साझा प्रधानमन्त्रीको रुपमा ऐतिहासिक अवसर पाएको छु : प्रधानमन्त्री दाहाल

गोरखा,२७ पाैष ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलको साझा प्रधानमन्त्रीको रुपमा काम गर्ने ऐतिहासिक अवसर आफूलाई प्राप्त भएको बताएका छन् । बुधबार गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा सुरु भएको गोरखा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले झण्डै सतप्रतिशत संसद्‍को समर्थन प्राप्त गर्ने अवसरलाई आफूले जिम्मेवारीको रुपमा लिएको बताए ।

‘यो निकै ठूलो गर्वको कुरा पनि हो, निकै ठूलो चुनौतीको कुरा पनि हो,’ उनले भने,‘सबै राजनीतिक दलको सहमतिबाट प्रधानमन्त्रीको रुपमा विश्वासको मत प्राप्त गरेँ, खुसी र गर्व महसुश भयो, यो ऐतिहासिक अवसरलाई पूरा गर्न तपाइँहरूको साथ हुनेछु ।’ मंगलबार विश्वासको मत लिनु अघिसम्म राजनीतिक दलहरूबीचको प्रतिबद्धता र विश्वासमा एकरुपता नआउने हो कि भन्ने आफूमा चिन्ता रहेको पनि उनको भनाइ थियो ।

‘हिजोसम्म अलिकति चिन्ता पनि थियो, कतै राजनीतिक दलहरुबीचमा विभाजन भइदियो भने, प्रतिबद्धता र विश्वासमा एकरुपता आइदिएन भने अप्ठारो पो आउने हो कि भन्ने चिन्ता थियो,’ उनले भने,‘यहाँबाट निर्वाचन लड्दा गठबन्धनबाट लडेको हो, सबै निर्वाचन क्षेत्रमा सतप्रतिशत विजयी भएको हो, यो ऐतिहासिक तथ्यलाई विचार गरेर सदनमा सबै राजनीतिक दलले एकता सहमति होस् भनेर मैले अपिल गरेँ, सबै राजनीतिक दलको सहमतिबाट प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त गरेँ, यो जिम्मेवारी र ऐतिहासिक अवसर पूरा गर्न तपाईँको पनि साथ छ ।’

असाधारण विश्वासको मतले देश विकास र आर्थिक क्रान्तिको नयाँ युगको सुरुवात गर्न कोषेढुङ्गा सावित हुने आफ्नो विश्वास रहेको दाहालले बताए । निर्वाचनका दौरान गरेको वाचा र प्रतिबद्धता पूरा गर्न पनि निरन्तर अघि बढ्ने उनले बताएका थिए ।

‘नेपाल सरकारको ४४ औँ प्रधानमन्त्रीको हैसियतमा छु, निर्वाचन दौरानको क्रममा तपाईँहरुको अगाडि गरेको वाचा, कवुल, भौतिक पूर्वाधारको सन्दर्भ होस् वा विद्युतीकरणसँग सम्बन्धित होस्, पर्यटन विकासका कुरा या जडीबुटीसँग वा कृषिमा आधुनिकता र क्रान्तिका कुरा हुन्, नेपालको समग्र आर्थिक विकासको अगुवाको अग्रणिको रुपमा गोरखा जिल्लालाई अगाडि बढाउने जे प्रतिबद्धता गरेको छु, त्यो राम्रोसँग सम्झना छ,’ उनले भने ।

यस्तै आर्थिक विकास र समृद्धि, शुसासन, सामाजिक न्यायका निम्ति र विकास आयोजनालाई अगाडि बढाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

‘जनताको सहयोग र राजनीतिक दलको एकता र प्रतिबद्धताको बलमा हामी आउने दिनमा विकासका परियोजनाहरुलाई अघि बढाउँछौं, नेपाली युवाहरुको निम्ति रोजगारी सिर्जना गर्ने, कृषिमा आधुनिकता ल्याउने र नयाँ आर्थिक युग र समृद्धिको युग तिर देशलाई लैजाने जुन सपना निर्वाचन प्रक्रियामा तपाइको सामुन्ने राखेका थिएँ, ती पुरा गर्छौैं,’ उनले भने ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया