मुग,२८ पाैष ।
मुगुका अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । किशोरी अवस्थामै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि शरीरलाई भार हुने गरी काम गर्नुपर्ने बाध्यता र पर्याप्त पोषणयुक्त खानाको अभावले मुगुका महिलामा पाठेघरको समस्या बढी देखिएको पाइएको हो ।
जिल्ला अस्पताल मुगुको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ मा छायानाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेको तथ्याङ्क छ । सदरमुकाममा रहेको र जिल्ला अस्पतालका पहुँचमा रहेको नगरपालिकाको यो अवस्था छ भने अन्य पालिकाको यही अवस्था रहेको अनुमान सहजै लगाउन सकिन्छ तर यसको तथ्याङ्क सम्बन्धित निकायसँगै छैन ।
जिल्ला अस्पताल मुगुकी सिनियर अनमी रामदेवी केसी सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण नआएको बताए । जिल्लामा पाठेघर खस्नेसम्बन्धी समस्या भएका महिलाको सङ्ख्या उल्लेखनीय रहेको तर स्वास्थ्य संस्थामा खुलेर आफ्ना समस्या राख्ने गरेको नपाइएको उहाँको भनाइ छ ।
उनले भने , “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हरेक वर्ष पाठेघर खस्नेसम्बन्धी शिविर बस्दै आएको छ । उक्त शिविरमा पाठेघरसम्बन्धी उपचारका लागि पीडितलाई खबर गर्दा उपचारबाट लाभ लिन चासो देखाउँदैनन् ।”
सोरु गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीका अनुसार सोरु गाउँपालिकामा पाठेघरसम्बन्धी स्क्रिनिङ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ । यता खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको तथ्याङ्क नभए पनि यस्ता पीडित महिलाको सङ्ख्या उल्लेख्य रहेको सोरु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र शाहीले बताए ।
छायानाथ रारा नगरपालिका–१२ की जुनरूपा विकको पाठेघरसम्बन्धी समस्या छ । सुत्केरी अवस्थामा राम्रोसँग आराम नपाउँदा पाठेघरमा समस्या देखिएको उनले बताए । उनले पाठेघरलाई शल्यक्रिया गर्दा घरमा काम गर्न गाह्रो हुने भएकाले ‘रिङ प्रेसरी’को वैकल्पिक उपचार गर्दै आएको जनाए ।
जिल्ला अस्पताल मुगुकी डा. मीना हमाल (चौलागाईं) जिल्लामा किशोरी अवस्थामा आमा बन्ने र सुत्केरी भएको तीन÷चार दिनमै खेतबारीको काममा खटिनुपर्दा धेरै महिलामा पाठेघरसम्बन्धी समस्या निम्तिएको बताउछिन ।
उनले पाठेघरको समस्या भएकालाई जिल्ला अस्पताल मुगुले पाठेघरमा ‘रिङ पे्रसरी’को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको उनको भनाइ छ । उनका अनुसार पाठेघरमा ‘रिङ प्रेसरी’ राखेका महिलाले जिल्ला अस्पताल मुगुमा आई तीन÷तीन महिनाको अन्तरालमा ‘रिङ प्रेसरी’ सफा गरी पुनः पाठेघरमा राख्नुपर्ने हुन्छ ।
छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगमकार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिका स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारबाट पीडित महिलाका लागि अहिलेसम्म प्रभावकारी रूपमा कार्यक्रम तय हुन नसकेको स्वास्थ्यकर्मी किशोर मल्ल बताए ।
गाेरखापत्र
युग संवाददाता । । २८ पुष २०७९, बिहीबार ०७:०७