिंचाई योजनाको निर्माण तथा मर्मतबाट करिब ३५० हेक्टर जग्गामा थप सिंचाई सुविधा विस्तार भएको बताए । कृषि व्यवसायीकरण र आधुनिकीकरणमार्फत रोजगारी सृर्जना गर्ने उद्देश्यले सञ्चालित ब्याज अनुदान कार्यक्रमबाट १ हजार २२७ जनाले कर्जा सुविधा प्राप्त गरेका छन् ।

हालसम्म ब्याजमा अनुदानवापत रु । ३ करोड ९६ लाख रकम भुक्तानी गरिएको, प्राङ्गारिक कृषि प्रवर्द्धन गर्न कर्णाली प्रदेश प्राङ्गारिक कृषि उत्पादन तथा प्रशोधन मापदण्ड लगायत ६ वटा दस्तावेजहरु तयार गरिएको र १ अर्ब ५५ करोडको कृषि तथा पशुपन्छीजन्य वस्तु प्रदेश बाहिर निकासी भएको उनले बताए ।

हिमाली क्षेत्रमा भेडापालकलाई प्रोत्साहन स्वरुप ३५७ जनालाई ६४ लाख रकम सहयोग गरिएको छ । कर्णाली प्रदेशमा दुग्ध उत्पादक कृषक तथा पशुपालन व्यवसायी १७ हजार ७७६ जनालाई प्रोत्साहन गर्न प्रति लिटर रु १० का दरले अनुदान दिई गत आर्थिक वर्षमा मात्र ४ हजार १५४ मेट्रिकटन दुध प्रदेश भन्दा बाहिर निर्यात भएको छ । मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रम अन्तर्गत महिला सहकारीमार्फत १७ करोड रकम बीउ पुँजी स्वरुप परिचालन भएको छ ।

गरिब तथा सिमान्तकृत समुदायको विकास तथा आर्थिक आयआर्जनमा टेवा पुर्याउन उक्त समुदायका ५१ समूह ९कलष्टर० अन्तर्गत १ हजार २७५ घरपरिवारलाई आयआर्जनका क्रियाकलाप सञ्चालन गरिएको छ । कर्णाली प्रदेशमा उत्पादित प्राङ्गारिक अदुवा तथा बेसारको चानालाई तेस्रो पक्षबाट प्राङ्गारिक प्रमाणिकरण गरी द अर्गानिक भ्याली कम्पनीमार्फत युरोपका देशहरुमा १४ करोड बरारबरको निर्यात भएको छ ।

कृषि यान्त्रिकीकरणमार्फत व्यावसायिक बनाउन ४२३ जना किसानलाई साना तथा मझौला कृषिजन्य उपकरण तथा सामाग्री वितरण गरिएको छ । तरकारी, फलफूल तथा पशुपन्छीको व्यावसायिक उत्पादनको लागि १४२ वटा व्यवसायिक कृषि तथा पशुपन्छी ब्लकहरु स्थापना भएका छन् ।

स्वास्थ्य क्षेत्रका काम

कर्णाली मुख्यमन्त्री जीवनबहादुर शाहीले जाँदाजाँदै स्वास्थ्य क्षेत्रमा गरेका उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनेर ४ सय ३५ दिनमा हासिल गरेका उपलब्धि सार्वजनिक गर्ने क्रममा स्वास्थ्यतर्फका उपलब्धि पनि सार्वजनिक गरेका हुन् । १७ कात्तिक २०७८ मा मुख्यमन्त्री बनेका शाहीले कोभिड–१९ महामारीदेखि स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा उलेख्य उपलब्धी भएको बताएका छन् ।

कर्णाली प्रदेशमा कोभिड–१९ तथा महामारी नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने क्वारेन्टिन, आइसोलेसन, एचडियु, आईसीयु र पीआईसीयु, अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर र भेन्टिलेटरलगायत अत्यावश्यक स्वास्थ्य उपकरण, औषधि तथा औषधिजन्य सामग्रीको सहज आपूर्ति र उपलब्धताको व्यवस्था मिलाइएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

‘कर्णाली प्रदेशमा कोभिड–१९ विरूद्धको खोप सेवालाई प्रभावकारी बनाइएको छ,’ उनले भने, ‘१८ वर्षभन्दा माथिका ७० प्रतिशत, १२ वर्षभन्दा माथिका ७४ प्रतिशत एवं कुल जनसंख्याको ८५ प्रतिशतले कोभिड–१९ विरूद्धको दोस्रो मात्रा खोप एवं दोस्रो मात्रा खोप लगाएकामध्ये ३७ प्रतिशत जनसंख्याले बुस्टर मात्रा लगाइसकेका छन् ।’

प्रदेश अस्पताल एवं अन्य जिल्ला अस्पतालहरूलाई विशेषज्ञ सेवा प्रवाह गर्ने अस्पतालको रुपमा विकास गर्न अस्पतालको क्षमता अभिवृद्धि, विशेषज्ञ सेवा प्रदान गर्ने गरी एम ।आर ।आई ।, अक्सिजन प्लान्ट, इन्फ्रा स्क्यानर र प्रयोगशाला उपकरणलगायत चिकित्सकीय उपकरण व्यवस्था गरी सञ्चालनमा ल्याइएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

प्रदेश सरकारको सहयोगबाट स्थानीय तहका ५ आधारभूत अस्पतालहरूको पूर्वाधार विकास, ७३ सामुदायिक स्वास्थ्य एकाइ तथा २० वर्थिङ सेन्टर सञ्चालनमा आएका उनले जानकारी दिए। स्वास्थ्य प्रयोगशाला सेवालाई विस्तार र सुदृढीकरण गर्नको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना र सञ्चालन गरिएको उनले बताए । ‘सबै जिल्लाका अस्पतालहरूमा थप प्रयोगशाला सम्बन्धी थप उपकरणहरूको ब्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया