घण्टीको ध्वनिलाई संसद्ले सुन्नेछ भन्ने विश्वास राख्छु :  लामिछाने

काठमाडौँ ,२५ पाैष ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफूहरुलाई प्राप्त भएको मत निराशाको नभएर नेपाली जनताले दिएको आशाको मत भएको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका अध्यक्ष लामिछानेले आफूहरुलाई स्याबासीसँगै निराशाको मत पाएको भनेर लाञ्छना लागे पनि प्राप्त मत आशाको मत भएको बताए ।

घण्टीको ध्वनिलाई संसद्ले सुन्नेछ भन्ने विश्वास राख्दछु । हामीलाई स्याबासीसँगै निराशाको मत पाएको भनेर लाञ्छना लाग्ने गर्छ,’ लामिछानेले भने,’निराशाको मत हैन आशाको मत हो । यो आशाको मत हाम्रो दलका लागि मात्रै हैन । सबै राजनीतिक दलहरुबाट गरिएको आशाको मत हो ।’

लामिछाने नेतृत्वको घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले गत मंसिर ४ गतेको निर्वाचनबाट संघीय संसद्‍मा २० सिट जितेको थियो । उक्त निर्वाचनमा नेपाली जनताले जानेर वा नजानेर असाध्यै राम्रोसँग मत दिएको उनको भनाइ थियो । ’हामीलाई पनि नमात्तिने गरी मत दिनुभएको छ । पुराना दलहरुलाई पनि अब चाही सच्चिनु होला भनेर दिनु भएको छ । यो मतलाई हामीले स्वागत गर्नुपर्नेछ,’ उनले भने ।

लामिछानेले जनमत अनुसार नै सरकार बनेको पनि बताए । सोही अनुरुप जनजीविकाको समस्या समाधानका लागि साझा न्यूनतम कार्यक्रम ल्याइएको पनि उनको भनाइ थियो । त्यही कार्यक्रम अनुसार सरकार बनेको र जनजीविकाको सवालमा खरो भएर काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री लामिछानेले प्रतिपक्षी दलले रचानात्मक ढंगले सल्लाह र सुझाव दिने अपेक्षा गरेको भन्दै उनीहरूबाट अड्काउने नभएर सघाउने काम हुनेमा आफू विश्वस्त भएको बताए ।

यस्तै उनले आफूहरूले जनताको पिरमर्का सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर आफूहरू आफ्नै पिरमर्कामा अड्किन नहुने लामिछानेको भनाइ थियो । ’भ्रष्टाचारमा फसेका आफ्ना मान्छेलाई छुटाउनका लागि यो संसद्‍मा उपस्थित कसैले पहल गर्नु हुँदैन । यो संसद्‍मा उपस्थित कसैले अनियमिततामा संलग्न हुनु हुँदैन । म मेरो छातीमा हात राखेर हाम्रो पार्टीका कोही पनि अनियमिततामा संलग्नु हुने छैनन् र भए भने निर्ममभन्दा निर्मम सजाय भोग्न तयार छौं भन्न चाहन्छु,’ लामिछानेले भने ।

उनले आफूहरू सरकार बनाउनका लागि मात्रै सरकारमा सामेल नभएको तर दुई शीर्ष नेताले त्यसप्रति गरेको प्रतिबद्धताका कारण मात्रै सामेल भएको पनि बताएका थिए । उनले भनेका थिए, ’हामी जनताको अपेक्षाभन्दा फरक किसिमको कुनै काम कारबाही भए सरकार वा पदमा बसिरहने छैनौं । म प्रधानमन्त्रीलाई यो रोस्टमबाट यो कुरा स्पष्ट राख्न चाहन्छु ।’

कान्तिपुर

तपाईको प्रतिक्रिया